काठमाडौं । शिखर इन्स्योरेन्सले आज (कार्यालय समय)देखि हकप्रद सेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात् १०:३ अनुपातमा हकप्रद सेयर विक्री खुला गरेको हो ।
इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्काशन गरेको हो ।
इन्स्योरेन्सको हकप्रदमा लगानीकर्ताले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, शिखर इन्स्योरेन्सको रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालय, आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरमार्फत आवेदन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद सेयरको विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ। इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँदछ ।
हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ चुक्ता पूँजी इन्स्योरेन्को हकप्रदपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।