काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट समितिले १५ आवेदक मध्ये उत्कृष्ट ५ जनाको नाम छनोट गरेको हो ।
छनोट भएका उत्कृष्ट ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन् ।उक्त पदका लागि उल्लिखित ५ जना सहित मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाईं, नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, जीवन अंगाई, सिताराम थपलिया, केशवप्रसाद श्रेष्ठ र अनिलराज पौडेल र हेमन्त बस्यालले आवेदन दिएका थिए ।
सर्टलिष्टमा परेका ५ जनालाई आगामी आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । अन्तरवार्ताबाट ५ जनामध्येबाट ३ जनाको नाम छनोट गरी मन्त्रिपरिषदमा पठाउने र मन्त्रिपरिषद्ले एक जनालाई बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ ।
सत्ता गठबन्धन बीच भएको अनौपचारिक सहमति अनुसार बोर्ड अध्यक्षमा कांग्रेस निकट व्यक्ति छनोट हुनेछन् । यसअघि नेप्सेको सीईओमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त भएकाले बोर्ड कांग्रेसको भागमा परेको जनाइएको छ । स्रोतका अनुसार बोर्ड अध्यक्षमा रमेशकुमार हमाल र गोपालप्रसाद भट्टको सम्भावना बढी रहेको बताइएको छ ।
अघिल्लो पटक जारी सूचनामा १२ जनाको आवेदन परेको थियो । पहिलो सिफारिस समितिको गठन प्रक्रियामै प्रश्न उठेपछि सरकारले दोस्रो पटक समिति गठन गरेको थियो । गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो ।
बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।