निर्माण व्यवसायीको माग अनुसार कानुन संशोधन गरेका हौं, एमसीसीबाट फाइदा लिनुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायीको मागबमोजिम नै निर्माण उद्योगलाई समृद्ध बनाउन सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधन मन्त्रिपरिषद्ले पारित गरेको बताए । नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा एवं १२ औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

 

मुलुकको विकासमा निर्माण व्यवसायीले गरेको योगदानको प्रशंसा गर्दै उनले भने, “गुणस्तरीय निर्माण उद्योग निर्माणका लागि व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार छ । समस्याको नीतिगत प्रक्रियाबाट समाधान गरिन्छ ।”

 

प्रधानमन्त्री देउवाले हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबाट फाइदा लिन निर्माण व्यवसायी महासङ्घलगायत निजी क्षेत्रका सङ्घ संस्थालाई सुझाव दिए ।

 

उनले भने, “एमसिसी परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ‘ग्लोबल टेण्डर’ हुन्छ, नेपालका व्यवसायीले पनि प्रतिस्पर्धामा सहभागी हुनुहोस् । हामी सबैभन्दा बढी खुसी हुन्छौँ । ग्लोबल टेण्डर हुँदा जुनसुकै मुलुकका निर्माण व्यवसायीले प्रतिस्पर्धामा सहभागी हुन पाउने छन् । चीन, भारतलगायत अन्य मुलुकले पनि सहभागी हुन सक्नेछन् ।”

 

उनले राष्ट्र निर्माणको मेरुदण्डको रुपमा रहेको निर्माण उद्योगलाई स्वच्छ, व्यावसायिक र गुणस्तरीय बनाइनुपर्ने खाँचो औँल्याएका छन् । उनले मुलुकको दिगो विकासका लागि आधुनिक र गुणस्तरीय पूर्वाधारको निर्माण आवश्यक रहेको बताएका हुन् ।

 

प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधारको विकास एवम् विस्तारबाट मात्र देशको समृद्धि सम्भव भएको बताए । उनले भने, “भौतिक पूर्वाधारको विकास बिना मुलुकको समग्र विकास सम्भव छैन र, त्यो निर्माण व्यवसायीबाट मात्रै सम्भव छ । भौतिक निर्माणको उद्योगलाई अझ व्यावसायिक र प्रतिस्पर्धी बनाउनुस्, यसका लागि सहकार्य गर्न सरकार तत्पर छ । ”

 

प्रधानमन्त्री देउवाले निर्माण व्यवसाय मुलुकमा पूर्वाधार निर्माण तथा रोजगारी सिर्जना गर्ने अग्रणी व्यवसाय भएकाले यसमा आबद्ध व्यवसायी आफ्नो व्यवसायप्रति सदैव गम्भीर र जिम्मेवार हुन आवश्यक छ भने । उनले निर्माण व्यवसायमा स्वच्छ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्दै मुलुकमा लागत किफायती र गुणस्तरीय निर्माणलाई सुनिश्चित गर्न सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

 

मुलुकमा कृषिपछि सबैभन्दा बढी रोजगारीको अवसर सिर्जना गर्ने निर्माण क्षेत्रको स्वच्छ र प्रतिस्पर्धी विकासबाट नै मुलुकको द्रुततर आर्थिक विकास सम्भवन हुने प्रधानमन्त्रीको भनाइ छ ।

 

प्रधानमन्त्री देउवाले स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि महासङ्घलाई सुझाव दिए । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घको मुखपत्र निर्माण विशेषाङ्क विमोचन गरे । कार्यक्रममा उनले निर्माण उद्योगको विकास विस्तारमा उल्लेखनीय सहयोग पुर्याएबापत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष केशव शर्मालाई सम्मान पनि गरे ।

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा दायर Read Previous

बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा दायर

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित Read Next

नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा मलहोत्रा निर्वाचित