जल यातायात संचालन गर्न ४ ठूला नदीमा काम अघि बढ्दै

काठमाडौं । नेपाल पानी जहाज संचालनको लागि ४ स्थानमा टर्मिनल (स्टेसन) निर्माणका लागि डिपिआर बनाउने तयारी सुरु भएको छ । देशकै ठूला नदी कोशी, कर्णाली, नारायणी र कालीगण्डकीमा टर्मिनल निर्माण गर्ने योजना सहित पानी जहाज कम्पनीले टर्मिनलको डिपिआर निर्माण गर्न लागेको हो ।

 

कार्यालयका सुचना अधिकारी राजन प्रधानले ठेक्का आह्वान गरी टर्मिनलको डिपिआर तयार गर्ने काम अन्तिम चरणमा रहेको छ । उनका अनुसार कोशीमा बन्ने टर्मिनलको लागि ८ कम्पनीले आवेदन आएकोमा ५ वटा कम्पनी सर्ट लिष्टमा परेका छन् ।

 

त्यसैगरी कर्णालीमा ९ वटा आवेदन आएकोमा ५ वटा कम्पनी सर्ट लिष्ट गरिएको छ । दुबै ठेक्काका लागि प्राविधिक मूल्यांकनमा पास भएका कम्पनीहरुसँग (रिक्वेस्ट फर प्रपोजल) आसय–पत्र माग गरिएको छ । कम्पनीहरुले आसय पत्र पेशगरेपछि सोही अनुसार सबैभन्दा कम मूल्यमा डिपिआर बनाउन कबुल गर्ने कम्पनीलाई छनोट गरिने छ ।

 

कालीगण्डकी नदीको डिपिआर निर्माण ८ वटा कम्पनीले आवेदन दिएकोमा ४ वटा कम्पनी मात्र सर्ट लिष्टमा परेको कार्यालयले जनाएको छ । त्यस्तै, नारायणी नदिमा बन्ने टर्मिनलको डिपिआर निर्माणका लागि ८ वटा कम्पनीले आवेदन दिएका थिए । सुरुमा आवेदन दिएका कम्पनीहरुको प्रकृया नपुगेका कारण कुनै पनि कम्पनी छनोट भएनन् । पुनः खुल्ला गरिएको ठेक्कामा ९ कम्पनीले आवेदन दिएका छन् । यी कम्पनीहरु प्राविधिक मूल्यांकन भइरहेको छ ।

 

कार्यालयले एउटा नदिमा बनाउने डिपिआरको लागि २५ लाख रुपैयाँ खर्च गर्ने छ । यसरी निर्माण हुने ४ वटा डिपिआरको कुल लागत १ करोड रुपैयाँ रहेको विभागका सुचना अधिकारी प्रधानले जानकारी दिए ।

 

नेपाल पानीजहाज कार्यालयले कोसी, नारायणी, कालीगण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्न फिजिविलिटी अध्ययन गरेको थियो । जसको फाइनल रिपोर्ट आउन भने बाँकी रहेको प्रधानले जानकारी दिए ।

 

अध्ययनको पहिलो ड्राफ्टले ती नदीहरूमा पानीजहाज चलाउन सम्भव रहेको देखाएपछि डिपिआर निर्माण गर्न लागिएको हो ।

 

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिन नेपाल पानीजहाज कार्यालय स्थापना भएको ३ वर्ष बितिसकेको छ । २०७५ माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले पानीजहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । २०७५ फागुन २ गते कार्यालय उद्घाटन गरी सञ्चालनमा आएको हो ।

विश्वको सबैभन्दा ठूलो हीरा 'द एनिग्मा' लिलाम हुँदै Read Previous

विश्वको सबैभन्दा ठूलो हीरा 'द एनिग्मा' लिलाम हुँदै

क्लास्सिक टेकले ल्यायाे 'रिनुअल सापटी' स्कीम  Read Next

क्लास्सिक टेकले ल्यायाे 'रिनुअल सापटी' स्कीम