काठमाडौं । सेयर बजारमा पहिरो जाने क्रम अझै रोकिएको छैन् । यो साता कारोबार भएको दुई दिनमै बजार ३४.०५ अंकले घटेको छ । आइतबार करिब १८ अंकले ओरालो लागेको बजार आज पनि दोहोरो अंकले नै घटेको छ ।
सेयर लगानीकर्ताले भदौ महिनामा मात्र १ खर्ब १५ अर्ब रुपैयाँ गुमाएका छन् । भदौ १ गते कूल बजार पूँजीकरण १५ खर्ब ४२ अर्ब ४ करोड रहेकोमा आजसम्म आइपुग्दा १४ खर्ब २७ अर्ब ३३ करोड रुपैयाँमा संकुचित भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको नाफाबाट आकर्षक लाभांश घोषणा गरिरहेका भएपनि त्यसले लगानीकर्ताको ध्यान तान्न सकेको छैन् । दिनदिनै बजार घट्न थालेपछि लगानीकर्ता चरम निराशावादी भएका छन् ।
पछिल्लो समय सरकारले सेयर बजार सम्बन्धी लागू गरेका नीति नियमका कारण बजार लगानीकर्ताको मनोवल गिर्दा बजार निरन्तर ओरालो लागेको हो । लामो समयदेखि विवादित पूँजीगत लाभकर गणना विधि सम्बन्धी समस्या समाधान नहुँदा बजार आफैंले गति लिन सकेको छैन ।
यसमाथि सरकारले आगामी असोज १ गतेदेखि लागू गर्ने सम्पत्ति शुद्धिकरण निवारण निर्देशिकामा व्यवस्था गरिएका नयाँ नियमले बजार झन तरंगित बनाएको छ । निर्देशिका मार्फत सरकारले कुनै पनि व्यक्ति वा संस्थाले १० लाखभन्दा बढीको सेयर कारोबार गर्दा त्यसको लगानीको स्रोत खुलाउनु पर्ने व्यवस्था गरेको छ ।
आज सेयर बजार मापक सूचक नेप्से १६.१८ अंकले घटेर ११२३.८३ अंकमा आइपुगेको छ । आज १६९ कम्पनीको ३४ करोड ३९ लाख १८ हजार २२१ रुपैयाँको कारोबार भएको छ । १२ लाख ४८ हजार ४०९ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज कारोबार भएका १२२ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ भने १९ कम्पनीको शेयरमूल्य मात्र समान्य बढेको छ । १९ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
कारोबार भएका १२ वटा समूहमध्येमा व्यापार समहबाहेक अरु सबै समूहको सूचक ओरालो लागेका छन् । व्यापार समूहको सूचक ६.३३ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १३१.६२ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि १३.०७ अंकले झरेको छ ।
कारोबार रकमको आधारमा छिमेकी लघुवित्त विकास बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ८० लाख १९ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र सिटिजन बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको १ करोड ७९लाख र सिटिजनको १ करोड ४९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य करिब ३.९८ प्रतिशतलेले बढेको छ भने नेशनल लाइफको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ ।