काठमाडौं । ललितपुरस्थित भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्री निवास तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएको छ । कोभिडका कारण थपिएको ६ महिना म्याद सकिए पनि आयोजनाको काम अझै २३ प्रतिशत बाँकी रहेको हो ।
हालसम्म ७७ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । उक्त आयोजना २ वर्ष भित्रै निर्माण सम्पन्न गर्ने गरी २०७६ असोज २७ गतेबाट सुरू गरिएको थियो । कोभिडका कारण निर्माणमा ढिलाइ भएपछि सरकारले ६ महिना म्याद थप गरेको थियो । सो अवधिमा पनि मन्त्री निवास निर्माण सम्पन्न हुन नसकेको हो ।
थपिएको म्याद चैतमा सकिए पनि आयोजनाको अझै २३ प्रतिशत काम बाँकी रहेको हो । मन्त्री निवास निर्माणका क्रममा ७ वटै ब्लकको स्ट्रक्चर निर्माणको काम सम्पन्न भएको विशेष भवन निर्माण आयोजनाले जानकारी दिएको छ ।
२७ वटै भवनको ढलान पूरा भएको हो । सो मध्ये ७ वटा भवनमा प्लास्टरको काम सम्पन्न भइ भित्र वाल पुटिङको काम भइरहेको छ । ६ वटा ब्लकमा इन्टरनल बाउन्ड्री वालको कार्य भइरहेको आयोजनाले जनाएको छ ।
बिल्डिङहरूमा विद्युतीय उपकरण तथा स्यानिटरीको काम ६० प्रतिशत सम्पन्न भएको छ । एक्स्ट्रनल बाउड्री वाल लगाउने काम ८० प्रतिशत पूरा भएको छ भने इन्टरनर्ल बाउड्री वालको काम भइरहेको आयोजनाले जनाएको छ ।
यस्तै, हालसम्म वित्तीय तर्फ ७० प्रतिशत प्रगति भएको छ । यो आयोजना भ्याटसहित ७२ करोड ४७ लाख ९४ हजार ८३४ रुपैयाँमा इजी इन्फ्रा प्रालिले ठेक्का पाएको हो ।
निर्माण स्थलमा हाल डेढ सय बढी जनशक्तिले काम गर्दै छन् । कोभिडका कारण लकडाउनमा झण्डै ९ महिना निर्माणले गति लिन सकेको थिएन । सो समयमा थोरै मात्र काम भएको थियो ।
अब के-के काम बाँकी छ ?
आयोजना अन्तरर्गत इन्टेरियर तथा विद्युतीय जडानको काम बाँकी रहेको छ । इन्टर्नल बाउन्ड्री वालको काम समेत ३० प्रतिशतका हाराहारीमा बाँकी रहेको छ । ६ वटा भवनमा आल्मुनियम फिटीङ लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
इन्टेरियरका सामग्रीको मूल्य वृद्धि भएकाले पछिल्लो समय ठेकेदारले कामको गति घटाएको आयोजना प्रमुख दिलिप शेखर श्रेष्ठले बताए । उनले आयोजनामा पछिल्लो समय निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको मूल्य बढेका कारण निर्माण खर्च बोह्रोर्न गाह्रो भइरहेको बताए ।
कस्तो बन्नेछ मन्त्री निवास
संघीय मन्त्री निवासको २०७६ असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । पुलचोक मन्त्री निवास साँघुरो भएकाले भैंसैपाटीमा अत्याधुनिक मन्त्री निवास निर्माण गर्न लागिएको हो । संघीय मन्त्रीको निवाससँगै यहाँ प्रदेश सम्पर्क कार्यालयहरू समेत रहने छ ।
दुई भागमा निर्माण भइरहेको निवास क्षेत्रको कुल क्षेत्रफल १२४ रोपनी ६ आना रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लक मन्त्री निवास, एक राष्ट्रियसभा अध्यक्ष निवास, एक राष्ट्रियसभा उपाध्यक्ष निवास र एक प्रतिनीधिसभाका उपसभामुख गरी २७ ब्लक रहनेछन् ।
दोस्रो २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेशप्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहनेछ । यहाँ सातवटा ब्लक रहेको छ । प्रत्येक ब्लकमा दुईवटा इकाई रहनेछन् । एउटा प्रदेश प्रमुख र अर्को मुख्यमन्त्रीको लागि हुनेछ । सबै भवनहरू साडे दुई तलाको बन्नेछन् ।
संघीय मन्त्री निवासको कुल लागत १ अर्ब ३ करोड ४६ लाख ६८ हजार ४ सय ३७ रुपैयाँ (भ्याटसहित) रहेको छ । यस योजना निर्माणको ठेक्का स्रिको हनुमान जेभीले पाएको छ । त्यस्तै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयको कुल लागत ७२ करोड ४७ लाख ९४ हजार ८ सय ३४ रुपैयाँ ६५ पैसा (भ्याटसहित) रहेको छ । यसको निर्माण ठेक्का केसी समानान्तर जेभीले पाएको छ ।
सम्झौता बमोजिम मन्त्रीहरूको निवास २४ वटा, राष्ट्रिय सभाको अध्यक्षको निवास १, राष्ट्रिय सभाको उपाध्यक्षको निवास १, उपसभामुखको निवास १, इन्टरनल रोड नेटओर्क, बहुउद्देशिय सभाहल १, डीयूडीबीसी कार्यालय भवन १, हेल्थ क्लब १, स्वीमिङपुल १, हेलिप्याड, सुरक्षा जवानहरूको निवास र वाटर ट्याङ्क निर्माण गरिने छ ।