काठमाडौं । आर्थिक संकट बढेसँगै श्रीलंकाको सेयर बजार ५ दिनको लागि बन्द गरिने भएको छ । सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले कोलम्बो स्टक एक्सचेन्ज ५ दिन (अप्रिल १८ देखि २२ सम्म) बन्द गर्ने भएको हो ।
कोलम्बो स्टक एक्सचेन्जको अप्रिल १५ मा बसेको संचालक समितिको बैठकले सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकालाई सेयर बजार अस्थायी रुपमा बन्द गर्न आह्वान गरेको थियो।
मुलुकको आर्थिक संकट गहिरिएको उल्लेख गर्दै कोलम्बो स्टक ब्रोकर्स एशोसिएसनसहित कोलम्बो स्टक एक्सचेन्जका अन्य संचालकले पनि धितोपत्र बजार अस्थायी रुपमा बन्द गर्न माग गरेका थिए ।
देशको वर्तमान अवस्थाले सेयर बजारमा असर पार्ने आधारलाई ध्यानपूर्वक विचार तथा मूल्यांकन गरी उक्त निर्णय लिएको सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन अफ श्रीलंकाले बताएको छ ।
वर्तमान आर्थिक अवस्थाहरूको गहन अध्ययनपछि लगानीका स्पष्ट निर्णय लिनु लगानीकर्ता र बजारको हितमा हुने एक्सचेन्ज कमिसन अफ श्रीलंकाले बताएको छ ।-एजेन्सी