अस्थिर नीतिको कारण मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न सकेन : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो र स्थिर नीतिको अभावमा मुलुक औद्योगिक विकासतर्फ अगाडि बढ्न नसकेको बताएका छन् ।

 

शनिबार सिदार्थ उद्योग वाणिज्य संघको ६३औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले नयाँ नीति तथा कानुन बनाउँदा सम्बन्धित सरोकारवालाहरूसँग गहन छलफल गर्न आवश्यक रहेको बताए ।

 

‘मुलुकमा औद्योगिक विकास तथा आन्तरिक रोजगारी सृजनाका लागि दिगो र स्थिर नीति जरुरी हुन्छ । हामीकहाँ छोटो छोटो समयमा नीतिहरू परिवर्तन भइरहँदा दिगो औद्योगिक विकासको सट्टामा छोटो समयमा नाफा हुने खालका ट्रेडिङ व्यवसायमा व्यवसायीहरू लाग्ने गरेको देखिन्छ । यसले राज्य र व्यवसायी दुवैका लागि फाइदा पुगेको छैन,’ उनले भने ।

 

अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको उनले बताए । ‘अहिले सरसर्ति हेर्ने हो भने कुनै पनि व्यवसायमा नीतिगत स्थिरताको अभाव रहेको देखिन्छ । यसले गर्दा धेरै व्यवसायी साथीहरू आतंकित भएको जस्तो पनि देखिन्छ । केही समय पहिले नेपाल उद्योग वाणिज्य महासंघले अर्थशास्त्रीहरूलाई राखेर एउटा छलफल कार्यक्रम गरेको थियो । त्यहाँ यो अस्थिर नीतिको कारण अर्थतन्त्रमा विभिन्न समस्या देखिएको कुरा आएका थिए,’ उनले भने ।

 

‘अहिले बजारमा देखिएको तरलताको अभाव भनौं वा आर्थिक गतिविधिमा देखिएका मन्दिहरू सबै अस्थिर नीतिसँग जोडिएका छन्, उनले भने, यसले आम व्यवसायीलाई भय र त्रासको वातावरण बनाएको छ ।’

 

सरकारी राजस्व संकलनमा निजी क्षेत्रको ठूलो भूमिका रहेका बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले नयाँ नीतिको प्रभावकारी कार्यान्वयनका लागि पनि नीति निर्माणमा निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालाहरूसँग छलफल गर्नुपर्ने बताए ।

 

‘सरकारी राजस्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ । कतिपय नीतिहरू सम्बन्धित सरोकारवालाहरूसँग छलफल नै नगरी आउने गरेकाले यसले आम पब्लिकलाई पनि फाइदा पुगेको देखिँदैन, व्यवसायीहरूको पनि अपनत्व हुदैन र सरकारले पनि चाहेजस्तो प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसकेको अवस्था रहेको छ,’ उनले भने ।

 

त्यसैले नयाँ बन्ने नीतिको दिगोपन तथा स्थिरताका लागि पनि निजी क्षेत्र र सम्बन्धित सरोकारवालहरूसँग गहन छलफल गर्नुपर्ने उनले बताए ।

दमौलीमा भीषण आगलागी, दमकलले निभाउन नसकेपछि हेलिकोप्टरबाट पानी हालिँदै Read Previous

दमौलीमा भीषण आगलागी, दमकलले निभाउन नसकेपछि हेलिकोप्टरबाट पानी हालिँदै

पोखराका ९ ताल जोड्न साइकलमार्ग निर्माण हुँदै Read Next

पोखराका ९ ताल जोड्न साइकलमार्ग निर्माण हुँदै