काठमाडौं । इमर्जिङ नेपालको सेयर मूल्यमा लगातार १० औं दिन पोजेटिभ सर्किट लागेको छ । फागुन २२ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढ्दै आएको हो ।
२८७.१० रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ११ कारोबार दिनमै झन्डै साढे गुणाले बढेर ६२८ रुपैयाँ पुगेको छ । ११ दिनमै इमर्जिङको सेयर भाउ प्रतिकित्ता ३४१ रुपैयाँ बढेको छ ।
कारोबारमा आएको दुई सातामा पनि कम्पनीको सेयर आपूर्ति अत्यन्त न्यून रहेको छ । ११ कारोबार दिनमा कम्पनीको करिब साढे ३ हजार कित्ता सेयर मात्र कारोबारमा आएको छ ।
कम्पनीमा सर्वसाधरणको हिस्सा न्यून भएकाले पनि सेयरको सप्लाइ आउन नसकेको हो । साथै, कम्पनीको सेयरको माग अत्यधिक हुँदा आगामी दिनमा मूल्य अझै बढ्ने आशमा लगानीकर्ताले विक्रीमा ल्याएका छैनन् ।
नेप्सेमा कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत छ । जसमा सर्वसाधरणको ५ लाख ५५ हजार ६०० कित्ता र संस्थापकको ५० लाख ४० कित्ता रहेको छ ।