दशैँमा जिउँदो खसी प्रतिकेजी ८ सयसम्म पुग्ने, ५० हजार खसी चाहिने

काठमाडौं । दशैँमा जिउँदो खसीको मूल्य प्रतिकेजी ८ सयसम्म पुग्ने अनुमान गरिएको छ । हाल बजारमा जिउँदो खसी प्रतिकेजी ६ सय रुपैयाँ रहेको छ ।

 

खसीको मासु दशैँमा १५ सय रुपैयाँ प्रतिकेजी पुग्ने अनुमान गरिएको छ । हाल खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँ रहेको छ ।

 

दशैँमा मात्र ५० हजारको हाराहारीमा खसीबोका आवश्यक पर्ने चौपाया खरिद विक्री संघका पूर्वअध्यक्ष तथा संरक्षक दिपक थापाले जानकारी दिए ।

 

उनका अनुसार हाल सरकारले पशुपन्छी आयातमा रोक लगाएका कारण दशैँमा मासु तथा खसी बोकाको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

 

अघिल्लो वर्षसम्म नेपालमा ८० प्रतिशत खसीबोका भारतबाट आयात हुने गरेको थियो भने २० प्रतिशत खसीबोका मात्र नेपाली बजारमा पाइने गरेको उनले बताए ।

 

काठमाडौंका बजारमा विक्री हुने अधिकांश खसीबोका भारतीय रहेक छन् । व्यवसायीहरुले भने भारतीय खसीलाई नेपाली भनेर विक्री गर्दै आएका छन् ।

 

यस्तै सरकारी तथ्यांक अनुसार २५ सय खसीबोका अपुग रहेको अनुमान गरिएको छ । हाल भारतबाट दैनिक ३ देखि ४ सयको हाराहारीमा खसीबोका आयात हुने गरेको उनले दाबी गरे ।प्रत्येक सातामा ५ हजारदेखि ५५ सय खसीबोका भारतबाट आयात हुने गरेको छ ।

 

उनका अनुसार सरकारले पशुपन्छि आयातमा रोक लगाए पनि चोरी पैठारी भारतबाट खसीबोका नेपाल भित्राइने गरेको छ ।

 

‘सरकारले रोक लगाएको छ तर, वयवसायीहरुले अझै पनि भन्सारबाट चोरी पैठारी गरी खसी बोका ल्याएर विक्री गरिरहेका छन्,’ थापाले चाणक्य पोष्टसँग भने ।

 

काठमाडौंका बजारमा विक्री हुने अधिकतम खसीबोका भारतीय रहेको उनले दाबी गरे । उनका अनुसार व्यवसायीहरुले भारतीय खसीलाई नेपाली भनेर विक्री गर्ने गरेका छन् ।

 

प्रमाणित पशुपन्छी मात्र आयात गर्न पाइने

 

कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गत चैत १ गतेबाट पशुपन्छि जन्य वस्तु आयातमा कडाइ गरेको थियो । भारतबाट आयात हुने पशुपन्छी (खसीबोका, बाख्रा, राँगाभैंसी, भेडा, बंगुर, माछा तयारी कच्चामासुलगायत)का सामग्रीअवैध आयातमा सरकारले रोक लगाएको हो ।

 

भारतबाट वार्षिक सवा ४ अर्ब रुपैयाँको जिउँदो पशु, १८ करोड रुपैयाँको तयारी कच्चामासु र १अर्ब ८३ करोड रुपैयाँ बराबरको माछा आयात हुने गरेको थियो ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न र मासुजन्य पशुपन्छीमा मुलुकलाई आत्मनिर्भर बनाउन यो कदम अघि सारेको हो ।

 

संघीय संसद्मा सांसदले भारतबाट आउने मासुजन्य पशुपन्छीको गुणस्तर माथि प्रश्न उठाएपछि कृषिविकास तथा पशुपन्छी मन्त्रालयले पशु स्वास्थ्यतथा सेवा ऐन, मासु जाँच ऐन, पशुपन्छी ढुवानी ऐन लगायतलाई एकीकृत रूपमा कडाइसाथ कार्यान्वयनमा ल्याएको हो।

 

भारतबाट वार्षिक सवा ४ अर्ब रुपैयाँको जिउँदो पशु, १८ करोड रुपैयाँको तयारी कच्चामासु र १अर्ब ८३ करोड रुपैयाँ बराबरको माछा आयात हुने गरेको थियो ।

 

सरकारले ५ महिनायता खसीबोका आयातगर्दा प्रमाणीत भएका पशुपन्छी तथा मासु जन्य पदार्थ आायत गर्ने भनिरहे पनि लुकिचोरी अवैध रुपमा खसीबोका तथा मासु आयात भइरहेको थापाले बताए ।

 

तर, खान मिल्ने वा नमिल्ने खसीबोका त्यसका मासु आयातको निरिक्षणका लागि सरकारसँग पर्याप्त जनशक्ति नभएका कारण चोरी पैठारी बाट समेत धेरै खसीबोका आयात भइरहेको उनले दाबी गरे ।‘एक दिन चेकजाँच गरेर हुन्न, प्रत्येक दिन जाँचपड्ताल गर्नु पर्छ,’ थापाले भने ।

 

यस्तै कृषि मन्त्री चक्रपाणी खनालले एक कार्यक्रममा बोल्ने क्रममा नेपाल डब्लुटिओमा गएको राष्ट्र भएको भन्दै सरकारले खसीबोका आयातमा रोक नलगाएको बताएका थिए । उनले संसारभरिका रोग भित्र्याउने गरी नेपालमा स्वास्थ्य परीक्षण नगरी खसीबोका ल्याउन भने नदिने बताएका थिए ।

 

‘हामीले खसीबोका आयातमा रोक लगाएका छैनौं, तर संसार भरिका रोग भित्र्याउने गरी नेपालमा स्वास्थ्य परीक्षण नगरी खसीबोका ल्याउन त दिँदैनौँ’ मन्त्री खनालले भने ‘दशैंमा त देख्लास् भनेका छन्, मैले केही फरक पर्दैन केही कम खाइएला नभए कुखुरामा हामी आत्मनिर्भर छौं, त्यसैमा जोड गर्नुपर्ला भनेको छु ।’

वैदेशीक लगानीका लागि नेपाल सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य Read Previous

वैदेशीक लगानीका लागि नेपाल सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिक, ११५० घरधुरी प्रभावित हुने Read Next

दूधकोशी जलविद्युत् आयोजनाको इआइए सार्वजनिक, ११५० घरधुरी प्रभावित हुने