थापाथलीमा बहुतले पार्किङ बन्दै, फिजिबिलिटी अध्ययनको तयारी

काठमाडौं । काठमाडौंको थापाथलीमा बहुतले पार्किङ निर्माण हुने भएको छ । नगर विकास कोषले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथली कार्यालयको १ रोपनी जग्गामा बहुतले पार्किङ बनाउने भएको हो ।

 

नगर विकास कोषले उक्त बहुतले पार्किङ निर्माणका लागि फिजिबिलिटी अध्ययनको तयारी गरेको छ । उपत्यकाका विभिन्न ठाउँमा बहुतले पार्किङ बनाउन आएका प्रस्तावमध्ये कोषले पाइलट प्रोजेक्टको रूपमा थापाथलीको फिजिबिलिटी अध्ययन गर्ने तयारी गरेको हो ।

 

कोषका सूचना अधिकारी सूर्यबहादुर कार्कीले थापाथलीस्थित खाद्य व्यापार कम्पनीको १ रोपनी जग्गमा बहुतले पार्किङ निर्माणका लागि फिजिबिलिटी स्टडी गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

उनका अनुसार उक्त स्थानमा पाइलट प्रोजेक्टको रूपमा बहुतले पार्किङ निर्माणका लागि फिजिबिलिटी स्टडी गर्न आन्तरिक कन्सलटेन्ट हायर गरिने उनले बताए । कन्सलटेन्ट हायर प्रक्रिया अघि बढिरहेको उनको भनाइ छ ।

 

‘कुन मोडलमा बन्ने निर्णय भइसकेको छैन, फिजिबिलिटी स्टडीपछि कस्तो मोडलमा कति मूल्यमा पार्किङ बनाउने सबै थाहा हुन्छ, यसलाई नमूना योजनाकोे रूपमा मात्र बनाउन लागेको हो,’ कार्कीले चाणक्य पोष्टसँग भने ।

 

उनले पार्किङ निर्माण गर्न २ करोड रुपैयाँ हाराहारीमा लागत अनुमान गरिएको बताए । उनले ऋण सुनिश्चित हुने खालका नगरपालिकाको अपनत्व लिएका कार्यालयहरूबाट आएको आवेदनहरूलाई बढी प्राथमिक्ता दिइएको बताए ।

 

निजी क्षेत्रहरूले बहुतले पार्किङ निर्माणमा चाँसो देखाए पनि कानुनी रूपमा निजी क्षेत्रसँग कसरी सहकार्य गरेर पार्किङ निर्माण गर्ने भनेर छलफलको चरणमा रहेको उनले बताए । ‘कोषले अहिलेसम्म महानगरपालिका, नगरपालिकाहरूका लागि मात्र काम गरेको हुँदा निजी क्षेत्रसँग काम गर्न छुट्टै तयारी भइरहेको छ,’ कार्कीले भने ।

 

यस्तै, कोषका इन्जिनीयर नवीन तिवारीले फिजिबिलिटी स्टडी सकिन ३र४ महिना लाग्ने बताए । उनले कागजी प्रक्रिया पूरा भए अध्ययन र निर्माणको काम सकिन धेरै समय नलाग्ने बताए । यस्तै उनले एउटा पार्किङ निर्माण हुन १ वर्ष हाराहारी समय लाग्ने अनुमान गरिएको बताए ।

 

यसअघि नेपालमै पहिलोपट निजी क्षेत्र भाटभटेनी सुपरमार्केटले टंगालमा ११ तले पार्किङ बनाइसकेको छ ।

 

अन्य ठाउँमा बहुतले पार्किङ बनाउन निजी क्षेत्र इच्छुक

 

यसैगरी, बहुतले पार्किङ निर्माणका लागि ललितपुर महानगरपालिका वडा ३ को ठाडोढुंगामा प्रस्ताव आएको कोषले जनाएको छ । व्यक्तिगत रूपमा काठमाडौं महानगरपालिका वडा १३ को सोल्टीमोडमा बहुतले पार्किङ निर्माणका लागि प्रस्ताव आएको हो ।

 

यस्तै, इजी पार्क र पार्क इजी जस्ता निजी कम्पनीहरू समेत बहुतले पार्किङमा इच्छुक भएको उनले बताए । इन्जिनीयर तिवारीले सप्लायर्सका रूपमा समेत कम्पनीहरूले बहुतले पार्किङमा इच्छा देखाएको बताए ।

 

नगर विकास कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको लागि सूचना निकालेको थियो । १५ दिनको लागि मात्र सूचना निकालिएको भए पनि इच्छुकले जहिलेसुकै आवेदन दिन सक्नेछन् ।

 

कोषले थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक, ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशला, चाबहिल, मित्रपार्कलाई सम्भाव्य स्थानको रूपमा सूचीकृत गरेको छ ।

 

त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोल लगायतका मुख्य व्यस्त सडक छेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा यो पार्किङ निर्माण गर्न मिल्ने जनाएको छ ।

 

प्रस्ताव पेश गर्दा पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, संघ संस्थाको नवीकरणसहितको दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयहरू पेश गर्नुपर्ने छ ।

 

कोषले सवारी यातायातको भिडभाड हुने स्थान पार्किङको आवश्यकता हेरेर आफैंले ऋण दिई निर्माण गर्ने तयारी गरेको हो । हालसम्म कोषले ९० प्रतिशत ऋण दिएर १० प्रतिशत प्रस्तावित कम्पनीलाई लगानी गर्न लगाउने गरेको थियो । बहुतले पार्किङमा भने हालसम्म कति ऋण उपलब्ध गराउने निश्चित नभएको तिवारीले बताए ।

 

एमसीसी : ऊर्जा र यातायातको विकासमा यसरी बन्नेछ कोसेढुङ्गा Read Previous

एमसीसी : ऊर्जा र यातायातको विकासमा यसरी बन्नेछ कोसेढुङ्गा

नेपाल बन्दको प्रभाव नगन्य, ३ वटा बसमा तोडफोड Read Next

नेपाल बन्दको प्रभाव नगन्य, ३ वटा बसमा तोडफोड