काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले बिहीबार बीमा कम्पनीहरूको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । समितिले अब जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब पुर्याउनु पर्ने निर्णय गरेको हो ।
हाल जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन पूँजी वृद्धि गरिएको समितिले जनाएको छ । त्यसैगरी, कम्पनीलाई पूँजीगत आधार बलियो बनाउन, कम्पनीहरू बीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूंजीसँग सामञ्जस्यता गर्न पूँजी वृद्धि गर्नुपरेको बताएको छ ।
समितिका अनुसार आगामी वर्ष २०७९ चैत मसान्तभित्र बीमा कम्पनीहरूले तोकिएको चुक्ता पूँजी परु्याउनु पर्नेछ । बीमा कम्पनीहरूले ३० दिन भित्र कसरी पूँजी वृद्धि गर्ने हो त्यसको योजना समितिमा पेश गर्नुपर्नेछ ।
अबको १ वर्ष भित्र निर्धारित पूँजी पुर्याउन नसक्ने कम्पनीहरूले मर्जर (गाभ्ने/ गाभिने) प्रक्रियामा जानुपर्ने समितिले जनाएको छ । समितिको निर्णयसँगै बीमा कम्पनीहरूम पूँजी वृद्धि गर्नुपर्ने दबाब सृजना भएको छ ।
‘कम्पनीहरूको योजना हेरेर मोडालिटी बनाउँछौं’
समितिले अहिले चुक्ता पूँजी वृद्धि गरी ५ अर्ब पुर्याउनु पर्ने बताए पनि कुन कुन मोडलमा वृद्धि गर्न पाउने सो बारे केही उल्लेख गरेको छैन । पूँजी बढाउन कम्पनीहरूलाई एफपीओ वा हकप्रद जारी गर्नदिने वा नदिने विषयमा समितिले निर्णय नगरेको प्रवक्ता तथा कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।
‘समितिले अहिले बीमा कम्पनीहरूलाई पूँजी वृद्धिको योजना ल्याउ भनेको हो,’ उनले भने, ‘हकप्रद वा एफपीओ जारी गर्ने विषयमा केही भएको छैन । कम्पनीहरूले पेश गर्ने योजनाका आधारमा मोडल तय गरिनेछ ।’
समितिले पूँजी वृद्धिका लागि मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिएको छ । बीमा कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन र मर्जर गरेर संख्या घटाउन समितिले यस्तो निर्णय गरेको पैडेलले बताए ।
नेपाल लाइफले पूँजी वृद्धि गर्न नपर्ने
हाल संचालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स बाहेक सबैले चुक्ता पूँजी बढाउनुपर्ने भएको छ । नेपाल लाइफको चुक्ता पूँजी अहिले नै समितिले तोकेभन्दा बढी भएकाले वृद्धि गर्न नपर्ने भएको छ ।
हाल नेपाल लाइफको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ छ । जुन समितिले तोकेभन्दा सवा ३ अर्ब बढी अर्थात् वाणिज्य बैंकको सरह हो । नेपाल लाइफ बाहेक अरु सबै कम्पनीहरूले चुक्ता पूँजी वृद्धि गर्नु पर्ने भएको छ ।
कुन कम्पनीले कति पूँजी थप्नुपर्छ ?
नेपाल लाइफ बाहेक बाँकी १८ वटै जीवन बीमा कम्पनीहरूले चुक्ता पूँजी वृद्धि गर्नुपर्ने छ । नेप्सेमा सूचीकृत १२ जीवन कम्पनी (नेपाल लाइफसहित)हरूको चुक्ता पूँजी २ अर्ब बढी रहेको छ भने सूचीकृत नयभएका अरु ७ कम्पनीको २ अर्ब बढी छ ।

३ वर्षअघि संचालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरूको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ मात्र छ । नयाँ जीवन बीमा कम्पनीहरू आइपीओ जारी २ अर्ब पूँजी पुर्याउने प्रक्रियामा थिए । अब यी कम्पनीहरूले पूँजी वृद्धि तथा सेयर अनुपात (संस्थापक र सर्वसाधरण) मिलाउन दोब्बर बढी आइपीओ जारी गर्नु पर्ने भएको छ ।
नेपाल लाइफ बाहेक नेशनल लाइफ इन्स्योरेन्सको मात्र चुक्ता पूँजी ४ अर्ब छ । यो बाहेक अरु सबै कम्पनीको चुक्ता पूँजी ३ अर्बभन्दा कम छ । १० वटा जीवन बीमा कम्पनीको चुक्ता पूँजीको २ देखि ३ अर्बको बीचमा छ भने ७ अम्पनीको २ अर्बभन्दा कम छ ।
हाल कायम भएको चुक्ता पूँजीका आधारमा १ अर्बदेखि ४ अर्बसम्म पूँजी थप्नुपर्ने भएको छ । सबैभन्दा धेरै पूँजी वृद्धि सरकारी स्वामित्वको जीवन राष्ट्रिय बीमा संस्थानले गर्नुपर्नेछ । हाल ९९ करोड ५३ लाख चुक्ता पूँजी रहेको रहेको यस कम्पनीले थप ४ अर्ब वृद्धि गर्नुपर्नेछ ।
यसैगरी, महालक्ष्मी, आइएमई लाइफ, रिलायबल र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी हाल १ अर्ब ४० करोड रहेको छ । यी कम्पनीहरूले साधारण सेयर समेत जारी गरेका छैनन् । कम्पनीहरूले अब ३ अर्ब ६० करोड रुपैयाँ पूँजी बढाउनुपर्ने छ ।
यसैगरी, सिटिजनले ३ अर्ब २५ करोड रुपैयाँ पूँजी बढाउनु पर्ने भएको छ । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन २ अर्ब ३५ करोड, एसियन लाइफ इन्स्योरन्सले २ अर्ब ४९ करोड, प्राइम २ अर्ब २३ करोड, सूर्य लाइफ २ अर्ब ४५ करोड, गुँरास ३ अर्ब ८५ करोड, सानिमा ३ अर्ब, ज्योति २ अर्ब ५८ करोड, प्रभु लाइफ ३ अर्ब र रिलायन्स लाइफ यन्स्योरेन्सले २ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गनुपर्ने छ ।