काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेट भाषणमा ललितपुरको एकान्तकुना, सातदोबाटो र ग्वार्कोमा फ्लाइओभर निर्माण गर्ने घोषणा गरेको थियो ।
तीमध्ये ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का लागे पनि बजेट सुनिश्चित नहुँदा एकान्तकुना र सातदोबाटोमा फ्लाइओभर निर्माण निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो ।
एकान्तकुना र सातदोबाटोमा फ्लाइओभरको डिजाइनको ड्राफ्ट बने पनि बजेट अभावमा अरु प्रक्रिया अघि बढ्न सकेको छैन । उक्त ड्राफ्ट अनुसार फ्लाइओभर निर्माणका लागि बजेट सुनिश्चित गर्न बाँकी रहेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार आगामी आर्थिक वर्षबाट निर्माण सुरु गर्नेगरी बजेट माग गरिएको छ । केन्द्रका सिनियर इन्जिनीयर सौरभ बज्रचार्यले निर्माणका लागि १ अर्ब ३४ लाख रुपैयाँ बजेट माग गरिएको बताए । उनले बजेट सुनिश्चित भएपछि उक्त दुवै फ्लाइओभर निर्माणका लागि ठेक्का आह्वान गरिने छ ।
‘डिजाइनको ड्राफ्ट तयार भइसकेको छ, बजेटको लागि भनेर मन्त्रालयमा प्रस्ताव गरेका छौँ, अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ बज्रचार्यले चाणक्य पोष्टसँग भने ‘बजेट सुनिश्चित भएपछि ठेक्का आह्वान गरी हाल्ने छौँ ।’
जापान अन्तर्रााष्ट्रिय सहयोग नियोग (जाइका)ले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन तथा डिजाइन ड्राफ्ट निर्माण गरेको थियो । उक्त फ्लाइओभर निर्माणका लागि बजेट सुनिश्चिता गर्न हाल अर्थमन्त्रालयमा प्रस्ताव पेश गरिएको छ । उक्त बजेट प्रस्ताव पठाएको ३ महिना भइसकेको केन्द्रले जनाएको छ ।
ग्वार्को फ्लाइओभरको काम हुँदै
बजेट अभावमा एकान्तकुना र सातदोबाटो फ्लाइओभरको काम अघि बढ्न नसके पनि ग्वार्को फ्लाइओभरको भने काम सुरु भइसकेको छ । हाल यस फ्लाइओभरको ठेक्का प्रक्रिया पूरा भई डिजाइन भइरहेको छ ।
ग्वार्को फ्लाइओभरको ठेक्का एमरएस आशिष–समानान्तर जेभीले ठेक्का पाएको छ । जेभीले २ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँमा ठेक्का पाएको हो ।
कम्पनीले अहिले उक्त फ्लाइओभरको डिजाइन बनाइरहेको जनाएको छ । जेठसम्म फ्लाइओभरको डिजाइन सम्पन्न भई निर्माण थालिने ठेकेदार कम्पनीको भनाइ । निर्माण थालेको २० महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ ।
८ लेन रहेको चक्रपथको बीचको चार लेनमा फ्लाइओभर निर्माण हुनेछ । उक्त फ्लाइओभरको लम्बाइ ४५५ मिटर हुनेछ ।चक्रपथबाट आएका सवारीसाधन ४ लेनको फ्लाइओभर मार्फत आवतजावत गर्नेछन् भने अन्य ठाउँमा जाने सवारी दायाँबायाँको ४ लेन बाट गुड्ने छन् ।
माथि चढ्न र झर्नका लागि र्याम हुनेछ भने माथिल्लो भागमा सुपर स्ट्रक्चर हुनेछ । ‘फ्लाइओभर’ बीएण्डबी अस्पताल नजिकै ग्वार्कोबाट बालकुमारीतर्फ केही अघिसम्म निर्माण हुनेछ ।