बलेफी हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता भर्ने ?

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

 

निष्काशित कुल सेयरमध्ये ४ प्रतिशत (७३ हजार ११९ कित्ता) कम्पनीका कर्मचारीहरु र ५ प्रतिशत (९१ हजार ३९८ कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउँछन् ।

 

कम्पनीको आइपीओमा चैत २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यसअघि पहिलो चरणमा माघ २७ देखि आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख रुपैयाँ ९७ हजार ७०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको थियो ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

 

कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई १६ लाख ६३ हजार ४५३ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ६६ हजार ३४५ जनालाई मात्र सेयर दिन पुग्छ ।

 

यसअघि खुलेका आइपीओमा २६ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

शनिबारदेखि चल्ने भयो जनकपुर-जयनगर रेल, यस्तो छ भाडादर Read Previous

शनिबारदेखि चल्ने भयो जनकपुर-जयनगर रेल, यस्तो छ भाडादर

उपकार लघुवित्तले चैत २५ देखि आइपीओ निष्काशन गर्ने Read Next

उपकार लघुवित्तले चैत २५ देखि आइपीओ निष्काशन गर्ने