काठमाडौं । नेपाली ढाकालाई ब्राण्ड बनाउने लक्ष्यका साथ अघि बढेकी महिला उद्यमी हुन् अञ्जना राई । व्यवसाय सुरु गरेको छोटो अवधिमै सोलुखुम्बुकी ४० वर्षीय राईले नेपाली ढाकालाई नेपालदेखि युरोप अमेरिकासम्म पुर्याउन सफल भइसकेकी छिन् ।
४ वर्ष अघि काठमाडौंको कोटेश्वरमा एउटा सटरबाट सुरु भएको उनको व्यवसायले अहिले होलसेल र रिटेल दुवै रुपमा विस्तारित भएको छ । व्यवसाय फस्टाउँदै गएसँगै उनले ढाका व्यवसायमा लगानीसमेत दशौं गुणाले वृद्धि गरेकी छिन् । सोबेला ५ लाख रुपैयाँबाट ढाकाको व्यवसायिक यात्रा सुरु गरेकी उनले अहिले लगानी वृद्धि गरी ७० लाख बढी पुर्याइसकेकी छिन् ।
उनले कोसेली ढाका एण्ड अर्गानिक सेण्टर नाममा आफ्नो व्यवसायिक दायरा फैलाउँदै लगेकी छिन् । स्थायी घर सोलुखुम्बु भए पनि लामो समयदेखि काठमाडौं बस्दै आएको र आफ्नो पृष्ठभूमि नै व्यापारिक भएको बताउने राई आफूले सोचे अनुसार नै सफलता हात पारेको बताउँछिन् ।

काठमाडौंमा सुरुका दिनमा टिक्नकै लागि पनि व्यवसाय सुरु गरेँ । कस्मेटिक, गिफ्ट, टा«भल एजेन्सी, फेन्सी पसल लगायत व्यवसाय गरेँ । ४ वर्ष अघि नेपाली ढाका र नेपाली अग्र्यानिक उत्पादनलाई प्रोत्साहन गर्ने सोचले नयाँ व्यवसाय सुरु गरेँ । यसमा छाटो समयमै सफलता हात लाग्यो,’ उनी भन्छिन् ।
उनले नेपाली ढाकासँगै नेपाली अग्र्यानिक उत्पादहरु पनि सँगै राखेर विक्री गर्ने गरेकी छिन् । ‘हाम्रो पसलमा पियोर नेपाली उत्पादनका सम्पूर्ण समाग्री पाइन्छ, विशेषतः ढाकासँगै अल्लोबाट बनेका सामग्रीहरुका साथै राई, लिम्बु, गुरुङ्, शेर्पा, मगर, तामाङ्, लगायतका ड्रेससँगै कल्चर अनुसारका गरगहना र ढाकाबाट बन्ने सबै सामग्री उपलब्ध छ,’अञ्जना भन्छिन् ।
योसँगै रेजी माला हारी माला (राई जातीले लगाउँने पैसाको माला), जोर बिटी, चरी बाजा, मादल, झ्याम्टा, कठुवा (ठेकी) तोम्बाको भाडा, लेहेङ्गा, ढाका साडीसँगै हरेक महिला, पुरुषसँगै बालबालीकाले लगाउने लुगासँगै फेबरीक, खाँडीको दौरा सुरुवाल, अल्लो उलनको टोपी, ढाका टोपी, प्छयौरा, पर्स, जुक्ताचप्पल समेत पाइन्छ ।

व्यवसाय सुरु गर्नु अघि आफूलाई ढाकाको व्यापार खाद्यन्न जस्तै नियमति हुँदैन भन्ने लाग्ने गरेको उनी बताउँछिन् । ‘सुरुआतमा खाद्यान्न जस्तो लुगाको व्यापार हुँदैन भन्ने लाग्थ्यो, तर होइन रहेछ, हामीलाई दैनिक जीवनमा खाद्यान्न जति आवश्यक छ, लुगा पनि उत्तिकै आवश्यक छ, जस्तोसुकै संकटको अवस्थामा पनि व्यापार बन्द भएन,’ उनी भन्छिन् ।
‘आन्तरिक र वाह्य दुवै बजार राम्रो छ’
राई विगत चार वर्षदेखि नेपाली उत्पादन र बजार विस्तारमा लागि परेकी छिन् । नेपालमा उत्पादन हुने र नेपालीपन झल्को दिने सबै ढाकाका सामग्री उपलब्ध गराउँदै आएकी उनी ढाकाको आन्तरिक र वाह्य दुवै बजार राम्रो भएको बताउँछिन् ।
‘नेपाली उत्पादन विश्वभरी नै रुचाइन्छ, हाम्रो उत्पादनका धेरै सामन विश्व बजारमा पुग्छन्, आन्तरिक र विदेशी दुवै बजारमा माग धेरै छ, तर माग अनुसार उत्पादन गर्न सकिँदैन,’ उनले भनिन् ।

उनका अनुसार उत्पादन हुने ढाकामध्ये, ९० प्रतिशत नेपालमै खपत हुन्छ भने १० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा जाने गरेको छ ।पछिल्लो समय अनलाइनमार्फत व्यापार गर्न सहज भएको उनी बताउँछिन् । अनलाइन अर्डर अनुसार अल नेपाल र विदेशमा समेत सामान पठाउन सहज भएको बताउँछिन् । हाल स्वदेश र विदेशमा गरी मासिक १९ लाख रुपैयाँ हाराहारीमा व्यापार हुने उनको भनाइ छ ।
कुन-कुन देशमा निर्यात हुन्छ ?
नेपाली उत्पादनको प्रबद्र्धनमा लागी परेकी अञ्जना आफ्ना उत्पादनहरु एशियाली मुलुकदेखि युरोप, अमेरिकासम्म पूगने बताउँछिन् । आफ्ना उत्पादन विदेशसम्म पुग्नुले नेपाली उत्पादनको बजार समेत फराकिलो भएको उनको भनाइ छ ।
‘नेपालीहरु जुनजुन देशमा जानु भएको छ, ती सबै देशमा हाम्रो उत्पादन पुग्छ । विशेषतगरी अमेरिका, स्वीजरल्याण्ड, हङकङ, कोरिया, इजरायल, साइप्रस, कुवेत, लगायत देशमा धेरै माग छ । ती देशमै धेरै जान्छ,’ उनी भन्छिन् ।

७७ जिल्लाकै उत्पादन उपलब्ध
राईको कोशेली ढाकामा ७७ जिल्लाका अग्र्यानिक उत्पादनहरु उपलब्ध छन् । उनले पसलमा ढाका, अल्लोको कपडादेखि विभिन्न कृषि उपजसम्म राखेकी छिन् ।
कोशेलीमा मुख्यगरी ढाका पूर्वका जिल्लाहरुबाट आउने गरेको छ । उनले तेह्रथुम, झापा, धरान लगायत ठाउँबाट ढाका ल्याउने गरेकी छिन् भने अल्लो रोल्पा, दाङ लगायत जिल्लाबाट आउँछन् । मेरो पसलमा लगभग ७७ जिल्लाबाट सामान आउँछन् । उत्पादन अनुसार पूर्वदेखि पश्चिम सबै जिल्लाबाट ल्याउने गरेको छु, कतैबाट कच्चा पदार्थ त कतैबाट तयारी सामान नै ल्याउने गर्छु,’ उनी भन्छिन् ।
५० रुपैयाँदेखि ६० हजारसम्मका सामन
अञ्जनाले संचालन गरेको कोसेली ढाकामा सस्तादेखि महँगो मूल्यका सामान्यहरु उपलब्ध छन् । राईका अनुसार उनको पसलमा ५० रुपैयाँदेखि ६० हजार रुपैयाँँ सम्मका सामग्री उपलब्ध छ ।

‘मेरो पसलमा सस्तोदेखि महँगो मूल्यका सामान छन् । कोसेली ढाकामा ५० रुपैयाँ (सिलाम साख्मा, पेचुरी, पर्स) देखि ६० हजार (चाँदीको अर्नामेन्ट)सम्म पर्ने सामान छ, ग्राहकले आफ्नो रोजाइ र आवश्यकता अनुसार सामन लैजाने गर्नुभएको छ,’ उनी भन्छिन् ।
नेपाली उत्पादन प्रबद्र्धन गर्ने लक्ष्य
नेपाली उत्पादन सबैले रुचाईने भएकाले आफ्नो लक्ष्य यसको प्रबद्र्धन गर्नु नै रहेको राई बताउँछिन् । नेपाली ढाकालाई विदेशका प्रचारप्रसार र प्रबद्र्धन गर्न यसको उत्पादनमा वृद्धि गर्नुपर्ने उनको भनाइ छ । उत्पादन बढाउन अबको ५ वर्षभित्र ढाका उद्योगमा २ सय जनालाई रोजगारी प्रदान गर्नेगरी अगाडि बढ्ने उनको योजना रहेको छ ।

विदेशमा नेपाली ढाकाको माग उच्च भएकाले यसको प्रबद्र्धन गर्न समेत सहज हुने उनी बताउँछिन् । हाल अधिकांश कच्चा पदार्थ नेपालकै प्रयोग गर्ने भए पनि केही भने भारतबाट ल्याउनु पर्ने उनी बताउँछिन् ।
आफ्नो व्यवसायिक यात्रा छोटो समयको लागि नभएको बताउने उनी सोच विचार गरेरै अघि बढेको बताउँछिन्, । ‘लामो समयसम्म व्यवसायिक यात्रामा टिक्न सकिन्छ भनेर नै लागि परेको छु, मेरो व्यवसायिक यात्रा छोटो छैन, भन्ने कुरा बुझेर नै व्यवसाय सुरु गर्नुपर्छ । अरुले गरेको देख्दैमा व्यवसाय गर्नु हुन्न,’ भनी भन्छिन् ।