विद्युत् अभावमा निर्माण सामग्रीको उत्पादन घट्यो, सिमेन्टको मूल्य २५ प्रतिशत बढ्ने

काठमाडौं । विद्युत् अभावमा निर्माण सामग्रीको उत्पादनमा गिरावट आउन थालेको छ । औद्योगिक क्षेत्रमा अघोषित रुपमा १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको उत्पादन घटेको हो ।

 

साथै, अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा इँटा उत्पादनमा समेत गिरावट आउन थालेको उद्योगीहरु बताउँछन् । विद्युत्को विकल्पमा रहेको इन्धनको मूल्य वृद्धि हुँदा उद्योगहरु चर्को मारमा परेका हुन् ।

 

नेपाल विद्युत् प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किनेर दिन नसक्ने भन्दै उद्योगहरुलाई दिँदै आएको बिजुली कटौती गर्दा सिमेन्ट, डण्डी लगायत उद्योग नराम्ररी प्रभावित भएका छन् । विद्युत्को विकल्पमा उद्योगहरुले डिजेल लगायत इन्धन प्रयोग गर्दै आएका भए पनि त्यसको अचाक्ली मूल्य बढ्दा उद्योगहरु संकटमा पर्न थालेका हुन् ।

 

ऊर्जा अभावमा उद्योगहरुले उत्पादन आधा कटौती गर्न थालेका छन् । महँगोमा इन्धन किनेर उत्पादन गर्दा लागत बढ्ने हुँदा उद्योगहरु आधा समय बन्द हुन थालेको व्यवसायी बताउँछन् । पछिल्लो समय कच्चा पदार्थको मूल्य वृद्धि भइरहेको बेला ऊर्जा संकट थपिँदा व्यवसायी झन मारमा परेका हुन् ।

 

पूरै समय उद्योग चल्न नपाएपछि उद्योगहरुको उत्पादन क्षमता झन्डै आधाले घटेको छ । बिजुली पनि नहुँदा र महँगोमा डिजेल, कोइला जस्ता इन्धन किनेर उद्योग चलाउन नसक्दा डण्डी, सिमेन्ट लगायतको उत्पादमा गिरावट आएको छ ।

 

‘उद्योग चल्न सक्ने अवस्थामा छैनन्, निर्माण सामग्रीको मूल्य स्वतः बढ्छ’

 

नेपाल उद्योग वाणिज्य महासंघले राज्यले उद्योगलाई प्राथमिकतामा नराखेको बताएको छ । दैनिक १२ घण्टासम्म लोडसेडिङ भएपछि उद्योग बन्द हुने अवस्थामा पुगेको संघको ठहर छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ उद्योगहरु पूर्ण क्षमतामा चल्न नपाउँदा निर्माण सामग्रीको मूल्य स्वतः बढ्ने बताउँछन् । ‘दैनिक १२ घण्टा लोडसेडिङ छ । इन्धनको मूल्य बढेकोबढ्यै छ । कच्चा पदार्थको भाउ अस्वभाविक बढीरहेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘यस्तो अवस्थामा उद्योग कसरी संचालन हुन्छ, हाल संचालनमा रहेका केही उद्योग पनि २/४ दिनमा बन्द हुन्छन् । उत्पादन लागत धैरै भएकाले मूल्य स्वतः बढ्छ ।’

 

श्रेष्ठका अनुसार विद्युत् प्राधिकरणले आफू घाटा खाएर उद्योगलाई विद्युत् दिनुहुँदैन भन्ने सोचाइले उद्योग बन्द गर्ने अवस्थामा पुगेको बताए । विराटनगर, वीरगंज, भैरहवा र नेपालगञ्ज करिडोरका व्यवसायीहरुले उद्योग संचालन हुन नसकेको र दिनमा २÷३ घण्टा मात्र संचालन गरेको श्रेष्ठले जानकारी दिए ।

 

‘एक महिना अघिसम्म विद्युत् प्रयोग गर भन्ने, अहिले विद्युत् दिन सक्दैनौं भन्ने प्राधिकरणको व्यवस्थापन कस्तो हो ?,’ उनी प्रतिप्रश्न गर्छन् ।

 

सिमेन्टको मूल्य २५ प्रतिशत बढ्ने

 

यता सिमेन्ट उद्योग संघको भनाइ पनि उस्तै छ । लागत धेरै गरेर उत्पादन भएका वस्तुको मूल्य बढ्ने संघको भनाइ छ । ‘उद्योगमा लामो समयसम्म लोडसेडिङ भएको छ, जसले गर्दा उद्योग संचालन गर्न नै नसक्ने अवस्था रहेको छ । अन्य वैकल्पिक माध्यमबाट उद्योग संचालन गर्दा लागत धेरै लाग्छ, लागत धेरै भएपछि उत्पादित वस्तुको मूल्य वृद्धि हुन्छ,’ नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुवराज थापाले चाणक्य पोष्टसँग भने ।

 

थापाका अनुसार यही अवस्था रहे सिमेन्टको मूल्य २५ प्रतिशत बढ्ने सम्भावना छ । लोडसेडिङका बाबजूद उत्पादन जारी रहे पनि लागत बढेकाले मूल्य बढ्ने उनले बताए । कच्चा पदार्थ र इन्धनको लागत बढ्दा उद्योगी मर्कामा परेको उनको भनाइ छ ।

 

माघ फागुनमा सिमेन्टको माग घटे पनि चैतमा क्रमशः बढ्दै गएको उनले बताए । पछिल्लो समय पूर्वाधार निर्माणले गति लिँदा माग बढ्दै गएको उनको भनाइ ।

 

इँटाको मूल्य पनि बढ्ने

 

अन्तर्राष्ट्रिय बजारमा भएको कोइलाको मूल्य वृद्धिका कारण इँटाको लागत दोब्बरले बढेको नेपाल इँटा उद्योग महासंघले जनाएको छ । पछिल्लो ३ महिनाको अवधिमा कोइलाको मूल्य प्रतिटन १५० डलरबाट बढेर २७० डलर हाराहारीमा पुगेकाले इँटा उत्पादन लागत झन्डै दोब्बरले बढेको संघको भनाइ छ ।

 

महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उत्पादन लागत बढेकाले अब मूल्य पनि बढ्ने बताए । ‘सबै निर्माण सामग्रीको उत्पादन लागत बढेको छ । लागत बढेपछि मूल्य पनि बढ्छ, उनले चाणक्य पोष्टसँग भने,’ ‘अब इँटाको मूल्य पनि बढ्छ । तर, मूल्य कति वृद्धि हुन्छ भन्ने अहिले टुंगो लागेको छैन ।’

 

सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरिँदै, यी आयोजनाको बिजुली जोडिने Read Previous

सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरिँदै, यी आयोजनाको बिजुली जोडिने

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी Read Next

नाट्टाको अध्यक्षमा रमेश थापा विजयी