काठमाडौं । नबिल बैंकले क्रेडिट कार्ड अन्तर्गत नबिल एफडी कार्ड (नबिल फिक्सड डिपोजिट कार्ड) योजना सुरू गरेको छ । जस अन्तर्गत बैंकका मुद्दती निक्षेप (फिक्सड् डिपोजिट) ग्राहकहरूलाई क्रेडिट कार्ड सुविधा प्रदान हुनेछ ।
नबिल एफडी कार्ड नबिल बैंकमा मुद्दती निक्षेप खाता भएका सामान्यतया वित्तीय अनुशासन भएका तर नियमित आम्दानी नह्ने गृहिणी, अवकाश प्राप्त व्यक्ति र विश्वविद्यालयका विद्यार्थीलाई वित्तीय सेवा प्रदान गर्नका लागि सुरू गरिएको हो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकले मार्च २०२२ मा कार्डका लागि आवेदन गर्ने ग्राहकहरूका लागि निःशुल्क नबिल एफडी कार्ड प्रदान गर्दैछ । प्रयोगकर्ताले यो कार्ड पीओएस वा एटीएममा आफ्नो सहजता अनुसार प्रयोग गर्न सक्नेछन् । यसका साथै समान मासिक किस्तामा साइकल, गहना, मोबाइल फोन र ल्यापटप जस्ता वस्तुहरू खरीद गर्नका लागि समेत कार्डको प्रयोग गर्न सकिनेछ ।
नबिल एफडी कार्ड योजनाले मुद्दती निक्षेप खातावाल/ग्राहकहरूलाई आफ्ना नजिकका परिवारका सदस्यहरूका लागि समेत एकभन्दा बढी क्रेडिट कार्ड प्राप्त गर्न मिल्ने विकल्प/सुविधा प्रदान गरेको छ । यस योजना अन्तर्गत २ लाख रुपैयाँ प्रतिकार्ड सीमा तोकिएको र मुद्दती निक्षेपको ८० प्रतिशत सम्म कार्ड सीमा प्राप्त गर्न सकिनेछ ।
यो मुद्दती निक्षेप (फिक्सड डिपोजिट) र क्रेडिट कार्डको अद्भूत विषेशता सहितको सुविधा रहेको र यसमा ग्राहकले आफूले चाहेको वस्तुको मजा लिंदै मुद्दती निक्षेपमा ११.०३ प्रतिशतका दरले लोभलाग्दो ब्याज समेत आर्जन गर्न सक्नेछन् । यस्ता किसिमको योजनाले ग्राहकलाई अझ राम्रो वित्तीय निर्णय लिन सक्षम बनाउनेछ भन्ने नबिल बैंकले विश्वास लिएको छ ।