गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न विदेशीसहित ३ एयरलाइन्स इच्छुक

काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न तीन एयरलाइन्स कम्पनीले इच्छा देखाएका छन् ।

 

गौतमबुद्ध  विमानस्थलबाट एक नेपाली र दुई विदेशी एयरलाइन्स कम्पनीले उडान गर्न इच्छुक भएका हुन् । उक्त विमानस्थलबाट आगामी वैशाख १ गतेदेखि परीक्षण उडान र जेठ २ गतेदेखि व्यावसायिक उडान गर्ने तयारी छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गौतमबुद्ध विमानस्थलमा उडान गर्न नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको थाई स्माइलले चासो देखाएका छन् ।

 

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई कम्पनीहरुलाई जानकारी दिन प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तकसमेत प्रकाशन गरिसकेको बताए । साथै वेबसाइटमार्फत एरोनटिकल पब्लिकेसन इन्फर्मेसन (एआइपी) सार्वजनिक गरिएको छ ।

 

सो एआइपीकै आधारमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूले आफ्ना जहाजमार्फत भैरहवामा व्यावसायिक उडान भर्न ध्यानाकर्षण गराएका छन् । विमानस्थलको समग्र अवस्थाबारे पूर्ण जानकारी समेटेर सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख गरिएका तथ्याङ्कका आधारमा हवाई कम्पनीले आफ्नो जहाज त्यहाँ उडान तथा अवतरण गर्न सक्ने नसक्नेबारे जानकारी पाउनले अधिकारीले बताए ।

 

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार अब चाँडै गौतमबुद्ध विमानस्थलमा बोइङ तथा एयरबसका जहाजले उडान भर्ने र अवतरण गर्ने निश्चित भएको छ । उक्त तयारीअनुसार विमानस्थलले अबको कम्तीमा पनि दुई साताभित्रै नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रमाणपत्र पाउने अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडानको तयारी सुरु भएको प्राधिकरणले जनाएको छ । आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ ।

 

७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

 

देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आउन लागेको हो । नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो ।

 

सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ । त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो । विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो ।

 

रुग्ण अवस्थाबाट सम्पन्न भएको आयोजना

 

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो ।

 

पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब ५ वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउन लागेको हो ।

 

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब २२ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणले जनाएको छ ।

 

पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन ल्याइने महानिर्देशक अधिकारीले बताए । कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थल विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ ।

आयात बढाउन चिनियाँ पक्ष सहमत, अब दैनिक १४ कन्टेनर भित्रिने Read Previous

आयात बढाउन चिनियाँ पक्ष सहमत, अब दैनिक १४ कन्टेनर भित्रिने

समृद्धि फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ? Read Next

समृद्धि फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् ?