मुग्लिन-पोखरा ४ लेन सडक : १ वर्षमा जम्मा डेढ प्रतिशत काम, बिजुलीका खम्बा बाधक बन्दै

सांकेतिक तस्वीर

काठमाडौं । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति काम सुस्त भएको छ । ८० किलोमिटर मुग्लिन–पोखरा ४ लेन सडक विस्तार गर्न ठेक्का लागेको १ वर्ष बिते पनि कामले गति लिन नसकेको हो ।

 

हालसम्म आयोजनाको कुल प्रगति करिब डेढ प्रतिशत मात्र रहेको छ । दुई खण्डमा विभाजन गरिएको उक्त सडकको पूर्वी खण्डमा १ वर्षदेखि काम भइरहेको छ भने पश्चिम खण्डमा ६ महिना यता काम भइरहेको छ ।

 

एशियाली विकास बैंक (एडीबी)का उप आयोजना निर्देशक राकेश महर्जनका अनुसार हालसम्म आयोजना भित्र डेढ प्रतिशत मात्र काम पूरा भएको छ । उनले कोभिड तथा मुआब्जाका कारणले हालसम्म कामले भने जस्तो गति लिन नसकेको हो ।

 

उनले मुख्य गरी दैलेख खण्डमा घरटहरा हटाउन नसकिएको बताए । यस्तै सडक छेउका बिजुलीका पोल समेत हटाउन आयोजनामा हम्मे हम्मे भइरहेको छ । ‘हालसम्म डेढ प्रतिशत हाराहारी भौतिक प्रगति छ, बिजुलीका पोल, मुआब्जा, कोभिडको कारणले गर्दा पनि काम भने जस्तो हुन नसकेको हो, अब गति लिँदैछ,’ महर्जनले चाणक्य पोष्टसँग भने ।

 

२०७७ मा सुरु भएको यस आयोजनाको निर्माण अवधि सकिन २ वर्षमा मात्र बाँकी रहेको छ । एडीबीको ऋण सहयोगमा उक्त सडक चार लेनको बनाउन लागिएको हो । मुग्लिन–पोखरा खण्डको पहिलो प्याकेजका लागि सीसीसी (चाइना कम्युनिकेसन कम्पनी) ले ठेक्का पाएको थियो । सो कम्पनीसँग आँबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक विस्तारको ठेक्काका लागि सम्झौता भएको हो ।

 

अहिलेसम्म कति भयो काम ?

 

मुग्लिन–पोखरा सडकको पहिलो खण्डमा हालसम्म डेढ प्रतिशत भौतिक प्रगति भएको हो । उक्त खण्डमा हालसम्म रुख काट्ने काम मात्र र मुआब्जाको काम भइरहेको छ । सो खण्डमा रुख कटानको काम ९० प्रतिशत हारहारीमा सम्पन्न भएको जनाइएको छ ।

 

पूर्वी खण्डमा ३ हजार रुख काट्नु पर्नेमा हालसम्म २ हजार रुख कटानको काम सकिएको छ । उक्त काम पनि छिट्टै सकिने आयोजनाले जनाएको छ । उक्त आयोजना अन्तर्गत बिजुलीका पोल हटाउन नसक्दा सडक विस्तार भने जस्तो गति लिन नसकेको महर्जन बताउँछन् । पोल हटाउनका लागि प्राधिकरणसँग माग गरे पनि हालसम्म सो स्टिमेट नआउँदा सडक विस्तार ढिला भएको उनले बताए ।

 

सडक विस्तारका क्रममा पर्ने घर–टहराको मुआब्जा वितरणका कामले पनि गति लिन सकेको छैन । कुल आयोजनाका लागि मुआब्जा वितरण गर्न ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

 

पूर्वी खण्डमा हटाउनु पर्ने घरटहरा धेरै नभए पनि पश्चिम खण्डमा धेरै घरटहरा हटाउनु पर्ने देखिएको छ । आयोजनामा ५०० हाराहारीमा घरटहरा रहेका छन् । जसमध्ये हालसम्म ३०० हाराहारीमा घरटहराको मुआब्जा निर्धारण भएको जनाइएका छ । पोल हटाउनका लागि प्राधिकरणले स्टिमेट दिएपछि मात्र कसरी कुन निकायले हटाउने टुंगो लाग्नेछ ।

 

आँबुखैरेनी–मुग्लिन पश्चिम खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । ६ अर्ब २१ करोड रुपैयाँको लागतमा निर्माण हुने गरी ६ महिना अघि यस खण्डमा ठेक्का लगाइएको हो ।

 

उक्त खण्डमा हालसम्म रुख कटानको काम बाहेक केही हुन सकेको छैन । ठाउँ ठाउँमा पोल र बजारी बस्ती धेरै भएका कारण निर्माणले गति लिन नसकेको हो ।

 

‘आयोजना अन्तर्गत रुख कटानको काम ७०/८० प्रतिशत हाराहारीमा पूरा भइसकेको आयोजना प्रमुख अमित श्रेष्ठले बताए । उनले प्राधिकरणबाट पोल नहटाएकै कारण सडक विस्तारले गति लिन नसकेको बताए । सो खण्डमा वस्ती भएका क्षेत्र धेरै हुँदा मुआब्जा वितरणका लागि समेत घरटहरा मूल्यांकनको काम भइरहेको छ । यस खण्डमा २५० बढि घरटहरा रहेको उनले बताए ।

 

‘रुख काट्ने काम लगभग अन्तिम चरणमा छ, बिजुलीका पोल हटाउन बारम्बार माग गर्दा पनि प्राधिकरणले वास्ता गरेको छैन, हामीले स्टिमेट पठाउँ भनेर पत्रचार गरेकोगर्यै छौं,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ‘सुरुको १० किलोमिटर बाहेक सबै खण्डमा समस्या मात्र छ ।’

 

उनले अब सुरुको १० किलोमिटर खण्ड विस्तार गरिए पनि अन्य खण्डमा काम हुन अझै समय लाग्ने बताए । बिजुलीका पोलहरु छिटै हटाइए निर्माणले गति लिने उनको भनाइ छ ।

 

बन्ने भयो ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना, जग्गा अधिग्रहण सुरू Read Previous

बन्ने भयो ६३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना, जग्गा अधिग्रहण सुरू

भक्तपुरको भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै Read Next

भक्तपुरको भङ्गेरीडाँडामा रग्बी अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरिँदै