साझाका ३ वटा विद्युतीय बस नेपाल आइपुगे, अर्को साताबाट सडकमा गुडाइने

काठमाडौं । साझा यातायातका तीन वटा विद्युतीय बस चीनबाट नेपाल आइपुगेका छन् । साझाका ४० वटा विद्युतीय मध्ये आज तीन वटा विद्युतीय बस तातोपानी नाका हुँदै भित्रिएका हुन् ।

 

अब ती बस भन्सार पास गरी काठमाडौं ल्याइने साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए । तातोपानी हुँदै काठमाडौं आउने सडकको अवस्था राम्रो नरहेकाले बस लोडरमा राखेर ल्याइने छ । शनिबारसम्म ३ वटा बस काठमाडौं आइपुग्ने जनाइएको छ ।

 

‘३ वटा बस आज तातोपानी आइसकेको छ । नाकाबाट पास भएर आउनुपर्छ । भोलि नयाँ वर्षको छुट्टी छ, पर्सीमात्र भन्सारको प्रकृया पूरा हुन्छ होला । शुक्रबार शनिबारसम्ममा बस काठमाडौं आइपुग्छ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

अर्को सातादेखि ती बस परीक्षणका लागि काठमाडौंका सडकमा गुडाइने तुलाधरले बताए । ‘बस काठमाडौं ल्याइएपछि परीक्षण गर्नुपर्ने हुन्छ, यातायात विभागबाट पर्मिट लिनुपर्छ, दर्ता गर्नुपर्छ, सबै प्रकृया सक्न अलि समय लाग्छ । यी सबै सकिएपछि हामी काठमाडौंका सडकमा गुडाएर टेष्ट गर्ने छौं । अर्को साताभित्र काठमाडौंको सडकमै गुडाइन्छ,’ उनले भने ।

 

नेपाल ल्याइएका ती बस गता साता चीनको नानजिंग सहरको सडकमा ग्रेडिबिलिटी (उकालो तान्न सक्ने क्षमता) टेष्ट गरिएको थियो । परीक्षण सफल भएपछि साझाले नेपाल ल्याएको हो ।

 

हाल चिनियाँ कम्पनीले साझाका ४० वटा बस निर्माण गरिरहेको छ । पहिलो चरणमा ल्याइएका ३ वटा विद्युतीय बस उपत्यकाका सडकमा परीक्षण गरिनेछन् । परीक्षण सफल भएपछि बाँकी ३७ वटा विद्युतीय बस ल्याइने छ ।

 

चालु आर्थिक वर्ष २०७८/७९ भित्र विद्युतीय बस ल्याएर काठमाडौं भित्र गुडाउने तयारीका साथ काम भइरहेको तुलाधारले बताए । साझा यातायात र चीनको सीएचटीसि कम्पनी बीच गत असोज २२ गते सम्झौता भएको थियो । त्यस लगत्तै चिनियाँ कम्पनीले विद्युतीय बस निर्माण सुरू भएको थियो ।

 

साढे ८ मिटर लामो २६ सिटे विद्युतीय बस ल्याउन लागिएको हो । साझा यातायातले भ्याटसहित कुल ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउन लागेको हो । एउटा गाडीको मूल्य भ्याटसहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

 

बसका लागि आवश्यक चार्जर सोही कम्पनीले ल्याउने छ । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको तुलाधारले बताए ।

 

२६ सिट क्षमताका बस अपाङ्गतामैत्री रहने छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् । साझाले पहिलो चरणमा साढे ८ मिटर लामो बस ल्याउने तयारी गरेको छ । त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरू समेत ल्याउने योजना रहेको साझाले जनाएको छ । यी बसहरूमा वाइफाइ, टीभी डिसप्ले, सीसी क्यामेरा लगायतका विशेषता हुनेछन् ।

 

सरकारले २०७५ पुष ९ गते ३०० वटा विद्युतीय बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । सरकारले २०७६ सालमा साझा यातायातलाई विद्युतीय बस किन्न दिने निर्णय गरेको थियो ।-तस्वीर : रासस

 

१५ औं दरवारमार्ग महोत्सवको तयारी पूरा, थलिएको व्यवसाय ब्यूँताउन जुट्यो निजी क्षेत्र Read Previous

१५ औं दरवारमार्ग महोत्सवको तयारी पूरा, थलिएको व्यवसाय ब्यूँताउन जुट्यो निजी क्षेत्र

वैशाख ९ देखि वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने Read Next

वैशाख ९ देखि वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने