काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले चैत १६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्रीमा ल्याउने भएको हो ।
निष्काशन हुने कुल सेयरमध्ये ४ प्रतिशत (७३ हजार ११९ कित्ता) कम्पनीका कर्मचारीहरु र ५ प्रतिशत (९१ हजार ३९८ कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउँछन् ।
कम्पनीको आइपीओमा चैत २१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री हुन नसकेमा ढिलोमा चैत ३० गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि पहिलो चरणमा माघ २७ देखि आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक बासीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १८ करोड २७ लाख रुपैयाँ ९७ हजार ७०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर डबल बी’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।
कम्पनीले हाल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको बलेफी खोलामा ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड रुपैयाँ हुने कम्पनीले जनाएको छ ।