काठमाडौं । नेपाली बैंकहरु समयको माग अनुसार प्रविधि, वित्तीय उत्पादन आदि क्षेत्रमा सृजनशिलता अपनाउन नसकेका बारे चाणक्य पोष्टमा केही हप्ता अघि ‘सीईओहरुको सोच ने साँघुरो हुँदा बैंकहरुले इनोभेशनमा खर्चै गरेनन्’ भन्ने शीर्षकमा विचार प्रकाशित गरेको थियो ।
त्यही विचारको मूल मर्मलाई थप पुष्टि गर्दै केही दिन अघि नेपालमा एटिएम ह्याकको चर्चित काण्ड घटित भयो ।
नेपालको बैंकिङ क्षेत्र अलि विचित्रको छ । यो अन्य व्यवसाय जस्तै नाफामा मात्र केन्द्रित हुने क्षेत्र होइन भन्ने हो भने सबै व्यवसायीहरुले यो क्षेत्रमा लगानी गरेका छन् । र, उनीहरुको मूल उद्देश्य नाफा कमाउनु नै हो । सीईओहरु पनि प्रमुख दायित्व नाफा बढाउनु नै हो भन्ने ढंगले नै काम गरिरहेका छन् ।
तर, अचम्म !
नेपाली बैंकहरु जाेखिम भने ठ्याम्मै मोल्दैनन् । बिना धितो (अन्सेक्योर्ड लेन्डिङ) ऋण दिँदैनन् । व्यवसायीक योजनाका आधारमा पनि ऋण दिँदैनन् । नम्मरी घरजग्गा नभई डेग चल्दैनन् । घरको कुनै एक ब्यक्तिले ऋण लिन लागेको हो भने घरका सबै परिवारलाई जमानी राख्छन् ।
व्यवसायमा त थोरबहुत जोखिम हुन्छ नी ! होटलमा हुन्छ । सिमेन्ट उद्योगमा हुन्छ । बैंकमा हुँदैन ।
बैंक अन्य व्यवसाय जस्तो सामान्य व्यवसाय होइन । जनताको पैसा चलाउनु पर्छ भन्ने कुरा पनि आउन सक्छ । तर, बैंक अन्य व्यवसाय जस्तो सामान्य व्यवसाय होइन भने यत्रा बैंक भएर पनि वित्तीय पहुँचको अवस्था किन नाजुक ? नव–उद्यमीले ऋण किन पाउँदैन ? जनताको पैसाको सुरक्षाको यत्रो चासो भएको बैंकका एटिएम कसरी ह्याक भए ? राष्ट्र बैंकले सुरक्षा अडिट गर भनेर किन भन्नु परेको ? सामाजिक उत्तरदायित्व बहनको सन्दर्भमा उनीहरुले किन झारा टारेका ? जस्ता उत्तर सहजै आउँछन् ।

मध्यम तहका बैंकका कर्मचारीहरु नै बैंकका सीइओहरुसँग नेपालको बैंकिङ क्षेत्रलाई आगामी १० वर्षमा कहाँ पुर्याउने भन्ने कुनै भिजन नभएको बताउन थालेका छन् । सृजनशील युवाहरु यो क्षेत्रमा जागिर खान रुची राख्नै छाडेका छन् ।
यसै मेसोमा यहाँ अष्ट्रेलियामा शुरु भएको नयाँ अनलाइन बैंकिङका बारेमा अष्ट्रेलियाको ‘एसबीएस न्युज’मा प्रकाशित समाचारको अनुवादित अंश समावेश गरिएको छ । दुनियाँमा बैंकिङ क्षेत्र प्रविधि र विकासको हिसाबले कहाँ पुग्यो ? र, नेपालको बैंकिङ क्षेत्र अहिले कहाँ छ ? भन्ने प्रश्नले नेपाली बैंकिङ क्षेत्रको आगामी बाटो पर्गेल्न सहयोग पुग्ला कि भनेर यो समाचार यहाँ समावेश गरिएको हो । अन्य देशमा शुरु भएको प्रविधि वा चलन यहाँको धरातलिय अवस्थितिलाई नजरअन्दाज गर्दै हुबहु लागू गर्नुपर्छ भन्ने कुरा भने कदापी होइन ।
अष्ट्रेलियामा अनलाइनमा मात्र उपलब्ध हुने (भौतिक शाखा कार्यालय नभएको) नयाँ बैंकको शुरुवात
अस्ट्रेलियाली बैंकिङ क्षेत्रमा हाल रहेका प्रतिस्पर्धालाई व्यापक रूपमा बढाउने गरी केही नयाँ बैंकहरूको सुरुवात यो हप्ता भएका छन् । तर, ती नयाँ बैंकहरूका भौतिक शाखाहरू भने हुने छैनन् । पूर्ण रूपमा अनलाइनमै सीमित रहने छन्, ती बैंक ।
‘नियो बैंक’ नाम दिइएका ती बैंकहरूमा आफ्नो सबै आर्थिक कारोबार मोबाइल फोन मार्फत नै गर्न सकिने बताइएको छ । ती बैंकहरु २५ देखि ४५ वर्ष उमेर समूहका ग्राहकहरूलाई लक्षित गरेर शुरु गरिएको बताइएको छ ।
हाल अष्ट्रेलियामा रहेका चार प्रमुख बैंकहरू झैँ ती अनलाइन बैंकहरूलाई पनि सरकारी आर्थिक ग्यारेन्टी प्रदान गरिने छ । जसको मतलब, यदि ती बैंकहरू आर्थिक सङ्कटमा परे सरकारले उनीहरूलाई सहयोग गर्न सक्ने छ ।
अस्ट्रेलियामा सुरु भएको पछिल्लो नियो बैंकहरु मध्येको एक हो ‘जिन्जा’ ।
उक्त बैंकले मोबाइलमै आफ्नो आर्थिक कारोबार गर्ने पचास वर्ष भन्दा कम उमेरका मानिसहरूलाई लक्षित गरिरहेको छ ।

केही दिन अगाडि मात्र बैंकिङ क्षेत्रहरू माथि नियम लागू गराउने सरकारी निकाय एप्राबाट बैंकिंङ सेवा प्रदान गर्ने पूर्ण लाइसेन्स जिन्जाले पाएको हो । त्यसपछि हाल रहेका आफ्ना १३ हजार ग्राहकहरूका लागि उक्त बैंकले कारोबार गर्न मिल्ने खाता सुरु गर्यो । आगामी वर्ष बचत खाता पनि सुरु गर्ने आफ्नो लक्ष्य रहेको जिन्जाका कार्यकारी प्रमुख एरिक विल्सनले बताए ।
मानिसहरूले आफ्नो तलब जम्मा गराउनेदेखि अन्य सामान्य बैंक खाता झैँ आफ्नो संस्थाको प्रयोग गर्ने आफूले अनुमान गरेको विल्सनको भनाइ छ ।
मानिसहरूले आफ्नो मोबाइल फोन मार्फत मात्र खाताहरू प्रयोग गर्न पाउने छन् । यस कारण मानिसहरूको पैसा बैंकहरूको शाखाको लागि चाहिने भवनका लागि खर्च नहुने विल्सन बताउँछन् ।
‘मोबाइल मात्र’ बैंकका फाइदा
तर, मोबाइलमै सीमित रहने बैंकहरु सबैका लागि सबै दृष्टिकोणले फाइदाजनक रहन्छ भनेर चाहिँ भन्न नमिल्ने बताउँछिन् मोजो नामक संस्था कि कस्ती ल्यामोन्ट ।
‘बैंकका कर्मचारीहरूलाई भेटेरै आफ्नो आर्थिक अवस्थाबारे कुरा गर्न चाहने ग्राहकहरूका लागि भने यस्ता सेवाले खासै फाइदाजनक हुँदैन’, उनले आफ्नो धारणा राखिन् ।
तर, अनलाइनमै सीमित बैंकहरूका कारण हाल ग्राहकहरूले तिर्नु परेका धेरै प्रकारका शुल्कहरू अन्त्य हुनसक्ने र आफ्नो पैसाको उपयुक्त व्यवस्थापन गर्न मानिसहरूलाई सहयोग पुर्याउने ल्यामोन्टको भनाई छ ।
यस्तै व्यक्तिगत अनुभवका लागि एक प्रतिस्पर्धी बैंक प्रति आकर्षित भएका हुन् शन मर्फी ।
उनले ८६,४०० नामक अनलाइन बैंकमा आफ्नो खाता खोलेका छन् ।

२४ घण्टा खुल्ला रहने ८६ हजार ४ सय सेकेन्डलाई नाममा परिणत गर्ने उक्त मोबाइलमै सीमित रहेको बैंकले पनि बचत र कारोबार खाताहरूका साथ आफ्नो काम यो हप्ता सुरु गरेको छ ।
‘मेरो दैनिकी र जीवनस्तर बारे राम्रोसँग बुझे पछि उक्त बैंकले मेरो लागि झनै उपयुक्त सेवा प्रदान गर्ने आशा गरेको छु’, मर्र्फी भन्छन् । तर अहिल्यै प्रमुख बैंकमा रहेको आफ्नो ‘मोर्टगेजलाई’ नयाँ बैंकमा नल्याउने उनी बताउँछन् ।
कस्ती ल्यामोन्टका अनुसार भने हाल संयुक्त रूपमा १ करोड ८० लाख ग्राहकहरू रहेका प्रमुख बैंकहरूका लागि आउँदा दिनहरूमा पनि स्थान रहने छ ।
गत वर्षको बैंकिङ शाही आयोगमा आएका बयानहरू बाट दुखित भएका अस्ट्रेलियालीहरूमा अझै पनि पुराना बैंकहरू प्रति विश्वास रहेको उनी बताउँछिन् ।
‘यस कारण पनि नियो बैंक भनिने नयाँ बैंकहरूका लागि उक्त विश्वास अन्त्य गर्न गाह्रो हुनेछ’, ल्यामोन्ट भन्छिन् ।
मोबाइलमा सीमित बैंकहरूले पुराना बैंकहरूको नाफालाई घटाउन सफल हुनेछन् भनेर अहिले भन्न नसकिने बताउँछन् लिंकन इन्डीकेटर्स नामक संस्थाका विश्लेषक एलियो डुअमाटो । उनको यो भनाइ प्रति मोजो कि कस्ती ल्यामोन्ट पनि सहमत छिन् ।
युकेमा पनि अनलाइन बैंकहरू प्रतिको प्रारम्भिक आकर्षण हाल कायम रहन नसकेको उनी बताउँछिन् ।
व्यवसायहरूलाई ऋण दिन संलग्न रहेको जुडो नामक संस्था देखि बेन्डीगो र एडिलेड बैंकको लाइसेन्स प्रयोग गर्ने ‘एप’ पनि केही समयमै बजारमा प्रवेश गर्नेछन् ।
तर, कुनै शाखा नरहेका बैंकहरूको नाम पहिचान गर्न नसकिने वा शाखा नरहने अवस्थामा त्यस्ता बैंकहरू प्रतिको ग्राहकको विश्वास कसरी बढ्ला त ? भन्ने प्रश्न पनि छ ।
विश्लेषक एलियो डुअमाटो भन्छन्, ‘नयाँ मोबाइल बैंकहरूमा पनि अब मानिसहरूको पैसा सुरक्षित रहने कुरा बुझ्न जरुरी रहेको छ ।’
‘एप्राको अनुमतिको मतलब दुई लाख पचास हजार डलर वा त्यसभन्दा कम रकम बचत गर्ने मानिसहरूको पैसालाई सरकारी ग्यारेन्टी रहने छ । यो भनेको अन्य सामान्य बैंकहरुको जस्तै अवस्था हो’, उनी भन्छन् ।
अब देशका ठुला बैंकहरूले आफ्ना ग्राहकहरू बैंक छाडेर नयाँ बैंक तर्फ नजाउन भन्नका लागि आफ्नो डिजिटल सेवामा सुधार गर्नैपर्ने बाध्यता आइपरेको विश्लेषकहरूको भनाइ छ ।
जसको मतलब –थप प्रतिस्पर्धा र ग्राहकहरूलाई थप फाइदा ।