निगमको ग्राउन्डेड न्यारो बडी जहाज भाडाको इन्जिन हालेर उडाइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड भएको न्यारो बडी ए–३२० जहाजले शनिबारदेखि पुनःनियमित उडान सुरु गरेको छ ।

 

इञ्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज उडानयोग्य भएको हो । उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडानयोग्य बनाइएको हो ।

 

ग्राउण्डेड जहाजले मर्मतपछि शनिबारदेखि नियमित उडान सुरु गरेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । उनले भने, “जहाज शनिबारदेखि उडिसक्यो, यो जहाज बन्दै नबनोस्, नउडोस् र यसको विरोध गरेरै खान पाइयोस् भनेर केही मान्छे लागेका थिए मैले काम गरेर उनीहरुको मुखमा बुझो लगाइदिएको छु ।”

 

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढिकरण र बजार विस्तारमा आफू अहोरात्र लागि परेको बताए । आफ्नो मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउने दिशामा अग्रसर रहेको उनले उल्लेख गरे। अन्य काममा पनि निगमभित्रका कर्मचारीहरुको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि उनकोे जिकिर थियो ।

 

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाज निरीक्षण गर्दा बायाँतर्फको इन्जिनमा खराबी पहिचान भएको थियो ।

 

इन्जिन फेर्नुपर्ने प्राथमिक राय प्राप्त भएकाले निगम व्यवस्थापनले जहाजलाई छिटो उडानयोग्य बनाउन इन्जिन भाडामा लिएर उडाउने निर्णय गरेको थियो । इन्जिन भाडामा लिन ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको थियो ।

 

इच्छुक कम्पनीबाट बोलपत्र आह्वान गरिएकामा छनौट भएको एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसले इन्जिन भाडामा दिएर जहाज उडानयोग्य बनाएको निगमले उल्लेख गरेको छ । उक्त इन्जिन मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको छ । निगमको आन्तरराष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् ।

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल Read Previous

सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

आयात बढाउन चिनियाँ पक्ष सहमत, अब दैनिक १४ कन्टेनर भित्रिने Read Next

आयात बढाउन चिनियाँ पक्ष सहमत, अब दैनिक १४ कन्टेनर भित्रिने