काठमाडौं । नेपाली जुत्ता/चप्पलको व्यापार सुस्त बनेको छ । मुलुक जुत्ता/चप्पलमा आत्मनिर्भर भए पनि विदेशबाट आयात बढ्दा नेपाली उत्पादनको विक्री घटेको हो ।
साथै, अवैध बाटोबाट (भन्सार छली) भित्र्याइएका जुत्ता/चप्पल नेपालीभन्दा सस्तोमा विक्री गर्ने भएकाले नेपाली उद्योगले उत्पादन गरेका जुत्ता/चप्पल बिक्न छाडेको व्यवसायीहरु बताउँछन् ।
फूटवेयर म्यानुफ्याक्चर्स एसोसिएशन अफ नेपालका पूर्व अध्यक्ष कृष्णकुमार फुयाँलले स्वदेशी उद्योगले माग धान्न सक्ने क्षमता भए पनि विदेशी जुत्ता/चप्पल आयात हुँदा नेपाली उत्पादन विक्रीमा असर पारेको बताउँछन् । विदेशबाट आयात हुने जुत्ता/चप्पल सस्तो हुने र ठूलो परिमाणमा भन्सार छलेर ल्याइने जुत्ता/चप्पलका कारण नेपाली जुत्ता बेच्न गाह्रो भएको उनको भनाइ छ ।
‘नेपाली उद्योगले वार्षिक १६ करोड जुत्ता/चप्पल उत्पादन गर्न सक्छन् । माग ९ करोड जोर मात्रै छ । हाल नेपाली उद्योले वार्षिक ५ करोड जोर उत्पादन गर्छन,’ फुयाँलले भने, ‘मागभन्दा पनि कम उत्पादन भएपछि उत्पादन भएका जुत्ता विक्री हुनुपर्ने हो । तर, विदेशबाट आयात हुने र भन्सार छलेर ल्याइने जुत्ताको भाउ सस्तो हुने भएकाले नेपाली जुत्ता बिक्न छाडेका छन् ।’ विदेशबाट आयातित र चोरीपैठारीबाट आउने जुत्ता/चप्पल सस्तो भएकाले उपभोक्ता उतैतिर तानिएको उनको भनाइ छ ।
भन्सार छलेर ल्याइने जुत्ता गुणस्तरहीन समेत हुने र व्यापारीले सस्तोमै बेच्ने भएकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताए । सरकारले विदेशी जुत्ता/चप्पल आयातमा कडाइ गरे पनि अवैध बाटोबाट ठूलो परिमाणमा भित्रिने भएकाले नेपाली उद्योगलाई समस्या भएको उनको भनाइ छ ।
नेपालमा अवैध जुत्ता/चप्पल भित्र्याउन भारतीय तथा नेपाली व्यापारीहरु नै सक्रिय रहेको उनको दाबी छ । ‘भन्सारको तथ्यांकभन्दा धेरै जुत्ता/चप्पल भित्रिने गरेको छ । बोर्डर पारी गोदाम लिएर बसेका छन् । दिनभरी सामन भर्छन, बेलुका ठेला, रिक्सा, बोकेर भन्सार छलेर धेरै आयात हुन्छ । नेपाली उत्पादनले यसरी भित्र्याइएका सामनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । यसरी त उद्योग कसरी चल्नु ?,’ फुयाँल भन्छन् ।
क्षमताको एक तिहाई मात्र उत्पादन
उत्पादित जुत्ता/चप्पल बिक्न नसकेपछि नेपाली उद्योगहरुले उत्पादन कटौती गरेका छन् । नेपाली जुत्ताको माग नबढ्दा कोरोनाका बेला बन्द भएका उद्योग अहिलेसम्म पूण क्षमतामा संचालन हुन नसकेको उद्योगीहरुनै बताउँछन् ।
एसोसिएशनका अनुसार अहिले नेपाली उद्योगहरुले आफ्नो कुल क्षमताको करिब ३० प्रतिशत हाराहारीमा मात्र उत्पादन गरिरहेका छन् । यसअघि उत्पादन भएका जुत्त/चप्पल बिक्न नसकेपछि उद्योगीहरुले उत्पादन घटाएको पूर्व अध्यक्ष फुयाँल बताउँछन् ।
‘बजारमा गुणस्तरहीन र कम मूल्यका जुत्ताचप्पल छ्यापछ्याप्ती छन्, जसले गर्दा नेपाली जुत्ता/चप्पलको माग थोरै छ,’ उनले भने, ‘ बजारमा माग नहुँदा उद्योगीले क्षमताको एकतिहाई मात्र उत्पादन गर्न बाध्य छन् । १२ घण्टा चल्ने मेसिन २ घण्टामा सीमित भएको छ,’ उनले भने । यस्तै, अवस्था रहे नेपाली जुत्ता/चप्पल उद्योग नै बन्द हुने अवस्थामा पुग्न सक्ने उनको भनाइ छ ।
आयात बढ्दो, निर्यात घट्दो
नेपालमै माग अनुसार जुत्ता/चप्पल उत्पादन हुनसक्ने क्षमता रहेपनि आयात भने बढ्दो क्रममा रहेको छ । पछिल्ला वर्षहरुमा आयात बढ्दो र निर्यात घट्दो क्रममा रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा मात्रै (साउन-माघ) सम्म ५ अर्ब ६० करोड ९७ लाख ७५ हजार मूल्य बराबरको २ करोड ८० लाख ५० हजार जोर जुत्ता आयात भएको छ । सोही जम्मा ७२ करोड १२ लाख ९ हजार रुपैयाँ बराबरको २१ लाख ३२ हजार जोर जुत्ता मात्र निर्यात भएको विभागले जनाएको छ ।
त्यस्तै, गत आव २०७७/७८ मा ६ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४ करोड १० लाख ६२ हजाार १३७ जोर जुत्ता/चप्पल आयात हुँदा जम्मा ८० करोड रुपैयाँको २७ लाख ६४ हजार ६४३ जोर मात्र निर्यात भएको छ ।
त्यसैगरी, आव २०७६/७७ मा आयात ५ अर्ब ५७ करोड रुपैयाँको आयात हुँदा ७९ करोेड रुपैयाँको नियार्त भएको छ । आव २०७५/७६ मा ७ अर्ब ८३ करोडको जुत्ता/चप्पल आयात गरिएको थियो भने ९४ करोड रुपैयाँको मात्र निर्यात भएको थियो ।
त्यस्तै, आव २०७४/७५ मा ४ अर्ब २६ करोडको सामग्री आयात भएको छ । सोही अवधिमा १ अर्ब २९ करोड बराबरको जुत्ता/चप्पल निर्यात भएको थियो । तथ्यांक अनुसार वर्षेनी जुत्ता/चप्पलको आयात बढ्दै गएको छ भने निर्यात घट्दै गएको देखिन्छ ।