काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव र ब्याजदर वृद्धिको प्रत्यक्ष मार व्यापार, व्यवसायदेखि समग्र अर्थतन्त्रमा परेको छ । कोरोना महामारीले सिथिल बनेको उद्योग, व्यवसाय र अर्थतन्त्र तंग्रिनुको साटो तरलता अभाव र ब्याजदर वृद्धिले झन् संकटमा परेको हो ।
तरलता अभावले बैंकबाट ऋण नपाउँदा उद्योग, व्यापार व्यवसाय संचालन गर्न कठिन भएको व्यवसायीहरू बताउन थालेका छन् । त्यस्तै, नयाँ उद्योग संचालनको तयारीमा रहेकाहरू पनि प्रभावित भएका छन् । एकातिर बैंकबाट ऋण नपाउने अवस्था छ भने अर्कोतिर पाइहाले पनि ब्याजदर महँगो छ ।
कोरोनाबाट शिथिल अर्थतन्त्र तंग्रिन सहजै पूँजी परिचालन गर्नसक्ने अवस्था हुनुपर्नेमा अहिले पूँजीनै जुटाउन नसक्ने अवस्था छ । पूँजी अभाव हुँदा समग्र व्यापार, व्यवसाय सुस्ताउँदै गएका छन् ।
अर्थतन्त्र पुनरुत्थानका लागि सहजै ऋण पाउनु पर्ने अवस्था सृजना गर्नुपर्नेमा राष्ट्र बैंकले उल्टो ऋणै नपाउने र पाए पनि महँगो ब्याज तिर्नुपर्ने अवस्था सृजना गरेको व्यवसायीहरू बताउँछन् । राष्ट्र बैंकको अस्थिर र अदूरदर्शी नीतिका कारण अर्थतन्त्र चलायमान हुनुको साटो संकुचनको बाटोमा गएको उनीहरूको भनाइ छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा भएको इन्धन र कच्चा पदार्थको मूल्यवृद्धि सम्पूर्ण उपभोग्य वस्तुको लागत बढेको छ । जसले आमसर्वसाधरणको भान्सासम्म प्रत्यक्ष असर पारिरहेको छ । अर्थतन्त्रका अधिकांश सूचक नकरात्मक दिशाउन्मुम रहेका छन् । व्यापार घाटा बढ्दो छ । विदेशी मुद्रा संचिति, रेमिट्यान्स घट्दो छ, महँगी बढ्दो छ । यसले समग्र अर्थतन्त्र अर्थतन्त्रलाई ओरालो दिशामा धकेलिरहेको छ ।
‘व्यवसायी निराश , अर्थतन्त्र संकूचनतर्फ’
सहज रुपमा उद्योग, व्यापार, व्यवसाय संचालन गर्ने अवस्था नहुँदा क्रमशः आर्थिक गतिविधमा संकुचन आइरहेको छ । व्यापारीहरुले ऋण नपाउँदा अर्डर गरेको सामान ल्याउन पाएका छैनन् भने नयाँ उद्योग विस्तारमा ब्रेक लागेको छ ।
ऋण लिएर व्यवसाय संचालन गरिरहेकाहरु ब्याजदर वृद्धिले तनावमा परेका छन् । उद्योगधन्दा सुस्ताउँदा क्रमशः वेरोजगारी बढ्दै जाने देखिएको छ भने राज्यले पाउने राजस्व पनि घट्दै गएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ तरलता अभाव र बढ्दो ब्याजदरले अर्थतन्त्रलाई संकूचनतर्फ धकेलिइरहेको बताउँछन् । ‘ब्याजदर वृद्धि र सहज व्यवसाय गर्ने वातावरण नहुँदा सबै व्यवसायीहरू निराश छन,’ उनी भन्छन्, ‘यसले व्यवसाय र अर्थतन्त्रलाई संकूचनतर्फ लगिरहेको छ ।’
बैंकले ऋण नदिने र ब्याजदर मात्र वृद्धि हुने अवस्थाले सबै क्षेत्रका व्यवसायी समस्यामा परेको उनले बताए । बाह्य क्षेत्र व्यवस्थापनमा आएको समस्याले समग्र अर्थतन्त्र अस्तव्यस्त बनाएको उनको भनाइ छ ।
सावर्जनिक यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बैंकबाट ऋण नपाउँदा बुक गरेको सवारी समेत खरिद गर्नसक्ने अवस्था नरहेको बताए । ‘बुक गरेका सवारीसाधनहरू पनि बैंकले ऋण नदिँदा ल्याउन सकिएको छैन् । ब्याजदर वृृद्धिको दोहोरो मारमा व्यसायीहरू परेका छन,’ उनले भने ।
पर्यटन व्यवसायी ब्याज तिर्नै नसक्ने अवस्थामा
कोरोना महामारीबाट थला परेको पर्यटन क्षेत्र अहिले पनि पूर्ण लयमा पर्किन सकेको छैन् । करिब दुई वर्षदेखि ठप्प बनेको विदेशी पर्यटन आगमन अहिले पनि उही अवस्थामा छ । विदेशी पर्यटको आवतजावत नहुँदा आर्थिक क्षेत्रका लागि महत्वपूर्ण मानिएको पर्यटन क्षेत्र र व्यवसाय नै विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
नेपाल एशोसियशन अफ ट्राभल एण्ड टूरका अध्यक्ष अच्युत शर्मा गुरागाई नराम्रोसँग थलापरेको पर्यटन क्षेत्रका व्यवसायीहरूले बैंकको ब्याज तिर्न नसकेर सुसाइड गर्लान भन्ने चिन्ता भइसकेको बताउँछन् ।
‘आर्थिक स्थिति श्रीलंकाको जस्तो हुन्छ कि भन्ने त्रास भइरहेको छ । बैंकहरूले रातारात ब्याज बढाइरहेका छन्,’ उनले भने, ‘पर्यटन क्षेत्रका व्यवसायीहरूले बैंकको ब्याज तिर्न नसकेर सुसाइड गर्लान भन्ने चिन्ता भइसकेको छ ।’
पेनिक रहेका व्यवसायीहरूलाई नियामकले ब्याजदरलाई नियन्त्रणमा राखेर राहत दिनुपर्ने उनको भनाइ छ । सहज ऋण नपाउने र चर्को ब्याजदर तिर्नुपर्ने अवस्थाले पर्यटन क्षेत्र झनै धरासायी र व्यवसायीहरू विस्थापित भइसकेको उनले बताए ।
महामारीले दुखाइरहेको घाउ निको नहुँदै अर्थतन्त्रमा आएका उतारचढावले पर्यटन व्यवसायलाइ धरासयी र अनिश्चित अवस्थातर्फ धकेलेको उनको भनाइ छ ।
आर्थिक गतिविधि सुस्ताउँदै गएपछि होटल व्यवसाय पनि ओरालोलाग्न थालेको व्यवसायीहरू बताउँछन् । नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुले होटल व्यवसाय केही समय यता पूर्णरुपमा डाउन हुन थालेको बताउँछन् ।
‘मानिसहरूको आर्थिकस्थिति कमजोर बनेपछि खर्चगर्ने बानीमा कमी आएको छ, त्यसले गर्दा होटलको व्यापार घट्दो छ,’ उनले भने, ‘एकातिर तंग्रिन लागेको व्यापार सस्ताउन थालेको छ, अर्कोतिर बैंकको ब्याजदर वृद्धिले बैंकको ऋण तिर्नसक्ने अवस्था छैन्, व्यवसाय धान्न सक्ने अवस्था छैन ।’
मूल्य वृद्धिको मारमा कृषक
नेपालमा बहुसंख्यक मानिस कृषिमा निर्भर छन् । राज्यले व्यवसायिक र वैज्ञानिक खेती प्रणाली विकास गर्न नसक्दा कृषि पेशा निर्वाहमुखी पेशा मात्रै बन्दै आएको छ । कृषकले सहजै मल, उन्नत जातको बीउ, कृषि औजार नपाउँदा उत्पादकत्व बढ्न सकेको छैन ।
व्यवसायिक कृषि गर्छु भन्नेले पनि सहजै ऋण पाउने अवस्था छैन । झन्झटिलो प्रक्रियाले सामान्य कृषकले ऋण पाउन सक्दैनन । सरकारले कृषिका लागि अनुदान त दिएको छ तर, त्यो वास्तविक कृषकभन्दा पहुँच वालाले मात्रै उपभोग गर्दै आएका छन् ।
पछिल्लो समय भएको ब्याजदर वृद्धि र महँगीले कृषक झनै मारमा परेका छन् । खाद्यका लागि कृषि अभियाका अध्यक्ष उद्धव अधिकारी ब्याजदर बढ्दा कृषकको लागतमा वृद्धि भएर महंगीको मारमा उनीहरूनै पर्ने गरेको बताउँछन् ।
‘जो वास्तविक किसान हुन उनीहरूलाई बैंकले सहज रुपमा ऋण नै दिँदैन्’ उनी भन्छन्, ‘त्यसबाट ऋण लिएकाहरू पनि ब्याजदर वृद्धिको मारमा परेका छन, उतपादन लागतमा भएको वृद्धिले थप महंगाइमा कृषक नै पर्छन् ।’ किसान आफैमा उपभोक्ता समेत भएकाले यसको प्रत्यक्ष समस्या कृषकहरूलाई नै पर्ने उनले बताए ।