काठमाडौं । राष्ट्रिय गौरव आयोजना नौबिसे-नागढुंगा सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै आधा सम्पन्न भएको हो ।
नौबिसे-नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार हालसम्म सुरुङ खन्ने काम ४३.३५ प्रतिशत पूरा भएको छ । आयोजनाका अनुसार हालसम्म २ हजार ३८४ मिटर सुरुङ खनिएको हो ।समग्रमा भने हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ३७ प्रतिशत प्रगति भएको छ ।
तिहारपछि कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये २ हजार ३८४ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । नागढुंगा नौबिसे सुरुङमार्ग दशैंअघि दैनिक ६ मिटर सुरुङ खनिँदै आएकोमा हाल १० मिटर खन्न थालिएको हो ।
कोभिडमा समेत लगातार काम भइरहेको नागढुंगा सुरुङमार्गमा हालसम्म कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये ८७५ मिटर खनिसकिएको छ । आयोजना काठमाडौंतर्फ ४३७ मिटर र धादिङतर्फ ४३८ मिटर मुख्य टनेल खनिएको छ ।
त्यसैगरी, आपतकालीन(स्केप) सुरुङ अन्तर्गत हालसम्म १ हजार ३४० मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ७७८ मिटर र धादिङतर्फ ५६२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।
त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ भने हालसम्म ४३.४० मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ २७.८५ मिटर र धादिङतर्फ १५.५५ मिटर निर्माण गरिएको छ ।
यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।
आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै ३ हजार १५ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३ सय मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३ सय मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।