‘अक्षमता र नालायकीपन छोप्न गभर्नरलाई निलम्बन,’ यस्तो छ एमालेका ३ पूर्व अर्थमन्त्रीको १२ बुँदे धारण

काठमाडौं । सरकारले आफ्नो अक्षमता र नालायकीपन ढाक्न गभर्नर निलम्बन गरेको आरोप लगाएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागद्धारा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले संकटमा रहेको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेका नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको बताएका हुन् ।

 

पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले गठबन्धन सरकारले आफ्नो गभर्नर माथिको पूर्वाग्रही ढंगले कारबाही गरेको बताएका छन् । सरकारले अर्थतन्त्र सुधार गर्नुको सट्टा आफ्नो कमजोरी छोप्न गभर्नरलाई निलम्बन गरेको आरोप लगाएका हुन् ।

 

‘’गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ । तसर्थ, यो सरकारले प्रायोजित रुपमा गभर्नरमाथि सुरु गरेको कारवाही आपत्तिजनक मात्र नभई निन्दनीय समेत छ’ तीन अर्थमन्त्रीद्धारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

एमालेले कांग्रेस नेतृत्वले यसअघि पनि गभर्नरमाथि कारबाहीको प्रयास गरेको बताउँदै त्यसबाट पाठ सिक्ने नसकेर फेरि गल्ती दोह्याएको बताएको छ । ‘गभर्नरमाथिको पूर्वाग्रही कार्वाही गैरकानुनी हुने रहेछ भन्नेमा कांग्रेसले कहिल्यै पनि चेतेन । नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको बेला यसअघि पनि नेपाल राष्ट्र बैंकका गभर्नरलाई हटाउने प्रयास गरेको र केन्द्रीय बैंक नेतृत्वविहीन भएर देशको अर्थतन्त्र संकटमय बनेको इतिहास छ । अहिले त्यसको पुनरावृत्ति गरिएको छ’ विज्ञप्तिमा भनिएको छ ।

 

अर्थमन्त्री जनार्दन शर्मालाई अराजक भन्दै उनको दबावमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गलत निर्णय लिएको एमालेले टिप्पणी गरेको छ । ‘अराजक अर्थमन्त्रीको दबावमा प्रधानमन्त्रीले सर्वथा गलत निर्णय लिए । वित्तीय अपचलनको मतियार हुन नपाएको, निहीत स्वार्थ–समूहको व्यवसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धन भित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दवावमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएकोमा कुनै शंका छैन,’ एमालेले भनेको छ ।

 

यस्तै, आफू नेतृत्वको सरकारबाट नियुक्त भएकै कारण गभर्नर अधिकारी व्यावसायिक रुपमा दक्ष र इमानदार हुँदाहुँदै पनि गठबन्धन सरकारले कोपभाजनमा पारेको एमालेले बताएको छ । ‘गठबन्धन सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको छ । यसो गरेर गठबन्धनले आर्थिक स्थायित्व, विकास र सुशासनविरोधी आफ्नो सक्कली रुप देखाएको छ’ विज्ञप्तिमा भनिएको छ ।

 

नेपालमा अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे Read Previous

नेपालमा अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

न्यादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै Read Next

न्यादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै