काठमाडौं । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलमा यसैसाता क्यालिब्रेसन फ्लाइट हुने भएको छ । एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई) ले यही शुक्रबार (फागुन ६ गते) क्यालिब्रेसन फ्लाइट गर्ने तयारी गरेको हो ।
भैरहवा अन्तराष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रविन न्यौपानेले एरोथाईको टोली बिहीबारसम्म काठमाडौं आइपुगे, शुक्रबार बिहान वा दिउँसो क्यालिब्रेसन फ्लाइट गरिने बताए ।
शुक्रबार क्यालिब्रेसन फ्लाइटका क्रममा ६ घण्टाको लागि विमानस्थल बन्द गरिनेछ । उनले क्यालिब्रेसन फ्लाइटका लागि शुक्रबार ११ बजेदेखि ५ बजेसम्म गरिने बताए । फ्लाइट क्यालिब्रेसन ८ दिनसम्म गरिने छ । केही समस्या भेटिएमा सो दिन लम्बिने उनले बताए ।
‘एरोथाईका टोली बिहीबारसम्म काठमाडौं आए बिहानैबाट क्यालिब्रेसन फ्लाइट गर्न सुरु गरिन्छ, ढिला भयो भने, शुक्रबार दिउँसो भए पनि फ्लाइट क्यालिब्रेसन गर्नेछौँ,’ न्यौपानेले चाणक्य पोष्टसँग भने ।
उनले थाइटोली आउदा रिफिलिङ गर्नुपर्ने भए काठमाडौं आइपुग्न ढिला हुन सक्ने बताए । नेपाल वायुसेवा निगमको एयरबस–३३० वाइडबडी जहाजमार्फत यो विमानस्थलमा परीक्षण अवतरण गरिनेछ ।
यो उडानले विमानस्थलमा जडान भएका उपकरणहरु उपयुक्त छ/छैन भन्ने परीक्षण गर्नेछ । यो आयोजनामा उपकरण जडानसहित प्राविधिक कामको जिम्मेवारी एरोथाईले पाएको छ । उक्त कम्पनीले क्यालिब्रेसन फ्लाइटको जिम्मा समेत लिएको हो । एरोथाई कम्पनीले क्यालिब्रेसन उडानका लागि अहिले अन्तिम चरणका काम गरिरहेको छ ।
९८ प्रतिशत निर्माणको काम सकिसकेको यो विमानस्थलको निर्माण सम्पन्न हुन मात्र ३ प्रतिशत बाम बाँकी रहेको नेपाल नागरिक उड्डन प्राधिकरणले जनाएको छ । सो बाँकी काम मध्ये १.७५ प्रतिशत काम सम्पन्न गरी प्राधिकरण क्यालिब्रेसन फ्लाइट गर्ने अन्तिम तयारीमा रहेको हो ।