सञ्चालनमा आयो सर्लाहीको नवलपुर सबस्टेशन

काठमाडौं । सर्लाहीमा स्थापना हुने नयाँ उद्योगका लागि तथा स्थानीयस्तरमा  सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको नवलपुर सबस्टेशन सञ्चालनमा आएको छ ।

 

सहज विद्युत् आपूर्तिका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै आएको सरकारले  मधेश प्रदेशमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ । सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा  सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी क्षमताको सबस्टेशन आजदेखि सञ्चालनमा ल्याइएको हो ।

 

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा व्यवस्थित बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेशन आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेको प्राधिकरणले जनाएको छ ।

 

उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभई खाना पकाउन, सिँचाइ गर्न, उद्योग तथा कलकारखाना चलाउनका लागि प्रयोग गर्ने विद्युत्को खपत बढाउन आग्रह गरिन् । तराई तथा मधेश क्षेत्रमा सिँचाइमा विद्युत् खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइका लागि विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरण विस्थापन गर्न आग्रह गरिन् ।

 

‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युत् प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, बाँझो खेत नराखौँ,’ उनले भने, ‘विद्युतीय ऊर्जा प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ लागौँ ।’

 

मन्त्री भुसालले सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति भई औद्योगीकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन्।

 

सर्लाहीका सङ्घीय सांसद प्रमोदकुमार साहले सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् पाउन थालेको बताए। उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे ।

 

ऊर्जा सचिव देवेन्द्र कार्कीले सर्लाहीबाट बत्ती जाने धेरै गुनासो आउने गरेकामा अब त्यस्ता समस्या समाधान भएको जानकारी दिए । सरकारले महसुल घटाएकाले विद्युत् चोरी गरी सिँचाइ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले चोरी नियन्त्रणमा सहयोग गर्न सवैलाई आग्रह गरे ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत् आपूर्ति सुधार गर्न अहिले सवैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै त्यसवाट आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानीलगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिइएको बताए ।

 

विद्युतीकरणका लागि बजेट अभाव नहुने स्पष्ट पार्दै उनले सबैलाई विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाए । मधेश प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

 

सबस्टेसनमा विद्युत् आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत् आपूर्ति भरपर्दो हुनाका साथै  चुहावट पनि घटेको छ । यसअघि सर्लाहीमा ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत् आपूर्ति भइरहेको थियो ।

 

कुल ३३ केभी लाइन धेरै लामो हुँदा चुहावट बढी हुनाका साथै विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो । नवलपुर सबस्टेशनबाट सिधै विद्युत् आपूर्ति हुन थालेपछि लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र बनेको छ । सर्लाहीमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् दिन सकिने भएको छ ।

 

पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेशनमा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेशनमा १३२/३३ केभी, ६३ एमभीए र ३३/११ केभी, १६ एमभीए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेशनमार्फत सर्लाहीका हरिपुर र मलङ्गवा ३३/११ केभी वितरण सबस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ ।

 

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६ मा सुरु गरिएको थियो । कोभिड–१९ को महामारीका कारण उपकरण ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको थियो । सबस्टेशनको निर्माणको ठेक्का पावर टेक, भारत र वाइबा इन्फ्राटेक, नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो । कार्यक्रममा सबस्टेसन आयोजनाका कर्मचारी र ठेकेदार कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

क्रिप्टोकोे अवैध कारोबार, दुई जनाले गरे पौने १० करोड हिनामिना Read Previous

क्रिप्टोकोे अवैध कारोबार, दुई जनाले गरे पौने १० करोड हिनामिना

सीजीको 'फ्री एसी सर्भिस' क्याम्प सुरू Read Next

सीजीको 'फ्री एसी सर्भिस' क्याम्प सुरू