काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ५३ वटा लघुवित्तमध्ये ४६ वटा लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।
लाभांश घोषणा गरिसकेकामध्ये ४२ वटाले साधरण सभाबाट पारित समेत गरिसकेका छन् भने एउटाले बुकक्लोज गरिसकेको छ । बाँकी ३ वटाले साधरण सभाका लागि बुकक्लोज गरेका छैनन् ।
लाभांश घोषणा गरेकामध्ये बुकक्लोज हुन बाँकी ३ लघुवित्तको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।नयाँ सारथी, किसान लघुवित्त र विन नेपालले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरेका छैनन् ।
तसर्थ, अझै सेयर किन्दा नयाँ सारथीको २० प्रतिशत, किसान लघुवित्तको २५ प्रतिशत र विन नेपाल लघुवित्तको ११.५ प्रतिशत लाभांश पाइन्छ ।
लाभांश घोषणा गरेका ४६ लघुवित्तमध्ये सबैभन्दा धेरै जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको छ । जीवन विकासले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यस्तै, सबैभन्दा कम लाभांश एनआइसी एशिया लघुवित्त रहेको छ । एनआइसीले गत वर्षको नाफाबाट ५.४१ प्रतिशत नगद लाभांश दिएको छ ।