यस्तो बन्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ । हालसम्म आयोजनाको ९२ प्रतिशत भौतिक प्रगति भएको हो ।

 

विमानस्थलको मुख्य पूर्वाधाहरु निर्माण भइसकेका छन् भने फिनसिङ, उपकरण जडान लगायत काम बाँकी रहेको छ । हालसम्म रनवे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), नाला, ह्याङगर निर्माण लगायतका काम सम्पन्न भइसकेका छन् । ती संरचनामा हाल फिनिसिङ र इलेक्ट्रिक जडान कार्य भइरहेको आयोजनाले जनाएको छ ।

 

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार आयोजना अन्तर्गत थोरै जग्गा अधिग्रहण र फिनिसिङको काम बाँकी रहेको हो । ‘जग्गा अधिग्रहण र फिनिसिङको केही कामहरू बाँकी छ, यो सकिएपछि आयोजना हस्तान्तरण गरिन्छ,’ मुनकर्मीले चाणक्य पोष्टसँग भने ।

 

आयोजना अन्तर्गत ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा कुल ३ हजार ८८० जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ । २० रोपनी जग्गा अधिग्रहण गर्न बाँकी रहेको उनले बताए । जग्गा अधिग्रहणकै क्रममा आयोजनाले साढे ३ अर्ब रुपैयाँ बढी मुआब्जा वितरण गरिसकेको छ ।

 

विमानस्थल चीनको सीएएमसी इञ्जिनीयरिङ कम्पनीले निर्माण गरिरहेको छ । चालु आर्थिक वर्षमा आयोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षसम्म १३ अर्ब ४१ करोड २९ लाख रुपैयाँ खर्च भइसकेको छ ।

 

विमानस्थलको रनवे २ हजार ५०० मिटर लामो रहेको छ भने  टर्मिनल भवन १४ हजार स्क्यार मिटरको रहेको छ । ८ हजार स्क्यार मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्यार मिटर आन्तरिक उडानका प्रयोग हुनेछ । उक्त टर्मिनलको क्षमता वार्षिक ५ लाख जना रहेको छ ।

 

आयोजना कुल २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । सन् २०१७ नोभेम्बरदेखि निर्माण सुरू गरिएको विमानस्थल पटकपटक म्याद थप्दा पनि अझै सम्पन्न हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ ।

 

अझै फिनसिङ, उपकरण जडान, रिठ्ठेपानी डाँडा कटान, आयल निगमको डिपो निर्माण लगायतका काम बाँकी रहेको छ । पोखरा विमानस्थलको निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आवतजावत गर्न सक्नेछन् ।

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १५ कम्पनी

यी १० इन्स्योरेन्सको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ? Read Next

यी १० इन्स्योरेन्सको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?