यी दुई कारण, जसले ल्यायो सेयर बजारमा उछाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्ला केही साता यता लगातार गिरावट आइरहेको नेप्सेमा यस साता पहिलो कारोबार दिनमै उछाल आएको छ ।

 

बजार खुलेको १० मिनेट (११ः१० बजेसम्म)मै नेप्सेमा ४४ अंकको उछाल आएको छ । यद्यपि, सोमबार दिनभर कारोबार हुन बाँकी रहेको छ । सेयर बजारमा घटबढ भइरहने भए पनि आज उछाल आउनुका चाहिँ मुख्य दुई कारण रहेका छन् ।

 

पहिलो कारण हो नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निलम्बन । अधिकारीलाई सरकारले बिहीबार छानबिन समिति गठन गर्दै निलम्बन गरेको थियो । लगानीकर्ता बीच सेयर बजार विरोधी भनेर चिनिएका अधिकारी निलम्बनमा परेसँगै लगानीकर्ता उत्साही हुँदा नेप्सेमा उछाल आएको हो ।

 

अधिकारी गभर्नरमा नियुक्त भएदेखि नै सेयर बजारमा कडाई गर्दै आएका थिए । उनले सेयर धितोमा कर्जा प्रवाह गर्दा १२० दिनको औषत मूल्यलाई आधारमान्ने व्यवस्था बढाएर १८० दिन पुर्याएका थिए ।

 

त्यस्तै, सेयर कर्जाको जोखिम भार १०० प्रतिशतबाट बढाएर १५० प्रतिशत, एक बैंकबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड मात्र ऋण लिन पाउने व्यवस्था गरेका थिए । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुलाई अल्पकालीन लगानी गर्न नपाउने व्यवस्था गरेका थिए ।

 

नेप्सेमा उछाल आउनुको दोस्रो कारण चाहिँ बैंकको ब्याजदर नबढ्नु हो । बैंकहरुले वैशाख महिनाका लागि निक्षेपको ब्याज नबढाउने निर्णय गरेका छन् । वैशाखमा पनि चैतको ब्याजदर कायम राख्ने भएका छन् । पछिल्लो केही महिना यता महँगो ब्याज तिर्दै आएका लगानीकर्तालाई यसले राहत दिने भएसँगै लगानीकर्ता उत्साहित भएको देखिन्छ ।

 

आज बजार खुल्न साथ नेप्सेमा उछाल आए पनि दिनभर टिक्छ टिक्दैन त्यो भने हेर्न बाँकी नै छ । बैंकिङ प्रणलीमा चरम तरलता अभाव कायमै छ भने सेयर बजारको विकासका लागि कुनै ठोस कार्यक्रमहरु पनि आएका छैनन् । त्यसैले यो बढाइ क्षणिक मात्रै पनि हुन सक्ने लगानीकर्ताहरु नै बताउँछन् ।

कारले ठक्कर दिँदा ३ पैदलयात्रीको मृत्यु Read Previous

कारले ठक्कर दिँदा ३ पैदलयात्रीको मृत्यु

५ लाख घुससहित मातपोतका प्रमुख पक्राउ Read Next

५ लाख घुससहित मातपोतका प्रमुख पक्राउ