काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघले चैतमा पनि फागुनकै ब्याजदर कायम राख्ने निर्णय गरेको हो ।
यसअनुसार अब बैंकहरुले चैतमा पनि निक्षेपको ब्याजदर ११.०३ प्रतिशत नै कायम राख्ने भएका छन् । फागुनमा निक्षेपको ब्याज बढाए पनि अपेक्षित रुपमा निक्षेप आउन नसकेको भन्दै बैंकहरुले चैतमा ब्याज नबढाएका हुन् ।
बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर घट्ने अपेक्षा गरिएको भए पनि बैंकहरुले भने यथावत राखेका हुन् । सरकारले पूँजीगत खर्च बढाउँदै लैजाँदा तरलतामा पनि केही सहता हुन थालेको हो ।