सिद्धबाबामा सुरुङ बनाउन चिनियाँ कम्पनीले पायो ठेक्का, लागत कति ?

काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको छ । उक्त सुरुङमार्ग ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी’ ले ठेक्का पाएको हो ।

 

चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा उक्त सुरुङमार्ग बनाउने गरी ठेक्का पाएको हो । सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीले आवेदन दिएका थिए भने प्राविधिक मूल्यांकनबाट ४ कम्पनी छनोट भएका थिए । तीमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ सबैभन्दा कम रकम कबोल्दै ठेक्का पाएको हो ।

 

सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ लगानी अनुमान गरिएको थियो । सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो ।

 

यसअनुसार सुरुङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्नेछ । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाइ सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

 

पाल्पास्थित सिद्धबाबा सुरुङ  निर्माणका लागि सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान विकास केन्द्रले जेठ ९ गते ठेक्कामा आवेदन निकालेको थियो । ९ वटा कम्पनीबाट आवेदन आएको भए पनि ४ वटा चिनियाँ कम्पनीहरू मात्र प्राविधिक प्रस्तावमा छनोट भएका थिए ।

 

चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कर्पोरेशन लिमिटेड, कोभेक/सीआरइजीसी जेभी, चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन लिमिटेड र सीसीइसीसी/सीआरसीसी १४– सियुयान जेभी गरी ४ चिनियाँ कम्पी प्राविधिक प्रस्तावमा छनोट भएका थिए । सोमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले हात पारेको हो । कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ  निर्माण गरिसक्नु पर्नेछ ।

 

यो कम्पनीले यसअघि काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको ठेक्का पाएको थियो । त्यस्तै, बुटवल–नारायणगढ सडक विस्तारको काम पनि गरिरहेको छ । यो सडकखण्डको काम निकै सुस्त गतिमा भइरहेको छ ।

 

सम्झौतापछि काम सुरू हुने

 

सडक विभागका महानिर्देशक शिवहरी सापकोटाका अनुसार हाल उक्त सुरुङ  निर्माण ठेक्का छनोट गरिए पनि सम्झौता भएको छैन । सम्झौता हस्ताक्षर भएपछि मात्र ठेकेदार कम्पनीले फिल्डमा काम सुरू गर्नेछ ।

 

‘यो अहिले इमम्याच्योर छ, सम्झौता हुनै बाँकी छ, सम्झौतापत्रमा हस्ताक्षर भएपछि उनीहरूको टोली आउनेछन्, अनि मात्र मोबीलाइजेसन हुनेछ,’ सापकोटाले चाणक्य पोष्टसँग भने ।

 

उक्त सुरुङमार्ग एसियन हाइवे स्ट्याण्डर्डमा १.१२६ किलोमिटर निर्माण हुनेछ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ । सुरुङमार्ग भित्र इमर्जेन्सी क्रस प्यासेज, टनेल भेन्टिलेसन,लाइटिङ, मनिटरिङ सिस्टम लगायत हुने बताइएको छ ।

 

सुरुङमार्गसँगै रक सेट निर्माणको पनि योजना रहेको छ । ’रक सेट’ पैदल यात्रु आवागमनका लागि हुनेछ । उक्त रक सेटमा आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै बाहिर करिब ७८० मिटरको रक सेट बनाउन लागिएको हो ।

 

 

फेब्रुअरी २१ देखि अष्ट्रेलिया विदेशी पर्यटकका लागि खुला Read Previous

फेब्रुअरी २१ देखि अष्ट्रेलिया विदेशी पर्यटकका लागि खुला

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी