काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरको सेयर मूल्यमा लगातार पाँचौ दिन पोजेटिभ सर्किट लागेको छ । गत बिहीबारदेखि दैनिक कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको हो ।
फागुन ४ गते प्रतिकित्ता ६३० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य बढेर आज १०१० रुपैयाँ पुगेको छ । ५ कारोबार दिनमै युनाइटेडको सेयर मूल्य प्रतिकित्ता ३८० रुपैयाँ बढेको छ ।
पछिल्लो समय कम्पनीको उत्साहजन प्रगति भएको कुनै समाचार नआए पनि स्वार्थ समूहले कर्नरिङ गरी भाउ उचालेको लगानीकर्ताको आकलन छ । बजारमा कम्पनीको सेयर संख्या तुलनात्मक रुपमा थोरै छ । सोही आधारमा स्वार्थ समूहले सजिलै चलखेल खेल गर्न सक्ने भएकाले भाउ बढाइएको अनुमान छ ।
नेप्समा कम्पनीको जम्मा ४० लाख कित्ता सेयर सूचीकृत छ । सोमध्ये साढे ३१ लाख कित्ता संस्थापक सेयर रहेको छ । सर्वसाधरण सेयर जम्मा साढे १० लाख कित्ता मात्र भएकाले माग अधिक देखाइ मूल्य उचालिएको लगानीकर्ताको भनाइ छ ।
यद्यपि, कम्पनीले हालै सुधारोन्मुख वित्तीय विवरण सार्वजनिक गरेको थियो । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ४ करोड ७७ लाख खुदा नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी हो ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २२.७३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १११.५७ रुपैयाँ छ ।
कम्पनीले हाल कास्कीमा ७ मेगावाटको अपर मार्दीखोला हाइड्रोपावर आयोजना संचालन गरिरहेको छ । सम्झौता अनुसार बसकोट हेम्जा सबस्टेशन निर्माण पूरा नहुँदा आयोजनाबाट उत्पादित बिजुली वैकल्पिक माध्यबाट राष्ट्रिय ग्रीडमा जोडिएको छ । उक्त सबस्टेशन निर्माण पूरा भएपछि आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन हुने छ ।