भारतले फेरि पठायो इन्धनको भाउ बढेको पत्र, केमा कति बढ्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसीे) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

 

आइओसीले निगमलाई आज (चैत २ गते)पेट्रोलियम पदार्थको मूल्य बढेको पत्र पठाएको हो । निगमलाई बुधबार आइओसीबाट प्राप्त नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा १६.३७ रुपैयाँ, डिजेलमा २४.५० रुपैयाँ र हवाई इन्धन १९.९० रुपैयाँ बढेर आएको छ ।

 

आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२.८१ रुपैयाँ, डिजेल प्रतिलिटर १६९.४४ रुपैयाँ, मट्टितेल प्रतिलिटर ११३.४९ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१.९४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय) प्रतिलिटर ११४.५१ रुपैयाँ र एलपी ग्यास प्रतिसिलिण्डर २ हजार २४०.३४ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

 

आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ ।

 

पेट्रोलियम पदार्थको विक्रीबाट चैत महिनामा मात्रै १० अर्ब ६१ करोड रुपैयाँ नोक्सानी हुने निगमको प्रक्षेपण छ । निमगलाई मार्च १६ देखि ३१ सम्म पेट्रोलियम विक्रीबाट ५ अर्ब ३० करोड ९८ लाख घाटा हुने बताइएको छ ।

 

सो अवधिमा पेट्रोलको विक्रीबाट १ अर्ब ७ करोड ९८ लाख, डिजेलको विक्रीबाट ३ अर्ब १६ करोड ७२ लाख र एलपी ग्यासको विक्रीबाट १ अर्ब २६ करोड ३७ लाख नोक्सानी हुने अनुमान गरिएको निगमले जनाएको छ ।

 

आइओसीबाट मूल्य बढेर आए पनि तत्काल नेपालमा मूल्य बढ्ने नबढ्ने निगमले खुलाएको छैन। यद्यपि, घाटाको थेगिनसक्नु भएकाले भाउ बढाउनै पर्ने बाध्यता रहेको निगमका अधिकारीहरु बताउँछन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट Read Previous

सेयर बजारमा दोहोरो अंकको गिरावट

नेपाल लाइफको 'अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता Read Next

नेपाल लाइफको 'अनमोल जीवन’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता