उपत्यका सडक विस्तारका ९ सडक : ४ सडक चैतभित्रै सम्पन्न हुने, अरूको कति बाँकी छ काम ?

काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत निर्माण भइरहेको सडकको काम यही चैत भित्रै सम्पन्न हुने दाबी गरिएको छ । आयोजना अन्तर्गत विस्तार भइरहेका ९ वटा सडकको काम यसै महिनाभित्र सकिने दाबी गरिएको हो ।

 

ठेकेदारको चरम लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद, कोरोना लगात विभिन्न कारणले ती सडकहरूको काम ७ वर्षदेखि पूरा हुन सकेको छैन । पटकपटक म्याद थप गरिए पनि अझै ती सडक आयोजनाहरूको काम सम्पन्न हुन नसकेको हो । आयोजनारुको अन्तिम पटक थपिएको म्याद यही चैत मसान्तमा सकिँदैछ ।

 

उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशी यही चैतअन्तिमसम्म सबै विस्तारका काम सम्पन्न गर्ने दाबी गरेका छन् । उनले ठेकेदारहरूलाई चैत मसान्तभित्र सक्नेगरी अल्टिमेटम रहेको बताए । उक्त म्याद समयमा जसरी भए पनि निर्माणको काम सक्नुपर्ने छ ।

 

‘चैतभित्र जसरी पनि काम सक्नु पर्यो, नत्र अर्को उपाय छैन, अब मन्त्रिपरिषद्बाटै म्याद थप गर भनेर चिठ्ठी आयो भने हामीले नगर भन्न मिल्दैन,’ जोशीले चाणक्य पोष्टसँग भने ।

 

गत आर्थिक वर्षमा कोभिड १९ का कारण विस्तारको कामले भने जस्तो गति लिन सकेको थिएन । चालु आवमा चाडपर्व तथा बेमौषमी वर्षाका कारण निर्माण कार्यमा खासै प्रगति हुन सकेको थिएन । कार्तिकसम्म गति लिन नसकेको आयोजनाले मंसिर यता गति लिएको जोशीले बताए ।

 

‘गत आवसम्म कोभिडले काम हुन दिएन, यो आवमा सुरूमै चाडपर्वका कारण र लगातार वर्षाका कारण धेरै राम्रो काम हुन सकेन, तर अहिले काम धमाधम भइरहेको छ, ठेकेदारहरूलाई चैत्रभित्रै काम सक्नेगरी परिचालन गरिसकेका छौं,’ जोशीले भने ।

 

जोशीले सबै आयोजनाको काम चैत भित्रै सकिने दाबी गरे पनि कामको स्थिति हेर्दा ४ सडकको मात्र पूरा हुने देखिएको छ । चाबहिल साँखु, त्रिपुरेश्वर–कलंकी–नागढुंगा, इमाडोल–गोदावरी–लामाटार र लगनखेल सातदोबाटो सडकाके काम यसै महिनाभित्र सकिने ठेकेदारहरूको दाबी छ ।

 

निशर्त २०७९ सम्म म्याद थप्नुपर्छ

 

सबै सडक चैत भित्रै सम्पन्न गर्नुपर्ने म्याद रहे पनि नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंह भने २०७९ सम्मका लागि निशर्त म्याद थप हुनुपर्ने बताउँछन् । उनले विगतमा कोभिड र हाल निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले सरकारले सबै आयोजनामा २०७९ सम्मका लागि म्याद थप गर्नुपर्ने बताए ।

 

‘कोरोनाका कारण २ महिना काम गर्न सकिएन, अब निर्माण सामग्रीको मूल्य शतप्रतिशतभन्दा धेरैले वृद्धि भएको छ, त्यसैले निशर्त २०७९ सम्मका लागि म्याद थप गरिनुपर्छ,’ सिंहले भने ।

 

यी हुन् चैतमै सकिने दाबी गरिएका ४ सडक

 

चाबहिल–जोरपाटी–साँखु सडक : यस सडकखण्ड विस्तारको काम सुरू भएको ७ वर्ष बिते पनि अझै सम्पन्न हुन सकेको छैन । ठेकेदारको चरम लापारबाही, स्थानीयको अवरोध, मुआब्जा विवाद लगायत कारणले आयोजना समयमै सम्पन्न हुन नसकेको हो ।

७ वर्ष बित्दा पनि सडक निर्माण पूरा नभएपछि आन्दोलनमा उत्रिएका थलीका स्थानीय ।

 

२०७२ असोज १३ गतेबाट निर्माण सुरू भएको यस सडकको हालसम्म करिब ९० प्रतिशत काम पूरा भएको छ भने अझै १० प्रतिशत बाँकी छ । कुल ११.६ किलोमिटर लामो यस सडकखण्डको अझै डेढ किलोमिटर हाराहारी सडक निर्माण सम्पन्न हुन बाँकी रहेको छ ।

 

यस सडकखण्ड अन्तर्गत वाग्मती २०० मिटर, नलिङ मूलपानीमा ३०० मिटर, थलीमा ६०० मिटर, नयाँ पाटीमा २५० मिटर र सलम्बुटारमा २०० मिटर कालोपत्र गर्न बाँकी रहेको छ ।

 

यी स्थानहरूमा २०७६/७७ को अन्तिमसम्ममा कालोपत्र गरिसक्ने सरकारको लक्ष्य रहे पनि विभिन्न कारण बस अहिलेसम्म निर्माणाधीन अवस्थामा नै रहेको छ । अब थोरै मात्र काम बाँकी रहेकाले चैत भित्रै सकिने दाबी गरिएको छ ।

 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक  :  यस सडक आयोजना अन्तर्गत हालसम्मा ९५ प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । उक्त ठेक्काको कालोपत्र गर्ने काम सकिए पनि रेलिङ, फुटपाथ लगायतका काम बाँकी रहेकाले सो सम्पन्न गरी हस्तान्तरण गर्न ठेक्का व्यवसायीलाई निर्देशन दिइए पनि हालसम्म सो काम हुन सकेको छैन ।

 

विभिन्न खण्डमा सडक खाल्टाखुल्टी परेकाले समेत उक्त स्थानमा ठेकेदार आफैले कालोपत्र गर्नुपर्ने आयोजनाले जनाएको छ । ११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६ सय ८८ घर भत्काउनु पर्नेमा ३ सय ५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गरिएको हो ।

 

उक्त आयोजनामा खाल्टाखुल्टी मर्मत, रेलीङ, फुटपाथ जस्ता निर्माणका लागि थप डेढ करोड चाहिने आयोजनाले जनाएको छ । त्रिपुरेश्वर–नागढुंगा सडक आयोजना २०७२ असार ३१ गतेबाट सुरू हुने गरी सम्झौता भएको थियो । २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने भनिए पनि सो समयमा सम्पन्न हुन नसकेपछि २०७७ पुषसम्मको म्याद थप भएको थियो । उक्त समयमा समेत ठेक्का सम्पन्न गरी हस्तान्तरण नभएपछि यहीे चैत्र मसान्तभित्र सम्पन्न गर्नेगरी म्याद थप गरिएको थियो ।

 

इमाडोल–हरिसिद्धि–गोदावरी–लामाटार सडक : यस आयोजना अन्तर्गत हरिसिद्धि–गोदावरी क्षेत्रमा ४ किलोमिटर कालोपत्र भएको छ । उक्त खण्डमा ३०० मिटर मा सडक कालोपत्र गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

इमाडोल–लामाटार खण्डमा सडक कालोपत्र सम्पन्न भए पनि पुल खण्डमा ८० मिटरमा आरसीसी ढलान गर्न बाँकी रहेको आयोजना प्रवक्ता जोशीले बताए । ८ किलोमिटर लम्बाइ रहेको सो सडक चैत्रभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

 

लगनखेल-सातदोबाटो सडक

 

यस सडकको करिब ९५ प्रतिशत हाराहारी काम सम्पन्न भइसकेको छ । स्थानीयले घर भत्काउन नदिएपछि रोकिएको सडक विस्तार अब यथास्थितिमा कालोपत्र गरी सम्पन्न गर्न लागिएको हो ।

 

सो खण्डमा भत्काउनु पर्ने अवस्थामा रहेका ५५ घर मध्ये १२ घर भत्काउन स्थानीयले अवरोध गरेपछि यथास्थितिमा सडक निर्माण हुने भएको हो । यस सडकमा अहिले अन्तिम चरणको कालोपत्र भइरहेको छ ।अबको एकहप्ता भित्र सबै काम सम्पन्न भइसक्ने जनाइएको छ ।

 

कुन सडकको कति बाँकी छ काम ?

 

नख्खु खोला–भैंसेपाटी–बुंमती सडक : यस सडक आयोजना अन्तर्गत २ वटा प्याकेजमा ५ किलोमिटर सडकमा माटो हाल्ने, हिमपाइप हाल्ने, रोड ग्रेडिङ, बेस र सबबेस लगायतको काम भइरहेको छ । यस आयोजनामा कुनै पनि खण्डमा हालसम्म कालोपत्र हुन सकेको छैन ।

आयोजनाको काम गर्न ठेकेदारले सुरू गरिसकेको जोशीको दाबी छ । ७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको यस आयोजना चैत्रभित्र सम्पन्न गर्ने अनुमान गरिएको छ । २०७३/७४ मा सुरू भएको हो ।

 

आयोजनाका सुचना अधिकारी जोशी रोड ग्रेडिङ, बेस र सबबेस सबै सकेपछि कालोपत्र गर्न धेरै समय नलाग्ने भएकाले समयमै निर्माण सम्पन्न हुने बताउँछन् ।

 

कर्मनाशा खोला–गोदावरी सडक : यस सडक आयोजना अन्तर्गत हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । कुल साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्डमा कालोपत्र गर्ने काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

उक्त आयोजनामा केही दिनअघि ३०० मिटरमा कालोपत्र गरे पनि थप स्थामा कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए । २०७३/७४ मा सुरू भएको यस आयोजनामा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।

 

पेप्सीकोला–सल्लाघारी सडक : यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । यस क्षेत्रमा कालोपत्रको काम मात्र बाँकी रहेको बताइएको छ ।

साढे ४ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभीले निर्माण ठेक्का लिएको छ । सो आयोजना अन्तर्गत साढे २ किलोमिटरमा कालोपत्रको काम सम्पन्न भएको छ । २ सय मिटरमा आरसीसी ढलान गर्न लागिएको आयोजनाले जनाएको छ ।

 

जोरपाटी–सुन्दरीजल सडक :  यस सडक आयोजना अन्तर्गत ७ किलोमिटर लम्बाइ मध्ये २ किलोमिटरमा मात्र काम हुन बाँकी रहेको छ । हालसम्म ७५ प्रतिशत बढी काम सकिसकेको यस आयोजनाको गोकर्ण मन्दिर निर २ किलोमिटरमा कालोपत्र्र गर्न बाँकी रहेको छ । घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोद सृजना गरेपछि सो खण्डमा यथास्थितिमा सडक कालोपत्र गर्ने काम भइरहेको छ ।

 

२०७३ असारमा सुरू भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको छैन । ठेक्काको म्याद २०७८ वैशाख सम्मका लागि थप गरिएको थियो कोभिडको कारण काम सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गरी चैत्रभित्र सम्पन्न गर्ने भएको हो ।

 

ढोलाहिटी–चापागाउँ–लेले सडक :  यस सडक आयोजना अन्तर्गत हालसम्म ७५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको लेले क्षेत्रमा बेस हालिएको छ । ढोलाहिटीमा सब–बेस र कालोपत्रको काम बाँकी रहेको छ । उक्त खण्डमा ग्रेडीङ, बेस, सबबेस हाल्ने काम भइरहेको छ ।

 

सुरूमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मिटर को सट्टा १७.२० मिटर नै गर्न स्थानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार मापदण्ड घटाइ निर्माण गर्न थालिएको थियो । २०७३/७४ मा सुरू भएको यस आयोजनामा यथास्थितिमा भए पनि यही चैत्रभित्र पूरा गरिने भनिएको छ ।

 

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, अरुको बढ्यो (मूल्यसहित) Read Previous

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, अरुको बढ्यो (मूल्यसहित)

कसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र ? Read Next

कसरी टाट पल्टियो श्रीलंकाको अर्थतन्त्र ?