बेलायतको आकर्षक कमाइ छाडेर विनयले खोले ‘कोशेली थकाली’, वर्षेनी नयाँ ब्रान्च खोल्ने

काठमाडौं । रोजगारीका लागि भौंतारिनु नेपाली युवाहरूको बाध्यता हो । आफ्नो रोजीरोटी र परिवारको लालनपालनका लागि विरानो मुलुकका आफ्नो पसिना बेच्नु उनीहरूको नियति बनेको छ । हाल दैनिक १ हजार बढी युवा रोजगारीका लागि तेस्रो मुलुक गइरहेका छन् ।

 

तर, पछिल्लो समय युवापुस्ता स्वदेशमै स्वरोजगार हुने क्रम पनि बढ्दो छ । केही युवाले नेपालमै व्यवसायिक पशुपालन, तरकारी खेती, होटल तथा रेष्टुरेन्टदेखि स्टार्टअप व्यवसाय समेत संचालन गरी आफूसहित अरुलाई समेत रोजगारी दिन सफल भएका सयौं उदाहरण भेटिन्छन् । विशेषगरी एकपटक विदेश गएर फर्केका युवाहरूले स्वदेशमै व्यवसाय संचालन गर्ने क्रम बढेको देखिन्छ ।

 

त्यस्तै, युवामध्ये एक हुन् ३५ वर्षीय विनय गौतम । १३ वर्ष अघि बेलायत पुगेका बारा निजगढका गौतम अहिले नेपालमै रेष्टुरेन्ट व्यवसायी बनेका छन् । झन्डै १ दशक वेलायत बसेर फर्केका उनले गतसाता मात्र २५ लाख लगानीमा काठमाडौंको शंखमूल आलोकनगरमा कोशेली थकाली नामक रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।

‘सधैं अरुको देशमा मात्र कति काम गर्ने । विदेशमा कमाएको धन र सिकेको सीप आफ्नो देशमा किन प्रयोग नगर्ने ? यही सोचका साथ मैले रेष्टुरेन्ट व्यवसाय संचालनमा ल्याएको हुँ,’ उनले चाणक्य पोष्टसँग भने ।

 

पढ्न र केही अवसरको खोजीमा बेलायत छिरेका विनय राम्रो अवसर र आम्दानी भएर पनि १३ वर्षको अन्तरालमा केही गर्ने सोचसहित नेपाल फर्किएको बताउँछन् । ‘अवसर र आम्दानी राम्रो थियो, तर सधैं अर्कोको देशमा कति पसिना बगाउनु, त्यही काम नेपालम पनि गर्न सकिन्छ भनेर फर्केर आएको हुँ,’ उनले भने । आफूले वेलायतमा मासिक ५ लाखसम्म कमाउने भए पनि त्योभन्दा आफ्नै देशमा केही गर्ने हुटहुटीले नेपाल डोर्याएको उनको भनाइ छ ।

 

व्यवस्थापन विषयमा मास्टर्स गरेका गौतम जतिसुकै पढेलेखेको भए पनि अर्काको ठाउँमा जस्तो पनि काम गर्नुपर्ने बाध्यता रहेको बताउँछन् । कुनै बेला भाँडासमेत माझ्नु परेको उनी सम्झन्छन् । वेलायत बसाइको क्रममा साथीसँग मिलेर उनले आफ्नै होटलसमेत खोले । ‘वेलायतमै साथीहरूसँग मिलेर होटल संचालनमा ल्यायौं, राम्रो हुँदै पनि गयो, होटलको भाडा माझ्नेदेख सेफसम्म भएर काम गरियो, काम सानो ठूलो हुँदैन, त्यही सिपलाई नेपालमा प्रयोग गर्ने सोच आयो, अनि कोशेली खोलेँ,’ गौतम भन्छन् ।

 

नेपालमा पछिल्लो समय होटल तथा रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको देखिपछि आफू पनि केही फरकपनका साथ त्यसमै होमिएको गौतम बताउँछन् । ‘थकाली नेपालमा चलेको एउटा ब्राण्ड नै हो, विशेषत् नेपालीको चाहना अनुसार थकालीमा खाना खान पाइन्छ, त्यसमै पियोर अग्र्यानिक खानामात्र खुवाउने कन्सेप्ट राखेर कोशेली थकाली खोलेँ,’ उनी भन्छन् । वेलायतमा समेत आफूले कोशेली नाममा व्यवसाय संचालन गरेकाले त्यसकै निरन्तरता स्वरुप यहाँ पनि रेष्टुरेन्टको नाम कोशेली थकाली राखेको उनको भनाइ छ ।

 

‘पियोर अर्ग्यानिक’ खाना मुख्य पहिचान

 

गौतमले गत हप्ता मात्र संचालनमा ल्याएको कोशेली थकालीमा पियोर अग्र्यानिक खाना पाइन्छ । कोशेली थकालीको परिकारमा अजिनोमोटोको समेत नगर्ने भएकाले आफूले पियोर अर्ग्यानिक खानामा जोड दिएको विनय बताउँछन् ।

 

‘ओपन किचनको व्यवस्था छ, सरसफाइसँगै अर्ग्यानिक खानामा हाम्रो जोड छ, अजिनोमोटोको समेत प्रयोग हुँदैन, अर्ग्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै मूल उद्देश्य रहेको छ,’ उनले भने ।

अर्ग्यानिक थकाली खाना र सेकुवा कोशेली थकालीको मुख्य पहिचान रहेको छ । योसँगै ढिंडो, कालिजको मासु, खसीको भुटन र टाउको पाइन्छ । साथै, मःमः, चाउमिन लगायत बजारमा प्रचलित सबै प्रकारका खाना तथा पेय पदार्थ पाइन्छ ।

 

हरेक वर्ष एउटा ब्रान्च खोल्ने लक्ष्य

 

हरेक मान्छेले आफ्नो व्यवसाय विस्तार गर्ने योजना र लक्ष्य बनाएको हुन्छ । विनयले पनि अब हरेक वर्ष एउटा कोशेली थकालीको ब्रान्च खोल्ने योजना बनाएका छन् । ‘भर्खर व्यवसाय सुरु गरेको छु । अब यसलाई विस्तार गर्ने योजना छ । सोचे जस्तै भयो भने अर्को वर्ष नयाँ ब्रान्च खोल्ने लक्ष्य छ, त्यसपछि हरेक वर्ष एउटा ब्रान्च थप्ने लक्ष्य छ,’ उनले भने ।

 

नयाँ ब्रान्च थप्दा व्यवसाय विस्तार हुने र रोजगारी समेत सृजना हुने उनले बताए । हाल उनले ९ जनालाई रोजगारी दिएका छन् । स्वदेशमै रोजगारीको अवसर सृजना गरी योगदान दिने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

उनको रेष्टुरेन्टमा विद्यार्थीलाई खानामा १० प्रतिशत छुटको व्यवस्था रहेको उनले बताए । ‘विद्यार्थीहरूको आर्थिक अवस्था कमजोर नै हुन्छ, त्यसलार्ई मध्ये नजर गर्दै उनीहरूलाई खानामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको हुँ,’ उनले भने ।

 

परिवार बेलायतमै, व्यवसाय सफल भए नेपालमै ल्याउने

 

लामो समय बेलायत बसेर नेपालमा होटल व्यवसाय सुरु गरेका गौतमका परिवार हाल वेलायतमै रहेका छन् । स्वदेशमै केही गर्ने सोचका साथ नेपाल आएका उनले भर्र्खर व्यवसाय सुरु गरेका छन् । आफ्नो व्यवसाय सफल भएमा आगामी दिनमा परिवारै नेपाल ल्याउने उनको योजना रहेको छ ।

‘अहिले म मात्र स्वदेशमै केही गर्ने सोचले नेपाल आएको हुँ, हाल मेरा छोराछोरी, श्रीमती उतै छन् ,व्यवसाय सोचे अनुरुप सफल भए, परिवार नै यतै ल्याउने सोच छ, सधैं अरुको देशमा मात्र कति दुःख गर्नु, पहिलाको जस्तो नेपाल अशान्त छैन, व्यवसाय गर्ने वातावरण छ, त्यही देखेँर नेपाल आएको हुँ,’ उनले भने ।

 

फागुन १८ देखि मुम्बई-काठमाडौं सिधा उडान हुने, सातामा कति उडान ? Read Previous

फागुन १८ देखि मुम्बई-काठमाडौं सिधा उडान हुने, सातामा कति उडान ?

बन्दीपुर केबलकारको टावर जडान सुरू, कहिलेबाट आउँछ संचालनमा ? Read Next

बन्दीपुर केबलकारको टावर जडान सुरू, कहिलेबाट आउँछ संचालनमा ?