काठमाडौँ । नेपाल चीन बीच घाँस निर्यात गर्ने सम्बन्धी द्धिपक्षीय सम्झौता गरेको छ । दुई दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीसँग गरिएको ९ बुँदे सम्झदारी मध्ये घाँस निर्यात एक हो ।
सुरक्षीत रूपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्झौतापछि अहिले सामाजिक संजालदेखि संचार माध्यमसम्म घाँस निर्यात गर्ने विषयले चर्चा पाएको छ ।
कृषि क्षेत्रका जानकारहरू यसलाई राजनीतिज्ञहरूको असक्षमताको पराकाष्ठ भएको टिप्पणी गरिरहेका छन् भने सरकारी अधिकारीहरू त्यसको बचाउ गरिरहेका छन् । नेपालले व्यवसायिक रूपमा घाँस निर्यात गरेर आम्दानी गर्नसक्ने भन्दै उनीहरूले यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताइरहेका छन् ।
कोरोना महामारी सुरू भएयता निर्यातमा चीनले नेपालमाथि अघोषित नाकाबन्दी नै गरेको छ । तर, उक्त नाका खोलेर जडिबुटी लगायतका वस्तुहरू निर्यात गर्न पहल गर्नु पर्नेमा उसको स्वार्थ अनुकूल घाँस निर्यात गर्ने कुरा हास्यास्पद भएको कृषि विद्हरू बताउँछन् ।
नेपाल बहुमूल्य जडिबुटीले भरिपूर्ण भए पनि तिनको प्रशोधन र निर्यात गर्न नसक्दा महंगोमा औषधिजन्य वस्तुहरूको आयात हुने गरेको छ । सम्भावना भएका र महँगो मूल्यका अथाहा वस्तुहरू भएर पनि निर्यात गर्न नसकेको नेपालले घाँस निर्यात गर्ने कुरा आफैंमा अनौठो र मजाकको विषय भएको जानकारहरू बताउँछन् ।
तरकारी, खाद्यन्नदेखि सम्पूर्ण उपभोग्य वस्तुका लागि विदेशमै निर्भर रहेको नेपालले कति रकमको घाँस निर्यात गर्ला भन्दै सामाजिक संजालमा मजाक बनाइएको छ । नेपालमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, चामल जस्ता उपभोग्य वस्तु उत्पादन गर्न नसक्ने नेपालले कति घाँस उत्पादन गर्ला ? के साँच्चै घाँस निर्यात गरेर व्यापार घाटा घटाउला ? के किसानले घाँस निर्यात गरेर राम्रो आम्दानी गर्लान ? यी प्रश्नको उत्तर भविष्यले नै देला ।
‘विवेक शून्यताको पराकाष्ठ’
कृषि विज्ञ कृष्ण पौडेल नेपालकै गाईवस्तुलाई पोषणयुक्त खान नपुगेको अवस्थामा दाना लगायत आयात गरेर घाँस निर्यात गछौँ भन्नु विवेक शून्यताको पराकाष्ठ भएको बताउँछन् ।
‘नेपालकै गाईवस्तुहरूलाई पोषण युक्त खाना पुगेको छैन । वार्षिक मकै,घाँस लगायत दानाहरू अर्बौं रुपैयाँ बराबरको आयात गरिन्छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यस्तो अवस्थामा विदेशी प्रविधि र मान्छे ल्याएर घाँस निर्यात गर्ने सम्झौता गर्यौँ भन्नु हास्यास्पद र विवेक शून्यताको पराकाष्ठ हो ।’
व्यवहारीक रूपमा अध्ययन नगरी घाँस बेचेर आम्दानी गर्छु भन्नुको कुनै अर्थ नभएको उनको टिप्पणी छ । चीनले आफ्नो आवश्यकता र स्वार्थलाई ध्यानमा राखेर घाँस निर्यातको विषयलाई जोडेको उनले बताए ।
कृषकहरूले सरकार र बिचौलियाबाट अनेकौ समस्याहरू झेलिरहेको अवस्थामा घाँस बेचेर गुजारा चलाउन नसक्ने उनको भनाइ छ । ‘खान नपुगेर कृषकहरूले नै वार्षिक रूपमा अर्बौंको अन्न आयात गर्छन् । जीविको पार्जनका लागि खाडीमा युवाहरूले पसिना बगाइरहेका छन् । अनि हामीले घाँस बेचेर कसरी गुजारा चलाउँछौँ,’ उनी भन्छन् । घाँस लगाउने किसानहरूको पनि उखु किसानकै अवस्था हुने उनको भनाइ छ ।
‘चीनमा आवश्यकता, नेपालमा सम्भाव्यता देखिएपछि सम्झौता’
नेपालमा उत्पादन हुने सम्भाव्यता र चीनमा आवश्यकता भएपछि घाँस निर्यातको सम्झौता गरिएका कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार संञ्जेल बताउँछन् ।
‘नेपालमा चितवन, दाङ, मोरङ, गोरखा लगायतका जिल्लाहरूमा यसको व्यवसायिक उत्पादन भइरहेको छ । द्धिपक्षीय सम्झौतापछि निर्यात गर्ने बाटो खुलेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन हुने सम्भाव्यता र चीनमा आवश्यकता भएपछि सम्झौता गरिएको हो ।’
चीनसँगको द्धिपक्षीय सम्झौताले नेपालमा व्यवसायिक रूपमा घाँस उत्पादन गरेर निर्यातको लागि मार्ग प्रशस्त गरेको उनले बताए । ‘अहिले नेपालका विभिन्न जिल्लामा यसको व्यवसायिक उत्पादन भइरहेको छ । यसको तत्कालै निर्यात भइहाल्ने होइन,’ उनी भन्छन्, ‘विभिन्न प्रावधिक परीक्षण गरेर प्रोटोकल अनुसार तयार भएपछिमात्रै निर्यातको लागि योग्य हुन्छ ।’
अहिले व्यवसायिक उत्पादनको लागि मार्गप्रशस्त गरिएको र निर्यात गर्न उत्पादन बढाउनुपर्ने उनको भनाइ छ ।
चीन निर्यात गर्न लागिएको घाँस कस्तो हो ?
कृषि क्षेत्रका जानकारहरूका अनुसार नेपालले चीन निर्यातका लागि सम्झौता गरेको ‘हेलेज’ र ‘सेलेज’ घाँस हो । जसलाई प्रशोधित घाँस पनि भनिन्छ ।
जानकारहरूका अनुसार हरियो घाँसलाई काटेर हावा नछिर्ने गरी प्लाष्टिकमा राखेर साइलेज बनाइन्छ भने काटेर सुकाएको घाँसबाट हेलेज बनाइन्छ । यो एक प्रकारको गाई वस्तुलाई खुवाउने गुन्द्रुक जस्तै पोषकयुक्त खानेकुरा भएको कृषिविद् पौडेल बताउँछन् ।
‘हेलेज बनाउने विभिन्न विधिहरू छन्, यही हो भन्ने छैन् तर गाई वस्तुले खाने गुन्द्रुक हो,’ उनले भने । यो खर घाँस, मकै घाँस ,जौँ घाँस जस्तै भएको उनले बताए ।
उनका अनुसार घाँसलाई जोगाउने यो एउटा तरिका पनि हो, जुन युरोपबाट आएको हो । चितवन, नवलपरासी, दाङ र गोरखामा नेपाली व्यवसायीसँग मिलेर चिनियाँले हेलेज नामको घाँस उत्पादन गरिरहेका छन् ।
नेपालमा यस प्रकारको घाँस उत्पादनको सम्भाव्यता देखेर चीनले निर्यात गर्नेबाटो खोलेको जानकारहरू बताउँछन् । तिब्बतमा लामो अवधि हिउँ पर्ने भएकाले त्यहाँका च्याङग्रा, चौरी लगायतलाई खुवाउन यसको माग उच्च हुने गरेको छ ।