काठमाडौं । निक्षेपको ब्याजदर बढाए पनि बैंकिङ प्रणालीमा निक्षेपमा आउन नसकेको देखिएको छ । राष्ट्र बैंकको दबाबपछि बैंकहरुले फागुनमा निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुर्याए पनि निक्षेपकर्ता आकर्षित हुन नसकेका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार तथ्यांक फागुनको दुई सातामा जम्मा २ अर्ब मात्र निक्षेप आएको छ । बैंकहरुले फागुनदेखि लागू हुने गरी ब्याज बढाए पनि निक्षेपकर्ता आकर्षित हुन नसकेको देखिन्छ ।
माघ मसान्तमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रहेकोमा फागुन दोस्रो साता (१३ गते)सम्म जम्मा २ अर्बले बढेर ४३ खर्ब १३ अर्ब पुगेको छ ।

निक्षेप संकलन गर्न नसके पनि बैंकहरु कर्जा विस्तारमा भने आक्रमक भएका छन् । फागुनमा जम्मा २ अर्ब मात्र निक्षेप संकलन हुँदा कर्जा भने १० अर्ब लगानी गरेको छन् ।
माघ मसान्तसम्म कुल ४१ खर्ब ५५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले फागु दोस्रो सातासम्म १० अर्बले बढाएर ४१ खर्ब ६५ अर्ब रुपैयाँ पुर्याएका छन् ।
चालु आर्थिक वर्षको साढे ७ महिनाको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुले साढे ४ खर्ब कर्जा विस्तार गरेका छन् भने निक्षेप १ खर्ब मात्रै बढेको छ ।