काठमाडौं । हरेक मान्छेले सानो हुँदा म ठूलो भएर यस्तो बन्छु, यस्तो गर्छु भनेर सपना देखेको हुन्छन् । कतिले आफ्नो सपना पूरा गर्छन् भने कतिका अधुरै रहन्छन् । आफ्नो मेहनत, लगाब र संघर्षबाट सफलता हात पार्छन् ।
नेपाल जस्तो पुरुषप्रधान समाजमा पुरुषलाई आफ्नो लक्ष्य हासिल गर्न जति सजिलो छ महिलाको हकमा त्यति सजिलो छैन । वर्षौंदेखि कायम संकुचित सोच र संस्कारले महिलालाई साँघुरो घेरामा मात्र सीमित राख्दै आएको छ । यद्यपि, पछिल्लो समय भने सीमित घेरो तोड्दै महिलाहरु अघि बढेको उदाहरण पनि छन् ।
हाम्रो समाजले महिलालाई पुरुषले गर्न सक्ने काम गर्न सक्दैनन् भन्ने गलत भाष्य र मान्यता स्थापित गरिदिएको छ । पुरुषले गर्नसक्ने, पुग्न सक्ने काम ठाउँमा महिला पुग्न सक्दैनन्, काम गर्न सक्दैनन् भन्ने गलत सोचाइ र बुझाइ कायमै छ । कुनै पनि काम क्षमताले होइन लिङगका आधारमा मात्र गर्न सक्छन् भन्ने भ्रम कायमै छ ।
यद्यपि, पछिल्लो केही दशक यता समाजका हरेक क्षेत्रमा महिलाको सहभागिता र क्षमता प्रकट हुँदै गएको छ । पुरुषले गर्न सक्ने सबै काम महिलाले पनि गर्न सक्छन् भन्ने कुरा महिलाहरुले काम गरेरै प्रमाणित गर्दै गएका छन् ।
घर, समाज, राजनीति, व्यापार, व्यवसाय, अध्ययन अनुसन्धान लगायत हरेक क्षेत्रमा महिलाले आफ्नो क्षमता देखाउँदै सफलता हात पार्दै पनि गएका छन् । यसले केही हदसम्म पुरुषप्रधान समाजलाई कामद्धारा नै जवाफ पर्काएको छ ।
![]()
पुरुषले गर्नसक्ने काम आफू पनि गर्नसक्छु भन्ने आँट र हिम्मत भएकी महिला हुन् झापा, दमककी रेजिना बस्नेत । हेर्दा सामान्य लागे पनि उनले अहिले अगाँलेको काम गर्न ठूलै चुनौती सामना गर्नुपर्छ ।
रेजिना साझा यातायातको पहिलो महिला सहचालक हुन् । बस्नेतलेसाझा यातायाताको सहचालकको रूपमा काम सुरू गरेको चार वर्ष पूरा भएको छ । उनी प्रायःजसो लगनखेल, सुन्धारा, लाजिम्पाट,महाराजगज रुटको बसमा काम गर्छिन् भने कम्पनीको तालिका अनुसार अन्य रुटमा पनि जान्छिन् ।
‘अहिले पनि सार्वजनिक यातायातमा झन्डै शतप्रतिशत पुरुष सहचालक रहेका छन् । एक त महिलालाई यो काम गर्न धेरै सामाजिक, शारीरिक चुनौती छन्, त्यसपछि पनि काम पाउन र विश्वास जित्न धेरै गाह्रो छ’ उनी भन्छिन् ।
मानविकी संकायमा १२ कक्षा सम्म पढेकी उनी आफ्नो काममा गर्व गर्छिन । २०७४ सालमा काठमाडौंको यात्रा तय भएसँगै र काठमाडौंमा कुनै काम नगरी बस्न नसक्ने अवस्था नभएकोले ज्वेलरी पसलबाट आफ्नो रोजगारी यात्रा सुरू गरेकी २८ वर्षिय बस्नेतले आफ्नो दोस्रो कामको रूपमा साझा यातायातमा सहचालकबाट सुरू गरिन् ।
‘मैलै काठमाडौं आएपछि सुरूआतमा ज्वेलरी पसलबाट आफ्नो रोजगारी सुरू गरेको थिएँ, त्यसको ६ महिनामै साझामा काम सुरू गरेको हुँ, केटा मान्छेले गर्ने हरेक काम केटीले गर्न सक्छन् भन्ने सानैबाट लाग्थ्यो त्यसले पनी मलाई गाडीमा काम गर्न सहज भयो,’ उनी भन्छिन् ।
सहचालक बन्ने सानोदेखिको लक्ष्य नभए पनि आफू पनि यो काम गर्नसक्छु भन्ने लागेर यस क्षेत्रमा लागेको उनको भनाइ छ ।‘सानैदेखि ठूलो भएर यस्तो बन्छु भन्ने त थिएन् तर छोरा मान्छेले गर्ने हरेक काम छोरी मान्छेले गर्न सक्छन् भन्ने लाग्थ्यो ,त्यसले गर्दा पनि साझा यातायातको सहचालक बन्न मलाई प्रेरीत गर्यो’ बस्नेत भन्छिन् ।
आम सोचाइ जस्तै यस क्षेत्रमा धेरै दुव्र्यवहार हुने उनको अनुभव छ ‘अफिस तथा कर्मचारीले कहिल्यै नराम्रो गर्नुहुन्न । तर कतिपय अवस्थामा र कामको सुरूआतमा यात्रुबाटै दुव्र्यवहार हुन्छ, सुरूआतमा ट्याकल गर्न गाह्र्रो हुन्थ्यो पछि विस्तारै आफै सजग भइयो, अहिले त्यस्तो छैन,’ उनी भन्छिन् ।
लामो समय आफन्तलाई थाहा दिइनन्
नेपाली समाजमा अहिले पनि केटा र केटीले गर्ने काम भनेर छुट्याइन्छ, विभेद गरिन्छ । छोरी भएकै कारण गरेका कामलाई राम्रो मानिँदैन । त्यसैले त चार वर्ष अघि साझा यातायातमा सहचालकको काम सुरू गरेकी रेजीनालाई हेर्ने दृष्टिकोण फरक थियो । जसले गर्दा उनले आफूले सहचालकको काम गरेको लामो समयसम्म आफ्ना आफन्तलाई भन्न सकिनन् ।
‘एक त हाम्रो समाजमा गाडी लाइनको कामलाई नराम्रो नजरले हेर्न चलन अझै छ । त्यसमा पनि यो छोरा मान्छले गर्ने काम हो भन्ने मान्यत छ । छोरीले गर्न सक्दैनन्, गर्दैनन् भन्ने सोच अहिले पनि छ,’ उनी भन्छिन्, ‘ काम सुरू गरेको २ वर्षसम्म मैले आफन्तलाई भन्न सकिँन, विस्तारै सबैलाई थाहा भयो, सुरूआतमा राम्रो भन्नु भएन, पछि विस्तारै बानी भयो, अहिले मलाई म सहचालकको रूपमा काम गर्छु भन्न कुनै अफ्ठेरो लाग्दैन, म यो काम गर्छु भनेर ढुक्क साथ भन्छु ।’
सुरूआतमा घर, परिवा र आफन्तले उनको कामलाई राम्रो नमाने पनि उनका श्रीमानले ठूलो सहयोग गरेको उनी बताउँछिन् ‘आफ्ना आफन्तले मेरो कामलाई राम्रो नमाने पनि श्रीमानले मेरो कामलाई सर्पोट गर्नुभयो, जसले गर्दा अघि बढ्न सहज भयो, काम सानो ठूलो हुन्न, तर इमानदार भएर गर्नुपर्छ भन्ने श्रीमानको सोचाइले पनि हौसला मिल्यो , पछि विस्तारै सबैलाई बानी भयो, अहिले त्यस्तो हुन्न,’ बस्नेत भन्छिन् ।
काम र कमाइप्रति सन्तुष्ट
४ वर्षदेखि सहचालकको काम गर्दै आएकी रेजिना यस पेसाले आफूलाई सन्तुष्टि दिएको बताउँछिन् । ‘आजभोलि १० ÷ १२ हजार रुपैयाँको काम पाउँन मुस्किल छ, पाए पनि समयमा पैसा नपाईने, पूरै महिना काम गर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘साझामा १८ दिन काम गरेर महिनाभरको तलब पाइन्छ । म मेरो काम र कमाईप्रति सन्तुष्ट छु, मैले यो काम छाडेर अरू काम गर्ने सोचेको छैन ।’
साझाको पहिलो सहचालकले दिलाएको खुसी
आफू साझा यातायातको पहिलो महिला सहचालकको रूपमा चिनिन पाउँदा खुसी र गर्व लागेको बताउँछिन् रेजिना । ‘साझा यातायातको पहिलो सहचालक भनेर चिनिन पाउँदा खुसी लाग्छ, साझा कै कारण गत आइतबार मात्र पहिलो सहचाकको नाममा नगद सहित सम्मानीत भए, यहाँभन्दा ठूलो खुसी के हुनु, आफूले गरेको कामले सफलता पाउँदा खुसी लाग्छ,’ रेजिना भन्छिन् ।
कुनै काम सानो ठूलो हुँदैन
हाम्रो जस्तो समाजमा महिलाहरु आर्थिका अवस्थाका कारण पनि धेरै अममानित र पीडित हुनु परेको देखिन्छ । आर्थिक रूपमा सम्पन्न र आफ्नै खुट्टामा उभिएका महिलाहरु अन्यको तुलनामा कम अन्यायमा परेका छन् ।
आर्थिक रूपमा सक्षम बने कसैको सामु झुक्न नपर्ने रेजिनाको अनुभव र बुझाइ छ । काम सानो ठूलो नमानी गरे सफलता हात पर्ने र सक्षम बन्न सकिने उनी बताउँछिन् ।
‘आफू आर्थिक रूपमा सक्षम बन्न सके घरपरिवारदेखि समाजलेसम्म हेप्न सक्दैन, आफ्नो लागि आफूले कमाउनु पर्छ । अरूको भरमा बाँच्नु हुँदैन,’ उनी भन्छिन्, ‘सम्पूर्ण दिदीबहिनीलाई मेरो आग्रह छ, इमानदार भएर काम गर्नुपर्छ । कुनै काम सानो ठूलो हुँदैन, सानो त हाम्रो सोचाइ हो ।’