काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । गतसाता ९० अंकले घटेको बजार आज एकैदिन १०० अंकले घटेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याज बढाएर न्यूनतम १० प्रतिशत माथि पुर्याएका छन् भने अधिकतम १२.६५ प्रतिशतसम्म पुर्याएका छन् ।
।बैंकको ब्याज बढेसँगै सेयरधितोमा कर्जा लिनेहरु धेरै प्रभावित भएका छन् । हाल लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट झन्डै १ खर्ब ऋण लिएर सेयर किनेका छन् ।
साथै, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सेयर कर्जामा अझै कडाइ गर्ने हल्लाका कारण पनि बजारमा पहिरो गएको आकलन छ । त्यस्तै, पछिल्लो समय उत्पन्न राजनीतिक परिस्थितिले समेत लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको देखिन्छ ।
सूचकमा उच्च गिरावट आए पनि करोबार रकम भने गिरावट आएको छैन । आज झन्डै ६ अर्ब बराबरको सेयर खरिदविक्री भएको छ ।
आइतबार नेप्से १००.२४ अंकले घटेर २७००.३२ विन्दुमा आइपुगेको छ । आज २२७ कम्पनीको ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४७ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक समूह पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार भएका २२७ कम्पनीमध्ये जम्मा ५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको पौने ३३ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अरुण भ्याली २८ करोड र निफ्रा २५ करोडको कारोबार हुँदै शीर्ष तीन कम्पनीमा रहे ।
तेहेरो अंकले घटेको बजारमा आज माथिल्लो तामाकोशीको सेयर मूल्य सबैभन्दा धेरै ८.३७ प्रतिशतले घटेको छ । त्यसैगरी, नारायणी विकास बैंक ८.२६, शिव श्री हाइड्रोपावर, वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य साढे ७ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र पञ्चकन्यामाइ हाइड्रोपावरको ७ प्रतिशतले घटेको छ ।
त्यस्तै, शिवम् सिमेन्ट, सामलिङ पावर, सीईडीबी हाइड्रो, एनएआरएन इन्फ्रास्ट्रक्चर, साहस ऊर्जा, तेह्रथुम पावर, सिनर्जी पावर, निफ्रा, पोखरा फाइनान्स लगायत कम्प्नीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।