नेपालमै सुरुङ इन्जिनीयर तयार गरिँदै, नागढुंगा आयोजनामा धमाधम तालिम

काठमाडौं । विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन् ।

 

नागढुङ्गास्थित सुरुङमार्गमा सडक विभागमा कार्यरत सबै इन्जिनियरलाई सुरुङसम्बन्धी व्यावहारिक ज्ञान सिकाइने भएको छ । सबै इन्जिनियर र डिभिजन प्रमुखलाई आधारभूत विषयमा सिकाइने र तीमध्ये केहीलाई थप कक्षा दिइने भएको छ ।

 

सुरुङ निर्माणका क्रममा हालसम्म चार ब्याच पूरा भइसकेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताए ।

 

कार्यक्रमअनुसार नै विभागका इन्जिनियरलाई सिकाइएको हो । उनले भने, ‘यो सुरुङ पूरा हुँदा नेपाली इन्जिनियरलाई थोरै भए पनि व्यावहारिक ज्ञान हुनेछ ।’ अहिले केन्द्रबाट महिनामा एक पटक एउटा समूहलाई तालिम दिइएको सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताए । पहिले दुई दिन सैद्धान्तिक कक्षा गरेपछि अर्को एक दिन आयोजनामा कसरी काम भइरहेको छ भन्ने व्यावहारिक रुपमा सिकाइने गरिएको छ ।

 

अहिलेसम्म ६० इन्जिनियरले तालिम लिइसकेका छन् । अहिले सरकारको बजेटबाट सडक विभागका इन्जिनियरलाई मात्रै तालिम दिइएको छ । दातृ निकायबाट आर्थिक स्रोत जुटाएर अरू इन्जिनियरलाई पनि तालिम दिन पहल भइरहेको केन्द्रले जनाएको छ । विभागका कर्मचारीबाहेक अरू इन्जिनियरले पनि सिकाउनु आवश्यक रहेको उनले बताए। उनले भने, ‘विभाग र परामर्शदाता र निर्माण कम्पनीको इन्जिनियरले पनि सिक्नुपर्छ ।’

 

अहिले सबै इन्जिनियरलाई तीनदिने कक्षा र तीमध्ये ३० जनालाई अझै गहिराइमा कक्षा दिने गरी योजना बनाइएको केन्द्रले जनाएको छ । तीनदिने कक्षा विभागका सबै इञ्जिनियर र डिभिजन प्रमुखलाई दिइएपछि आधारभूत ज्ञान सबैसँग हुने उनले बताए । थप ज्ञान पाउने इन्जिनियरले आगामी दिनमा सुरुङमा डिजाइनमा समेत सहभागी हुनसक्छन् । उनले भने, ‘यी इन्जिनियरमा सामान्य ज्ञानबाहेक थप ज्ञान पनि हुन्छ ।’

 

अहिले नागढुङ्गा सुरुङ निर्माण अघि बढिरहेको छ भने सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबामा सुरुङ निर्माणमा जान आवश्यक तयारीका क्रममा छ । अझै पनि केही नेपालीले नै जिम्मेवारी लिनसक्ने नहुने केन्द्रका सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताए।

 

अब कुनै पनि आयोजना निर्माणमा जाँदा पनि नेपाली इन्जिनियरले नै जिम्मेवारी लिनसक्ने नहुनसक्ने उनले बताए । कुनै सानो योजनामा नेपालीले गर्न सक्ने सम्भावना भए पनि अहिले सञ्चालनमा जान लागेका आयोजना ठूला मात्रै रहेको उनले बताए । उनले भने, ‘एक हजार मिटरदेखि १  हजार ५०० मिटरसम्म भएमा केही सक्ने हुन्थ्यो तर लामा सुरुङ छन् ।’

 

सुरुङमा अनिश्चितता (अनसटेनिटी) हुनसक्ने हुँदा उच्च तहको अनुभव (हाई लेभल अफ एक्पेरिएन्स) चाहिने उनले बताए । निर्माणमा जान लागेको सिद्धबाबा सुरुङमा पनि नेपालीले थप कुरा सिक्नसक्ने उनले बताए।  नेपालका लागि नयाँ प्रविधि भएकाले पनि यसमा नेपालीले मात्रै गर्न नसक्ने छ । जलविद्युत्भन्दा सडक सुरुङ फरक र जटिल हुने उनले बताए ।

 

अबको एकदुई वर्षमा नै नेपाली आफैँले आत्मनिर्भर भएर सुरुङको जिम्मा लिनसक्ने नभए पनि अन्तर्राष्ट्रिय परामर्शदातासँग हिँड्नसक्ने हुनसक्ने केन्द्रले जनाएको छ । अबका केही वर्षमा कुनै आयोजनामा ३० इन्जिनियर  चाहिँदा १५ नेपाली हुनसक्ने गरी तयारी अघि बढाइएको छ ।

 

आयोजना पूरै नेपालीले गर्न कम्तीमा पाँच वर्ष लाग्नसक्ने सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यले बताए । संस्थागत पहल राम्रो हुँदा कम समयमा पनि सिक्नसक्ने उनले बताए । उनले भने, ‘अहिले नेतृत्वमा पनि  नेपाली इन्जिनियरले पनि सुरुङ निर्माण सिक्नुपर्छ भन्ने मानसिकता छ ।’

 

निर्माणमा जाने क्रममा रहेको सिद्धबाबा सुरुङमा स्विसले प्राविधिक अनुदान सहयोग छ । यसमा पनि नेपालीलाई सिकाउने लक्ष्य लिइएको छ । यसमा स्विस परामर्शदाताले नेपालीलाई अब यसरी गर्ने भनी सिकाउँछन् । सुरुङ निर्माण आजको भोलि नसकिने भए पनि केही वर्षमा यस क्षेत्रमा उपलब्धि हासिल हुने सिनियर डिभिजन इन्जिनियर बज्राचार्यले बताए । उनले भने, ‘सिद्धबाबा सम्पन्न हुँदासम्म दुईचारजना इन्जिनियर सुरुङमा राम्रो सिकिसक्ने देखिएको छ ।

 

निर्माणका हिसाबले नेपालको पहिलो सुरुङमार्ग नागढुङ्गा हो भने दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्ग हुनेछ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिम खण्डका रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ । बर्सेनि पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरुङ निर्माण गर्न लागिएको हो ।

 

देशकै पहिलो सुरुङका रुपमा रहेको नागढङ्गा सुरुङको उद्देश्य सडकको लम्बाइ घटाउनु र सवारी चाप कम गर्नु हो । सिद्धबाबा सुरुङको पहिलो उद्देश्य सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिराको जोखिम कम गर्नु नै रहेको छ । हरेक वर्ष सो स्थानमा आउने पहिराले यहाँबाट यात्रा गर्नेको मृत्यु हुने गरेकामा त्यसलाई कम गराउनु नै सुरुङको मुख्य लक्ष्य हो । यी दुवै सुरुङमार्ग पूर्वाधार निर्माणका हिसाबले र नेपालीका लागि सिक्ने अवसरका हिसाबले पनि महत्वपूर्ण रहेका छन् ।

भोलिदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाटै, कार्यालय धाउन नपर्ने Read Previous

भोलिदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाटै, कार्यालय धाउन नपर्ने

वर्ष २०७८ बैंकिङ क्षेत्र :  बिग मर्जर भाँड्नेदेखि गभर्नर निलम्बनसम्म, यस्ता छन् मुख्य घटना Read Next

वर्ष २०७८ बैंकिङ क्षेत्र : बिग मर्जर भाँड्नेदेखि गभर्नर निलम्बनसम्म, यस्ता छन् मुख्य घटना