काठमाडौं । विश्व बजारमा तेलको मूल्य आकाशिँदै गएको छ । रुस–युक्रेन बीचको युद्ध प्रभावले तेलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
दुई देशबीच जारी युद्धको असर अन्तर्राष्ट्रिय बजारमा तेल र आपूर्ति प्रणालीमा मात्रै नभएर समग्र विश्व अर्थतन्त्रमा पर्न थालेको छ । डलर, सुन, चाँदी, र तेलकोे भाउ इतिहासकै महंगो भएको छ । विश्वको तेस्रो ठूलो तेल निर्यातकर्तादेश रुसमाथि पश्चिमा देशहरूको प्रतिबन्धले अझै अन्तर्राष्ट्रिय मूल्य वृद्धिमा अनिश्चितता थपेको छ ।
यसको असर युरोप र अमेरिकी मुलुकमा मात्रै नभएर भारत हुँदै नेपाली भान्सासम्म पुगेको हो । लगातार उकालो लागिररहेको तेलको मूल्य कुन विन्दुमा रोकिने निश्चित छैन । यसले देशको समग्र अर्थतन्त्र नकारात्मक दिशाउन्मुख लैजान्छ ।
नेपाल जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा तेलको मूल्य बढ्दा महंगीको सीमा नै नरहने अवस्था सृजना भएको वाणिज्य क्षेत्रका जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय रूपमा मूल्य वृद्धिका कारण निगमले तेल आयात गनै नसक्ने अवस्थामा पुगेको नेपाल आयाल निगमका अधिकारीहरूले बताइरहेका छन् । अहिले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य हालसम्म्कै उच्च प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको छ ।
अमेरिका, जापान, बेलायत लगायतका देशहरूले नाकाबन्दी जारी राखे्र रुसले तेलको मूल्य प्रति ब्यारेल ३०० डलर पुर्याउने चेतावनी दिइरहेको छ । यी दुई देशबीचको युद्धका कारण तेलको मूल्य अझै उचाइमा पुग्ने प्रक्षेपण गरिएको छ ।
नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यय अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य यही रफ्तारमा रहे आयात गर्न नसकिने अवस्था आउनसक्ने बताउँछन् ।
‘तेलको मूल्य निकै रफ्तारमा बढेर आएको छ, भारतले एकैपटक १० देखि २० रुपैयाँका दरले प्रतिलिटर मूल्य समायोजन गरेर पठाइरहेको छ,’ उनले भने, ‘निरन्तरको मूल्य वृद्धिले नेपालमा पेट्रोलियम पदार्थको मूल्य यति पुग्छ भन्नै नसकिने अवस्था छ ।’
सरकारले अनुदान वा ऋण नदिए निगमले तेल आयात गर्न नसक्ने अवस्था आएको प्रवक्ता उपाध्यायले बताए । यही गतिले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्य वृद्धि भइरहे नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्नुका साथै कति पुग्नसक्छ भन्ने प्रक्षेपण गर्नै नसकिने उनको भनाइ छ ।
आपूर्ति प्रणालीमै सकस
पेट्रोलियम पदार्थको मूल्य बढे पनि माग भने घटेको छैन् । लगातार घाटा बेहोरिरहेको आयल निगमका लागि थप मूल्य वृद्धिले आपूर्ति चक्रमा चुनौती थपेको छ ।
भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाउने गरेको छ । जस अनुसार निगमले हरेक १५ दिनमा साढे २ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ ।
निगमले प्रतिदिन पेट्रोल, डिजेल र खाना पकाउने ग्यास १ अर्ब २३ करोड रुपैयाँ बराबरको आयात गरिरहेको छ । पेट्रोलमा प्रतिलिटर १६.२८ रुपैयाँ,डिजलमा ११.७८ रुपैयाँ र खाना पकाउने ग्यासमा निगमले प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भोगिरहेको छ । यही गतिले मूल्य वृद्धिको क्रम जारी रहे निगमले आयात गर्न नसक्ने र आपूर्ति चक्रमै समस्या आउने अधिकारीहरूले बताइरहेका छन् ।
‘सरकारले तेल आयातको लागि कि ऋण दिनुपर्यो कि अनुदान, बढ्दो मूल्य वृद्धि र निरन्तरको घाटा सहेर निगमले तेल आपूर्ति गनै नसक्ने अवस्था आउछ,’ उनी भन्छन् ।
आयल निगमले मूल्य स्थिरीकरण कोषबाट समेत १ अर्ब ८० करोड र अर्कोपटक ४ अर्ब रुपैयाँ गरेर पेट्रोलियम पदार्थ आयातका लागि पैसा लिइसकेको छ । नेपाली बजारमा पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको सरकारी संस्थान नेपाल आयाल निगमले घाटा खाएर बेचिरहेको छ ।सरकारले पेट्रोलियम पदार्थमा लगाएको कर नघटाउँदा यसको मारमा उपभोक्ता परेका छन भने निगमको ढुकुटी रित्तिएको छ ।
तेलको मूल्य वृद्धिले अर्थतन्त्र अस्तव्यस्त
आयाल निगमले पछिल्लो पटक गरेकोे मूल्य समायोजन अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर काठमाडौँ उपत्यकामा १५० रुपैयाँ पुगेको छ । यसैगरी डिजेलको मूल्य १३३ रुपैयाँ कायम गरिएको छ ।
यो अहिलेसम्मकै उच्च मूल्य हो । सरकारले विभिन्न शिर्षकमा करिब पेट्रोलियम पदार्थमा प्रतिलिटर करिब ६० रुपैयाँ कर असुल्छ । जसको कारण विभिन्न प्रकारका दैनिक उपभोग्य देखि निमार्ण सामग्रिको लागत मूल्यमा वृद्धि भएको छ ।
यसको प्रत्यक्ष निसानमा भने आम उपभोक्ता परेका छन् । ढुवानी लागतमा भएको वृद्धिले जनजीविका र अर्थतन्त्र नै अस्तव्यस्त बनाएको अर्थविद्हरू बताउँछन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वार्षको मौद्रिक नीति मार्फत वार्षिक उपभोक्ता मुद्रास्फ्रीति ७ प्रतिशत कायम गर्ने लक्ष्य राखेको थियो ।
तर, चालु आवको ६ महिनामै मुद्रास्फ्रीति ५ प्रतिशतभन्दा बढी पुगिसकेको छ । आयात वृद्धिले विदेशी मुद्रा संचिति घट्दो क्रममा छ । जसकारण संकटउन्मुख अवस्थामा अर्थतन्त्र पुगेको जानकारहरू बताउँछन् ।
नेपालले सबैभन्दा धेरै आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ पहिलो स्थानमा छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु वर्षको सात महिनामा (साउन–माघ)सम्म ७२ अर्ब ९६ करोड रुपैयाँ बराबरको डिजेल आयात गरेको छ । यसैगरी, खाना पकाउने ग्यास ३४ अर्ब ६९ करोड रुपैयाँ र ३३ अर्ब ५६ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिसकेको छ ।
डलरको भाउ र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सरकारी भुक्तानी सन्तुलनमै ठूलो असर पर्ने देखिएको छ । यसको प्रत्यक्ष असर सामान ढुवानीमा पर्ने भएकाले सिधै उपभोक्ताको महंगिले ढाड सेक्ने भएको हो ।
विकल्पको खोजी
अन्तर्राष्ट्रिय स्तरमा भइरहेको तेलको चर्को मूल्य वृद्धिका बाछिटा नेपाली अर्थतन्त्रमा पनि देखिन थालेका छन् । पेट्रोलियम पदार्थको आयात विस्थापनका लागि सरकारले विकल्प खोज्नुपर्ने अर्थविद्हरूले सुझाव दिइरहेका छन् ।
प्रशारण लाइनको अभावले स्वदेशमा उत्पादन भएको विद्युत खेरगइरहेको अवस्थामा त्यसलाई पेट्रोलियम पदार्थको विकल्पको रूपमा उद्योगहरूमा प्रयोग गनुपर्ने पूर्व अर्थसचिव रामेश्वर खनाल बताउँछन् ।
‘विद्युतीय साधनहरूको प्रयोग गरेर तेलको आयात प्रतिस्थापन गर्नु अर्थतन्त्रका लागि सबैभन्दा उत्तम विकल्प हो,’ उनले भने, ‘प्रशारण लाइनको अभावमा नेपालमै उत्पादन भइरहेको विद्युत समेत खेर गइरहेको छ । सरकारले यसको प्रयोग बढाए तेल आयातमा केही गिरावट आउँछ ।’
नेपालले चालु वर्षको ६ महिनामै करिब १० खर्ब व्यापार घाटा भोगेको छ । चर्को व्यापार घाटाको समस्या समाधान गर्ने विकल्प विद्युतको प्रयोग बढाउनु भएको अर्थशास्त्रीहरूको तर्क छ ।
विद्युतीय सवारी साधनको प्रयोग बढाएर तेलको आयात कम गर्नु अर्थतन्त्रका लागि उपयुक्त हुने उनीहरूको भनाइ छ । ‘विकल्पको रूपमा विद्युतीय सवारी साधनका साथै विभिन्न उपकरणको प्रयोग गरेर तेलको आयात घटाउन सकिन्छ,’ निगमका प्रवक्ता उपाध्ययले भने ।