काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो ।
योसँगै अब नेपालले कुल ३६४ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ । यसअघि गत कात्तिकमा नेपालले ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएको थियो ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार अब नेपालका ६ वटा जलविद्युत् आयोजनाले भारतको दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा बिजुली बेच्न पाउने छन् । पहिलो चरणमा २ वटा जलविद्युत्ले बिजुली बेच्न अनुमति पाएका थिए भने अहिले थप ४ वटाले अनुमति पाएका हुन् ।
नेपालले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको ‘कालीगण्डकी ए’बाट १४० मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मस्र्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रीन भेन्चर्स लिको ५२.४ मेगावाटको लिखु–४ बाट ५१ मेगावाट गरी कुन ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको हो ।
यसअघि नेपालले पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत्गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विक्री गर्न अनुमति पाएको थियो ।
देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ ।