काठमाडौं । कृषि प्रधान मुलुक भनिए पनि हरेक वर्ष खेती गर्ने सिजनमा मल अभाव हुने गरेको छ । सरकारले समयमै मल व्यवस्थापन गर्न नसक्दा कृषकले समयमै बाली लगाउन पाउँदैनन् ।
देशभर वार्षिक कुल ५ लाख २० हजार मेट्रिकटन रासायनिक मल आवश्यक पर्छ । चालु आर्थिक वर्षमा सो मध्ये झण्डै ३० प्रतिशतका हाराहारीमा मात्र मल आयात भएको कृषि तथा पशुपछी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अनुसार हालसम्म डेढ लाख मेट्रिकटन हाराहारीमा मल आयात भएको छ ।
खेती गर्ने सिजन सुरू हुनै लागे पनि अहिलेसम्म सरकारले मलको जोहो गर्न सकेको छैन । वैशाखसम्म भारतबाट डेढ लाख टन मल ल्याइने बताइएको छ । यदि, भारतबाट सो मल समयमै आइनपुगे यसवर्ष पनि मल अभाव हुने बताइन्छ ।
सरकारले भने बैशाख भित्रै भारतबाट डेढ लाख टन मल ल्याउने बताएको छ । सरकारले यो पटक भारतसँग ५ वर्षसम्मका लागि मल आयात गर्ने सम्झौता गरेको छ । सरकारले यो वर्ष भारतबाट १ लाख ५० हजार टन मल एक साथ ल्याउने जनाइएको छ । उक्त मल वैशाख भित्र आयात गर्ने मन्त्रालयका सहसचिव कमल गैरेले बताए ।
उनले चालु आवमा मल धेरै आयात गर्न नसकेका कारण एक साथ डेढ लाख मेट्रिकटन ल्याउन माग गरेको बताए । ‘यो वर्ष खासै धेरै मल ल्याउन सकिएको छैन, यो वर्षका लागि डेढ लाख मल एकै पटक ल्याउन भनेर कुरा राखेका छौँ, उनीहरूले हुँदैन भनेका छैनन्, उसले आफ्नो तर्फबाट कुन प्रदेशबाट कति मल कहाँ कहाँबाट पठाउन सकिनछ भनेर गृहकार्य गरिरहेको अनौपचारिक रूपमा बताएको छ,’ उनले भने ।
चालु आवमा सरकारले चीनबाट १० मेट्रिकटन मल आयात गर्ने लक्ष्य राखेको थियो । हालसम्म चीनबाट १ हजार मेट्रिकटनका हाराहारीमा मात्र मल आयात भएको उनले बताए ।
चालु आवमा २० हजार डिएपी मल ल्याइएको छ । पोटास मल साढे ७ हजार टन आएको छ । साल्ट ट्रेडिङलाई ३६ हजार टन मल आयातका लागि जिम्मा दिइएको छ । सो मधये २२ हजार टन मल ल्याउन टेन्डर भएको उनले बताए ।
चालु आवमा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीलाई ७५ हजार मेट्रिकटन मल ठेक्का मार्फत ल्याउन स्वीकृति दिइएको छ । ग्लोबल टेन्डरबाट पनि मल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
साउदीबाट पनि मल ल्याउने तयारी
साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान नेपाल भ्रमणमा आएका बेला समेत मल आयातका लागि कुरा भएको छ । साउदी अरबाट मल आयातलाई उनले सकारात्मक रूपमा लिएको कृषि मन्त्रालयका उपसचिव गैरेले बताए ।
उनले साउदीबाट मल आयातको कुरा भएको र आपूर्तिका लागि योजना समेत पठाइएको बताए । हालसम्म उक्त पत्रको कुनै थप प्रतिक्रिया आएको छैन । ‘जीटुजीमा ल्याउने कि खरिद गरेर ल्याउने भनेर हामीले सप्लाई प्लान पठाएका छौं, उताबाट कुनै प्रतिक्रिया आएको छैन, छिट्टै सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरेका छौं,’ गैरेले भने ।
२८ अर्ब विनियोजन
मन्त्रालयले चालु आर्थिक वर्षमा मल आयातका लागि मात्र २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । विगतमा सरकारले मलका लागि ११/१२ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने गरेको थियो ।
मन्त्रालयका उपसचिव गैरेले विगतमा १२ अर्ब रकममा ४ लाख मेट्रिकटन मल आयात गर्ने गरे पनि यो वर्ष विश्व बजारमा बढेको महँगिले २८ अर्ब रुपैयाँ खर्च गर्दा समेत मल किन्न नसकेको बताए । उनले विश्व बजारमा डलरको मूल्य बढेकाले मलको मूल्य दोब्बरभन्दा धेरै बढेको बताए ।
‘पहिला हामीले ११/१२ अर्बमा ४ लाख टन बढी मल आयात गरेका थियौँ तर, यो पटक त्यस्तो छैन, डलरको भाउ महंगिएको छ, मलको मूल्य दोब्बरभन्दा पनि बढिले बढेको छ,’ गैरेले चाणक्य पोष्टसँग भने ‘यो हाम्रो मात्र समस्या हैन विश्व भर अवस्था यस्तै छ, भारतमा पनि मल अभाव छ तर, उसले हामीलाई मल दिन्छु भनेको छ ।’
विगत ८ महिनामा रासायनिक मलको मूल्य दोब्बरभन्दा धेरैले बढेको उनको भनाइ छ । उनले दैनिक जसो मलको मूल्य परिवर्तन भइरहेको बताए ।
वर्षे धानकै लागि मल अभाव हुने
धान रोपाइँ सुरू हुनुअघि मल ल्याउन भारतसँग पहल गरिरहेको बताए । वैशाख भित्र डेढ लाख मल आयात भए केही राहत मिल्ने उपसचिव आलेको भनाइ छ । उनले मल अभाव पूर्णरूपमा पूर्ति गर्न नसकिने भन्दै केही मात्रामा भारतबाट मल आए अभाव पूर्ति गरिने बताए ।
‘मलको माग पूरा गर्न सकिँदैन तर, केही मात्रामा मात्र भए पनि पूरा गर्न सकिन्छ, भारतबाट मल आए केही राहत मिल्न सक्छ,’ गैरेले भने । हरेक वर्ष ओमन, चीन, बराइन लगायतका मुलुकहरूबाट मल आयात हुने गरेको छ ।