काठमाडौं । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेका छन् । बीमा क्षेत्रका कम्पनी बाहेक अन्य क्षेत्रका अधिकांश कम्पनीहरुले साधरण सभा समेत गरिसकेका छन् ।
नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म ११ निर्जीवन बीमा कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । २ कम्पनीले लाभांश बिनै साधरण सभा बोलाएका छन् भने अझै ५ कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।
लाभांश घोषणा हुन बाँकी निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स रहेका छन् ।
यस्तै, दुई निर्जीवन बीमा कम्पनीले भने लाभांश बिनै साधरण सभा सम्पन्न गरिसकेका छन् । सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले लाभांश बिनै साधरणसभा सम्पन्न गरेका हुन् ।
त्यस्तै, लाभांश घोषणा गरेका ११ कम्पनीमध्ये प्रिमियर र हिमालयन जनरलले सभा प्रयोजनका लागि बुकक्लोज गरिसकेका छन् भने ९ कम्पनीको बुकक्लोज हुन बाँकी छ । तसर्थ, बुकक्लोज हुन बाँकी ९ कम्पनीको सेयर किन्दा अझै लाभांश पाइन्छ । अझै, एनएलजी, नेको, सिद्धार्थ, आइएमई जनरल, प्रुडेन्सियल, लुम्बिनी जनरल, प्रभु, एभरेष्ट र सरगरमाथा इन्स्योरेन्सको सेयर किन्दा लाभांश पाइन्छ ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रभु इन्स्योरेन्सले ११ प्रतिशत बोनस र ०.५८ प्रतिशत नगद गरी ११.५८ प्रतिशत, नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९, सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत, लुम्बिनी जनरलले ९.५२ प्रतिशत बोनस र ०.४८ प्रतशत नगद गरी १० प्रतिशत, आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले समान ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद गरी ७.३७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्स ६ प्रतिशत बोनस र ०.३१ नगद गरी ६.३१ प्रतिशत, सगरमाथा इन्स्योरेन्स २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गर्नेमध्ये केही कम्पनीको लाभांश बीमा समितबाट स्वीकृत हुन बाँकी छ । समितिको स्वीकृतपछि सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले घोषित लाभांश पाउने छन् ।