काठमाडौं । नेपाल राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले चालु आर्थिक वर्ष २०७८/७९को दोस्रो त्रैमासमा निर्देशन नमान्ने १४ वाणिज्य बैंकहरुलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा सरकारी र निजी दुवै क्षेत्रका बैंकहरु रहेका छन् । राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सेञ्चुरी बैंक छन् ।
कारबाहीम पर्ने बैंकहरुमध्ये प्रभुलाई नगद जरिवाना तिराएको छ भने अन्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ)लाई सचेत गराएको छ । राष्ट्र बैंकले प्रभु बैंकलाई अनिवार्य नगद मौज्दात तथा वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै कारबाही गरेको हो । प्रभुलाई राष्ट्र बैंकले १ लाख ८० हजार ४३० रुपैयाँ जरिवाना समेत तिराएको छ ।
त्यस्तै, नेपाल बैंकलाई बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको भन्दै आगामी दिनमा त्यस्तो त्रुटी नदोहोर्याउन बैंकका सीईओलाई सचेत गराएको छ । साथै, नेपाल बैंकले एटलस इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनीको खाता रोक्का राख्न दिइएको निर्देशन पालना नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।
त्यसैगरी, राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक र सेन्चुरी बैंकले पनि बोलकबोलका आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेको भन्दै ती बैंकका सीईओहरुलाई सचेत गराएको छ ।
त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड र एनएमबी बैंकलाई कुल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।