बलेफी हाइड्रोपावरको आइपीओ भर्ने म्याद पुनः थप, कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । बलेफी हाइड्रोपावरले गत माघ २७ गतेदेखि आयोजना प्रभावित बासिन्दाका लागि खुला गरेको प्राथमिक साधारण सेयर (आइपीओ)भर्ने म्याद पुनः थप भएको छ ।

 

दोस्रोपटक थपिएको म्याद अनुसार अब आयोजना प्रभावितले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि थपिएको म्याद आज (फागुन १९ गते) सकिँदै छ । पहिलोपटक थपिएको म्यादमा पनि माग बमोजिम आवेदन नपरेपछि पुनः एकहप्ता म्याद थप गरेको हो ।

 

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपीओ विक्री खुला गरेको थियो । तीमध्ये १० लाख ९६ हजार ७८२ कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र जुगल गाउँपालिकाको वडा २, ३ र ४ का बासिन्दाका लागि तथा आयोजनाको प्रसारण लाइनबाट प्रभावित क्षेत्र जुगल गाउँपालिका– ५ र ७, बलेफी गाउँपालिका १, ३, ६ र ७ र सुनकोसी गाउँपालिका–७ का बासिन्दाका लागि ७ लाख ३१ हजार १८८ कित्ता सेयर खरिदका लागि दर्खास्त माग गरेको थियो ।

 

आयोजना क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सेयर खरिदका लागि फागुन १९ सम्म आवेदन दिन पाउनेछन् । स्थानीयवासीले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्बा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

 

साथै कुमारी बैंकको जलविरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा, ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

 

कम्पनीले हाल सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा पर्ने बलेफी खोलामा कुल ३६ मेगावाट क्षमताको बलेफी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड हुने जनाएको छ ।

 

मूल्य वृद्धि रोक्नुको सट्टा उल्टो महँगी बढाउँदै राष्ट्र बैंक, पिल्सिँदै आमउपभोक्ता Read Previous

मूल्य वृद्धि रोक्नुको सट्टा उल्टो महँगी बढाउँदै राष्ट्र बैंक, पिल्सिँदै आमउपभोक्ता

अब सरकारी विद्यालयमा पनि ‘स्कुल बस’ Read Next

अब सरकारी विद्यालयमा पनि ‘स्कुल बस’