निर्माण सामग्री महँगिँदा संघीय संसद भवन निर्माण सुस्त, साढे २ वर्षमा आधा पनि सकिएन काम

काठमाडौं । सिंहदरवारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद भवन निर्माणको काम सुस्त भएकोे छ । निर्माण सुरू गरिएको साढे २ वर्ष बिते पनि हालसम्म आधा पनि काम सम्पन्न हुन नसकेको हो ।

 

२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले शिलन्यास गरेको उक्त भवन निर्माणको हालसम्म ४२ प्रतिशत काम पूरा भएको छ । ठेक्का सम्झौता अनुसार अब निर्माण अवधि १ वर्ष मात्रै बाँकी रहे पनि अझै ५८ प्रतिशत काम बाँकी रहेको छ ।

 

२०७९ असोजमा निर्माण पूरा गर्ने गरी सम्झौता भएको यस आयोजनामा चालु आवमा १० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । कोभिडका कारण काम हुन नसकेको भन्दै सरकारले सबै आयोजनालाई ६ महिना म्याद थपिदिएको छ । यस अनुसार यो आयोजना २०७९ चैत १५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ ।

 

निर्माण सामग्रीको भाउ बढ्दा रोकियो काम

 

उक्त संघीय संसद भवन टुन्डी, एसएचर्ईसी जेभीले निर्माण गरिरहेको छ । आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले पछिल्लो समय निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको मूल्य बढेको भन्दै काम नगरेको बताए ।

 

उनले पछिल्लो समय युक्रेन युद्धले निर्माण सामग्रीमा मूल्य बढेको र निर्माण व्यवसायीले कन्स्ट्रक्सन होलिडे खोजिरहेको बताए । ‘निर्माण सामग्रीको पनि मूल्य बढेको छ , यस अघि कोरोनाले काम हुन दिएन, यो पटक मूल्य बढ्यो भनेर जिर्माण व्यवसायीहरू कामै नगरी बसिरहेका छन्,’ श्रेष्ठले भने ‘यस्तै हो भने निर्माण सक्न म्याद थप्नुपर्छ ।’

 

तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुरू गरिएको संघीय संसद भवन निर्माण पछिल्लो समय सुस्त भएको हो ।

 

अहिलेसम्म कति भयो काम ?

 

हाल संसद भवन निर्माण अन्तर्गत कमिटि भवन निर्माण ९८ प्रतिशत पूरा भएको छ । ब्रिक वर्क ९७ प्रतिशत पूरा भएको छ भने ९० प्रतिशत प्लास्टरको काम पूरा भएको जनाइएको छ ।

 

भीभीआइपी बिल्डिङ दोस्रो तल्ला निर्माणको काम सकिएको छ । तेस्रो तल्लामा ७० प्रतिशत काम सकिएको छ । सेक्रेटरी बिल्डिङ ७५ प्रतिशत पूरा भएको छ । पार्टि अफिस र पार्किङ ब्लकको ९९ प्रतिशत निर्माण सकिएको छ । लाइब्रेरी ब्लकको निर्माण २२ प्रतिशत मात्र भएको छ भने सेन्ट्रल लबी २५ प्रतिशत निर्माण भएको छ । क्यान्टिन ब्लकको पहिलो तल्लाको स्ट्रक्चर पूरा भएको छ ।

 

यस्तो बन्छ भवन

 

प्रतिनिधिसभामा ९०० र राष्ट्रिय सभामा ६०० जना अट्ने भवन निर्माण गरिँदैछ । सिंहदरबारस्थित पुतली बगैँचामा बन्ने संसद भवन कलात्मक परम्परागत मल्लकालीन वास्तुकलामा बन्ने छ ।

 

पुतली बगैँचाको १७३ रोपनी ८ आना जमिनमा बन्ने संसद भवन परिसरभित्र ११ वटा विभिन्न प्रकारका भवन तथा पूर्वाधार रहनेगरी डिजाइन गरिएको छ । संसद भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रिय सभा भवन, कमन लबी, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, पुस्तकालय, सङ्ग्राहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, प्रेस तथा छपाइ भवन र ७०० वटा सवारी साधन पार्किङ र सुरक्षाकर्मीको भवन रहने छन् ।

 

भवनको दायाँ भागमा राष्ट्रिय सभा र बायाँ भागमा प्रतिनिधि सभाको भवन रहनेछ भने दक्षिणतर्फ मूल ढोका रहने छ । सहसचिव दवाडीका अनुसार संसद् भवन निर्माणको गुरुयोजनालाई भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरी ४ भागमा बाँडिएको छ ।

 

पुतली बगँैचाको १७३ रोपनीको २७ प्रतिशत भाग भवनले, ४५ प्रतिशत खुल्ला हरियाली क्षेत्र र बाँकी सडक पूर्वाधार र पानीको फोहोरा सजावटले लिने ठाउँ ओगट्ने छ । संसद भवनमा सांसदहरूको प्रवेशका लागि उत्तरतर्फ ढोका बनाइने, दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्ने गेट रहने छ । संसद भवन भित्र छिर्नु अगाडि आधुनिक सुरक्षा प्रविधिबाट जाँच गरिने व्यवस्था हुने छ ।

 

नयाँ बन्ने संसद् भवनमा प्रतिनिधि सभा हल र राष्ट्रिय सभा हल गरी २ वटा हलमा १ हजार ५०० जना क्षमता रहने छ । प्रतिनिधि सभामा ४०० जना संसादहरू अट्ने भुइँतलामा ठूलो हलमा ५०० जना अट्ने जनाइएको छ । जसमा सो हलमा थप दर्शक, पत्रकार र आगन्तुक पाहुना ३०० जना अट्ने बाल्कोनी हल र २०० जना अट्ने सुरक्षा हल बनाइने छ ।

 

साथै संसदमा सभामुख कक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट अधिकारी बस्ने कक्ष र प्राविधिक कक्ष बनाइने छ । मुख्य संसद् भवनको दायाँतिर ३ तल्लाको संसद् सचिवालयको भवनमा बैठक कक्ष, तालिम हलका साथै प्राविधिक कक्ष रहनेछन् ।

 

यस्तै, राष्ट्रिय सभामा १०० जना सांसद अट्ने ठूलो हल, २०० जना अट्ने बाल्कोनी हल, ३०० जना अट्ने सुरक्षाकर्मीको हलका साथै स्टुडियो, भिडियो कन्ट्रोल लगायतका प्राविधिक कक्ष, राष्ट्रिसभाका अध्यक्षको कक्ष लगायतका संरचना बनाइने छ ।

 

अतिविशिष्ट व्यक्तिहरूका लागि राष्ट्रिय सभा भवनको उत्तरतिर ४ तल्लाको भवन निर्माण गरिने छ । सो भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको सभाकक्ष र उपाध्यक्षको कार्यकक्ष तथा बैठक हलको व्यवस्था गरिने छ ।

 

यसैगरी, संसद् भवनको बायाँतर्फ उत्तरकुनामा राजनीतिक दलका संसदीय दलको कार्यालयका लागि ५ तल्ले भवन बनाइने छ । भवनमा पार्टी कार्यालयका लागि चाहिने विभिन्न कक्षहरूका साथै बैठक कक्ष, शिशु स्याहार केन्द्र समेत रहनेछ । संसद्को आफ्नै भवन नहुँदा सरकारले वार्षिक १५ करोड रुपैयाँ खर्चँदै आएको छ ।

 

यी हुन् भारतमा बिजुली बेच्न पाउने ६ हाइड्रोपावर Read Previous

यी हुन् भारतमा बिजुली बेच्न पाउने ६ हाइड्रोपावर

बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटीहरू नेपाल आउँदै Read Next

बीबीसी मास्टर सेफका चर्चित सेलिब्रेटीहरू नेपाल आउँदै